राजपा अध्यक्ष मण्डलका सदस्य झा रौतहट क्षेत्र नम्बर १ बाट विजयी
“
मंसिर २३, राैतहट । प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले खाता खोलेको छ । राजपा अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झा रौतहट प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट विजयी भएका छन् ।
झाले २१ हजार ८५ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका कृष्णा यादवले १५ हजार चार सय ८४ मत ल्याए । उनी संसदीय निर्वाचनमा तेस्रो पटकमा विजयी भएका हुन् । २०५१ को मध्यावधी चुनावमा उनी पराजित भएका थिए भने दोस्रो संविधान सभाको निर्वाचन २०७० मा एमाले नेता माधव नेपालसँग पराजित भएका थिए । उनी पहिलो संविधान सभामा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट समानुपातिक सभासद् भएका थिए ।
स्व.गजेन्द्र नारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टीको विद्यार्थी सङ्गठन विद्यार्थी मञ्चबाट राजनीति थालेका झा मधेस राजनीति मै सक्रिय छन् । पहिलो संविधान सभाताका उनी एक पटक उद्योगमन्त्री समेत भइसकेका छन् । महतो नेतृत्वको सद्भावनाबाट टुक्रिएर उनले सङ्घीय सद्भावना पार्टी गठन गरेका थिए । त्यसपछि उनले सरिता गिरी नेतृत्वको नेपाल सदभावना पार्टीसँग एकीकरण गरेर नेपाल सद्भावना पार्टीका अध्यक्ष भएका थिए । हाल उनी राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलमा छन् ।
“