यज्ञराजभन्दा अघि जान खोजेका रामहरिलाई खोलाले बगायो

काठमाडौँ, २३ मंसिर । ओखलढुंगा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका यज्ञराज सुनुवार ३२ हजार ५८० मत ल्याएर विजयी भएका छन् । नेकपा (एमाले)का सुनुवारका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका रामहरि खतिवडाले २७ हजार ३२७ मत प्राप्त गरेको ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए ।

ओखलढुंगामा सुनुवार र खतिवडा दुवै लोकप्रिय नेता भएकाले कडा प्रतिष्पर्धा हुने अनुमान गरिए पनि मतगणनाको शुरुवाती अग्रता लिएका सुनुवार अन्ततः फराकिलो मतान्तरले विजयी भएका हुन् । सुनुवारले पाँच हजार दुई सय ५३ मतान्तरले खतिवडालाई हराएका हुन् ।

एमाले केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला इञ्चार्ज सु्नुवार विद्यार्थी राजनीतिदेखि नै सक्रिय थिए । विसं २०५३ मा रत्नराज्य क्याम्पस र २०५५ मा महेन्द्ररत्न क्याम्पस ताहाचलमा स्ववियु सभापति निर्वाचित सुनुवारले अनेरास्ववियु अध्यक्षमा ठाकुर गैरेसँग पराजित भएपछि जिल्लाको राजनीतिक यात्रा शुरु गरेका थिए ।

ओखलढुंगामा एमालेको तीन पटक कार्यालय प्रमुख सुनुवार २०६४ मा ओखलढुंगा निर्वाचन क्षेत्र नं १ बाट संविधानसभा सदस्यमा पराजित भएका थिए । उनी विसं २०७० मा करिब तीन हजार ५०० मतान्तरले काँग्रेसका बालकृष्ण दाहाललाई पराजित गरेर विजयी भएका थिए । सुनुवार र खतिवडा दुवै प्रभावाशाली युवा नेताको पहिचान बनाएका नेता हुन् ।

ओखलढुंगा प्रदेशसभा ‘क’मा एमालेका अम्बिरबाबु गुरुङ १८ हजार ९८ मत ल्याएर विजयी भइसकेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका मित्रसेन दाहालले ११ हजार ९०६ मत प्राप्त गरे । प्रदेश ‘ख’ मा भने मतगणना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *