फिफाले भन्यो-भिडियो रेफ्री फुटबलको भविष्य


असार ६ – विश्व फुटबलको प्रशासकीय निकाय फिफाले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) प्रविधि फुटबलको भविष्य रहेको बताएको छ । फिफाले अहिले रुसमा भइरहेको कनफेडेरेशन कपमा भिएआर प्रविधि प्रयोग गरेको छ ।
यो प्रविधि कनफेडेरेशन कपमा अहिलेसम्म पाँच पटक प्रयोग गरिएरिको छ । रेफ्रीलाई कुनै गोल भए नभएको वा फउल भए नभएको भन्ने यकिन गर्न समस्या भएमा यो प्रविधि प्रयोग गर्ने गरिएको छ । फिफाले पहिलो पटक गएको डिसेम्बरमा जापानमा भएको क्लब विश्वकपमा भिएआर प्रविधि प्रयोग गरेको थियो ।
फिफाका अध्यक्ष जियानी इन्फन्टिनोले भिएआर प्रविधिबाट आफू निकै उत्साहित रहेको र यो प्रतियोगिताका लागि कोशेढुंगा साबित हुँदै गएको बताए । यो प्रविधिले रेफ्रीलाई सही निर्णय गर्न सहयोग गरेको उनको भनाई छ । भिएआर प्रविधि अहिले पनि परीक्षणको क्रममै रहेको र कनफेडेरेशन कपमा भइरहेको प्रयोगले निकै उत्साहित भएको उनले बताए ।
