गच्छदार युग समाप्तिका यी ५ कारण

“
बहुदलिय व्यवस्थामा सदैव सदावहार मन्त्रालय रोजेर सत्तामा रहने भाग्यमानी नेताका रूपमा नेपाली काँग्रेसका भेट्रान नेताका रूपमा विजयकुमार गच्छदारलाई लिइन्छ । सुनसरी क्षेत्र नं. ३ बाट राजनीति गरेका गच्छदारले अहिलेसम्म १२ पटक मन्त्री भईसकेका छन् भने, यही क्षेत्रबाट ५ पटक संसद्मा प्रतिनिधित्व गरिसकेका छन् ।
सङ्घीय प्रतिनिधिसभा निर्वाचनमा पुनः यही क्षेत्रबाट प्रतिनिधित्व गर्दै संसद्मा ह्याट्रिक गर्ने दाउ बनाएका गच्छदारको सपनामा तुषारापात हुने सम्भावना बढेको छ । यति बेला सुनसरीको सदरमुकाम इनरुवामा मङ्सिर २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतगणना भइरहेको छ । मत गणनाको प्रारम्भिक नतिजाबाटै ‘गच्छदार’ युगको अन्त्य भएको मान्न सकिने आधार तय त भएको छैन, तथापि, भगवती चौधरीलाई आइरहेको मतलाई विश्लेषण गर्दा गच्छदार सुनसरी–३ का जनतालाई ‘डेट एक्सपाएर’ भएको बुझ्न सकिन्छ । मतगणनामा निर्वाचन अधिकारीले सो क्षेत्रका विभिन्न मतदान केन्द्रबाट ल्याईएका मतपेटिकालाई मिसाएर गणना गरेका छन् । एउटा एरियाका मतलाई मात्र गणना गरेर नतिजा आएको भए, भगवती चौधरीको प्रभाव क्षेत्रको भोट भन्न सकिन्थ्यो । तर, यहाँ इटहरी, सोनापुर, दुहवी, बर्जु जस्ता चार पाँच क्षेत्रका बाकसलाई एकै ठाउँमा मिसाएर गणना गर्दाको परिणाम हेर्दा उनी जीत उन्मुख भएको आभास आम मतदातामा भइसकेको छ ।
गच्छदारले यही क्षेत्रबाट प्रतिनिधित्व गर्दै ५ पटक संसद्मा गएका छन्, भने, १२ पटकभन्दा बढी त मन्त्री नै हुने सौभाग्य पाए । तरपनि जनताको जनमतको कदर गर्दै राज्य सत्ताबाट जनतालाई आधारभूत विकास दिन र जनताको आर्थिक स्तर उकास्न भने कुनै काम गरेनन् । यो क्षेत्रको उत्तरदक्षिणवर्ती क्षेत्रको विकास र संवृद्धिमा सिन्को भाँच्न नसक्दा २०७० सालयता ‘गच्छदारको राजनीति’ धर्मराउँदै गएको छ । २६ वर्षसम्म राजनीतिमा आधिपत्य जमाएका गच्छदार पछिल्ला वर्षहरूमा अलोकप्रिय हुनुमा ५ कारण देख्न सकिन्छ ।
पहिलो कारणः सत्ता मोह
विजयकुमार गच्छदार यस्ता भाग्यमानी नेता हुन्, जसले २०४८ साल यता थोरै समय मात्र शक्ति विहिन भए । २०४८ सालमा सञ्चार राज्मन्त्री भए, त्यसपछि लगातार तीन ओटा सरकारमा निर्माण तथा यातायातमन्त्री भएर ह्याट्रिक नै पुरा गरे । २०५६ मा पर्यटन तथा नागरिक उड्डयनमन्त्री,०५६ मै पुनः जलस्रोतमन्त्री, ०५८/०५९मा जलस्रोतमन्त्री, ०६५/०६६ सम्म भौतिक योजना तथा निर्माणमन्त्री, ०६६/०६८ मा उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री, ०६८/०६९मा उपप्रधान एवं गृहमन्त्री,०७२/०७३ मा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री समेत भएभने, हाल उपप्रधान तथा स्थानीय विकास मन्त्री छन् ।
बारम्बार सरकारका विभिन्न पदमा पुगेपनि आफ्नै क्षेत्रको विकासका लागि कुनै ठोस योजना ल्याउन सकेनन् । यही कारणले सुनसरी तीनका पछिल्ला नयाँ पुस्ताहरु गच्छदारसँग चिढिए । सुनसरी–३ को अमाहीबेल्हा, बर्जु गाउँपालिका, भमरी, मधेली, तनमुना छातावेली जस्ता स्थानमा अझैपनि विकासका सामान्य पूर्वाधार पुगेका छैनन् । शिक्षा, स्वास्थ्य, यातायात, आधुनिक कृषि प्रणालीमा यहाँका जनताको पहुँच अझै छैन ।
दोस्रो कारणः पार्टी परिवर्तन
०४६ सालको बुहदलिय व्यवस्था पछि नेपाली काँग्रेसले सबैभन्दा बढी सरकार चलायो । स्व. गिरिजा प्रसाद कोइरालाको आर्शिवाद पाएका गच्छदारले ०६४ सालपछि मधेस मुक्तिको नाममा काँग्रेस परित्याग गरे । तत्कालीन उपेन्द्र यादवको पार्टी मधेसी जनाधिकार फोरमबाट मधेस आन्दोलन चर्काएर राज्यसँग वार्गेनिङ गर्दै पुनः सरकारमा जानका लागि फोरमलाई फुटाएर फोरम लोकतान्त्रिक बनाए । फोरम लोकतान्त्रिकले मधेसका अधिकार उठान गर्नुको सट्टा पुनः सत्ता साटासाटको राजनीति गर्यो । पहिलो संविधानसभा असफल भएको अवस्थामा उनी पुनः लोकतान्त्रिकबाट दोस्रो संविधानसभाका लागि ‘मधेस मुक्तिको आन्दोलन’ को कार्ड फ्याँकेर निर्वाचनमा उठे । त्यही बेला नै नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले गच्छदारलाई ‘काउण्टर’ दिइन् । विभिन्न जालझेल गरेरै गच्छदारले चुनाव त जिते तर, २२ वर्षदेखि जनतालाई आफ्नो कब्जामा राखेका उनी अलोकप्रिय भने भए । अस्थिर राजनीतिको फाइदा उठाउँदै कहिले कांग्रेसँग कहिले एमालेसँग त कहिले माओवादीसँगको साँठगाँठमा मन्त्री हुनु बाहेक उनले केही गरेनन् । यस पटक आफ्नो पकेट क्षेत्रमा कमजोर जनाधार भएपछि सुटुक्क पार्टी परित्याग गर्दै पुनः काँग्रेसमा फर्किएपछि यहाँका जनताले गच्छदारको असली रूप देख्न पाए र, त्यसको बदला २१ गते लिएका छन् ।
तेस्रो कारणः रक्सी र पैसा
२६ वर्षे राजनीतिक इतिहासमा गच्छदारले सुनसरी–३ बाट भोट पाउन कुनै विकासे फर्मुला प्रयोग त गर्नुपरेन नै, जनताका घरमा एक पाईलो हिँड्ने कसरत पनि गरेनन् ।
निर्वाचन जित्न र भोट पाउन उनले वर्षौदेखि रक्सी र पैसालाई नै प्रयोग गरे । चुनाव आउनु एक हप्ता अघि आउने, अनि यहाँका आदिवासी, थारु र कमजोर आर्थिक अवस्था भएका मुसहर बस्तीमा रक्सी र मासुको खोलो बगाउने । यही फर्मुलाबाट उनले ५ ओटा निर्वाचन जिते । तर, ०६४ पछि मधेसमा उर्लिएको मधेस मुक्ति आन्दोलन र सचेतनाले यहाँका पढेलेखेका युवा समुदाय रक्सी र मासुको राजनीति बाट मुक्त हुन चाहिरहेका थिए । र, त्यसको एउटै माध्यम भनेको गाउँगाउँमा महिलालाई सङ्गठित गर्दै लघुवित्त कार्यक्रम चलाएकी भगवती चौधरी बन्न पुगिन् । उनले नेकपा एमालेलाई क्षेत्रमा सङ्गठित गर्दै दोस्रो संविधानसभा निर्वाचनमा पहिलोपटक गच्छदारसँग प्रतिस्पर्धा नै ‘कडा चुनौती’ दिन सफल भईन् ।
चौथो कारणः भ्रष्टाचार
१२ पटकसम्म मन्त्री भएर गच्छदारले अकूत सम्पत्ति आर्जन गरेको आरोप छ । उनका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ । उनले भौतिक तथा योजना र यातायात मन्त्री हुँदा सडक तथा पुल निर्माणमा ठेकेदारसँग मिलेर ठुलो भ्रष्टाचार गरेको, राज्यको सम्पत्ति दुरुपयोग गरेको आरोप छ । यदि उनी सत्तामा नरहने हो भने, अख्तियारले छानबिन गरिरेका ती फायलहरु खुल्ने ‘डर’ उनलाई छ । त्यही भएर उनी सिद्धान्त र नीतिको राजनीति भन्दा पनि समय र परिस्थिति अनुरूप सत्तामा पुग्ने राजनीति गर्दछन् ।
पाँचौ कारणः घमण्ड
गच्छदार आफ्नै क्षेत्रमा अलोकप्रिय बन्दै जानुको अर्को कारण उनीमा बढ्दो घमण्ड पनि हो । सिद्धान्त र नीतिलाई धोती लगाएर पद र पैसाको राजनीति गरिरहेका उनमा यस पटकको चुनावमा पनि पद, पैसा नै प्रयोग गरेरै चुनाव जित्छु भन्ने अहमता थियो । चुनाव आउने एक हप्ता अघि गाउँ आउने अनि ग्रामीण भेगका जनताका घरदैलोमा एक किलो मासु र एक बोतल रक्सी बाँड्ने परम्परा नै यस पटक पनि दोहोरियो । मौन अवधिको पहिलो दिन १९ गते दुहवीका धेरै होटलहरु बन्द भए, भोलि पल्ट यहाँका होटलहरु र मासु पसलमा गच्छदारको ‘कुपन’ लिएर मासु र रक्सी खानेहरुको सङ्ख्या थामी नसक्नुको थियो । गाउँ गाउँमा गच्छदारका कार्यकर्ताहरूले रक्सी, मासु र पैसा नै वितरण गरे । मौन अवधिमा अमाहीवेल्हा, बर्जु, तनमुना, मधेली, छातावेली जस्ता स्थानमा झन्डा लाएर हिँडे । उनले कतिपय स्थानमा भाषण नै गरेर ‘भगवतीले चुनाव जितेपनि हराएर देखाई दिन्छु’ भन्दै घमण्ड देखाए । भएर मङ्सिर १६ गते बाम गठबन्धनले दुहवीमा आयोजना गरेको चुनावी जनसभामा नेकपा एमालेका अध्यक्ष केपी ओलीले गच्छदारलाई ‘जितेको चुनाव हराउने भए आफ्नो क्षेत्रमा आएर देखाउनु’ भन्दै चुनौती नै दिनुपर्यो ।
अन्तमा,
लोकतान्त्रिक अभ्यासमा जनता सर्वशक्तिमान हुन् । एक पटक राज्य सत्तामा पठाएकाले राम्रो काम गरे जनताले पुनः दोस्रो पटक पठाउँछन् । नत्र रछ्यानमा फोहर फ्याँके जस्तो हरेक निर्वाचनमा फ्याँकी दिन्छन् । यहाँका जनताले ‘थारुको छोरो’ ‘जनजातिको छोरो’ ‘मधेशकाे मसिहा’ भन्दै गच्छदारलाई २६ वर्षसम्म विश्वास गरेरै सत्तामा पुग्ने मौका दिए । तर, उनले जनताको माया र स्नेहलाई जोगाउन सकेनन् । र, यस पटक आफ्नो २६ वर्षे राजनीतिक यात्रालाई पुर्णविराम लगाउनुपर्ने अवस्था आएको छ । उनले २६ वर्षमा कुनै थारू समुदायकाे मुक्ति गरेनन् । जनजातिका छाेरालार्इ राज्यका उच्च अाेहदामा पुर्रयाएनन् । मधेशकाे अार्थिक, सामाजिक विकासमा याेगदान गरेनन् ।
यहाँका जनताको सहनशिलताको ‘बाँध’ फुटेको छ । जनताले २१ गतेको निर्वाचनमा ‘गच्छदारको किल्ला’ भत्काईदिएका छन् । उनका रक्सी, मासु र पैसाको राजनीतिलाई ‘लात’ हानिदिएका छन् । र, परिवर्तनका पक्षमा मत जाहेर गरेका छन् । याे लेख लखिरहँदा सुनसरी–३ काे मतगणना सकिएकाे त हुँदैन । भाेली गच्छदारले जाल झेल गरेरै भएपनि चुनाव जित्न सक्छन् । हामीले २०७० सालकाे चुनावकाे घटना विर्सिएका पनि छैनाैं । तसर्थ, सजग त हुनु नै छ ।
हामीले हाम्रा जनप्रतिनिधिबाट जनताकाे जिवनस्तर सुधार्ने ब्यवस्था खाेजेका छाैं । र, त्याे जिवनस्तर त्यत्तीबेला मात्र पुरा हुन्छ, जतिबेला हाम्रा घरअाँगनमा विकासका पूर्वाधार अार्इपुग्छन् । जतिबेला हामीलार्इ दैनिक घर परिवार चलाउन समस्या पर्दैन । हाम्रा चेलीबेटी सुत्केरी हुँदा प्रसुतीसेवा नपार्इ घरमै मर्ने अवस्था रहँदैन । हाम्रा युवाहरू मरूभूमिकाे ४० डिग्रीकाे चर्काे घाममा १८ घण्टा काम गर्न जानु पर्दैन । अब निर्वाचित हुनेले बुझ्रन जरूरी छ । यति अावश्यक्ता पुरा भएपछि हामीलार्इ जनताका नाममा सदियाैं राजनीति गरेपनि अापत्ती छैन ।
“








