भोट हालेपछि सबै नेताको उस्तै भनाई – ‘निर्वाचन पछि देशमा विकासको मूल फुट्छ’

“
मंसिर २१, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदान गरेपछि लगभग सबै नेताको प्रतिकृया उस्तै थियो– अब देशमा स्थिर सरकार बन्छ, विकासको मुल फुट्छ, आदी ।
निर्वाचन पछि बहुमतको सरकार बन्छ वा पहिले जस्तै नौ, नौ महिनामा सरकार परिवर्तन हुने गरी फेरी पनि त्रिशंकु संसद बन्छ, त्यो अवस्था हेर्न भने केही दिन मतपरिणाम कुर्नेपर्ने हुन्छ । गठबन्धन बनाएर निर्वाचनमा सहभागी भएका दलहरु निर्वाचन पछि गठबन्धन परिवर्तन नगर्लान् भन्न सकिने स्थिति समेत छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सफलतापूर्वक भएको भन्दै निर्वाचनपछि पनि कांग्रेसकै सरकार बन्ने दावी गरे। ‘कांग्रेसकै बहुमत आउँछ र म नै प्रधानमन्त्री बन्छु’ देउवाले भने, ‘कांग्रेसको बहुमत आउनेमा कुनै शंका छैन।’ देउवाले गृहजिल्ला डडेलधुराको गन्यापधुरा गाउँपालिका–१, रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रबाट मतदा गरेका हुन्। मतदानका लागि देउवा सदरमुकामबाट हेलिकोप्टरमा आफ्नो गाउँ पुगेका थिए।
देउवाले मतदान पछि एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति व्यङ्ग प्रहार गरेका छन्। ओलीजी अझै चुनाव सर्छ भनिरहनु भएको होला भन्दै देउवाले व्यङ्ग प्रहार गरेका हुन्। ‘मैले भर्खर भोट हालें, एमाले अध्यक्ष ओलीले पनि भोट हाल्नु भयो होला’ डडेलधुरामा मतदान गरेपछि देउवाले भने, भोट हालेपछि पनि ओलीजी देउवाले चुनाव सार्दैछन् भनिरहनु भएको होला।’
एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरस्थित बालकोटको महेन्द्र शान्ति बिद्यालय मतदान केन्द्रबाट मतदान गरेपछि अब देश समृद्धिको बाटोमा जाने दावी गरे । उनले भने ‘संविधानले नयाँ व्यवस्था गरेको संरचना तयार गर्ने, विकासको आंकाक्षा पूरा गर्ने अन्तिम तयारीमा छौं। अबको मुख्य एजेन्डा विकास नै हो।‘ आफूले आफैलाई मत हाल्न नपाएपनि दुःखी नभएको उनले बताए। ओली झापा ५ मा उम्मेदवार बनेका छन् भने उनले भक्तपुर २ मा मतदान गरेका थिए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनसँगै मुलुकमा विकास र समृद्धिको यात्रा सुरु भएको बताए । चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका दाहालले बाम गठबन्धनले बहुमत ल्याउने र मुलुकमा राजनीतिक स्थायित्व कायम भई विकास, निर्माणको कामले गति लिने विश्वास पनि व्यक्त गरे । भरतपुर महानगरपालिका वडा नम्बर १४ स्थित राष्ट्रिय आधारभूत विद्यालय मतदान केन्द्रबाट उनले मतदान गरेका थिए ।
यता, इलाम क्षेत्र नं १ का उम्मेदवार तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आजको निर्वाचन ऐतिहासिक निर्वाचन भएको बताएका छन् । इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयबाट मतदान गरेपछि उनले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि देश विकास निर्माण र आर्थिक समृद्धिको बाटोमा उन्मुख हुने र निर्वाचन भएपछि देशमा विकासको मूल फुट्ने दावी गरे ।
त्यस्तैगरी पूर्वसभामुख सुवास नेम्वाङले मतदाताले इलाम क्षेत्र नं २ बाट इलाम सदरमुकामस्थित बालमन्दिर मतदान केन्द्रबाट मतदान गर्दै संविधानको सफल कार्यान्वयनको यो निर्वाचन निक्कै महत्वपूर्ण र ऐतिहासिक उपलब्धिमा रहेको प्रतिक्रिया दिए । निर्वाचनपछि मुलुक समृद्धितर्फ उन्मुख हुने उनको धारणा थियो ।
यता, उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका–६ वंशगोपाल उच्च माविको मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै वर्तमान संविधानलार्ई जीवन्त राख्न र प्रजातन्त्रको सुदृढीकरण गर्ने क्रममा यो निर्वाचनले महत्वपूर्ण योगदान दिएको बताए । उनले राजनीतिक स्थायित्व र दिगोशान्तिका लागि प्रमुख दलहरुको एजेण्डा बन्नुपर्ने दृढता व्यक्त गरे ।
चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग प्रतिस्पर्धामा रहेका राप्रपा नेता विक्रम पाण्डेले चितवनको मेघौलीस्थित श्रीजानकी माध्यामिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेलगत्तै संचारकर्मीमाझ विगतका निर्वाचनमा भन्दा पनि यस वर्ष जनताले समृद्धिका लागि आफूलाई चाहेको दावी गरे ।
यस्तै, मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार एवम् पूर्वमन्त्री महेश आचार्यले निर्वाचनको मतदानबाट आफू उत्साही भएको बताए । विराटनगरस्थित जनता मावि मतदान केन्द्रबाट मतदान गरेलगत्तै उनले अव मुलुकमा समृद्ध छाउने विश्वास पनि व्यक्त गरे ।
यता, झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार एवम् नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचनमा आफ्नो पक्षमा राम्रो परिणाम आउने प्रतिक्रिया दिए । झापा क्षेत्र नम्बर १ स्थित कलवलगुडी आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि संचारकर्मीसँग कुरा गर्दै उनले सार्वभौम भएकाले जनताले आफूले चाहे अनुसारको प्रतिनिधि चुनेर पठाउने विश्वास पनि व्यक्त गरे ।
संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष एवम् सप्तरी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार उपेन्द्र यादवले प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचन एकैपटक हुँदा मतदातालाई मतहाल्न कठिनाई भईरहेकाले अव यसलाई अलगअलग निर्वाचन गर्दा उपयुक्त हुने धारणा राखेका थिए । विराटनगरमा मतदान गरलगत्तै उनले मुलुकका लागि निर्वाचन हुनु सबैभन्दा ठूलो कुरा भएको प्रतिक्रिया दिए ।
यता, मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा उम्मेदवार डा। शेखर कोइरालाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि मुलुक सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । विराटनगरस्थित आर्दश मावि मतदान केन्द्रबाट मतदान गरेपछि संचारकर्मीमाझ उनले मुलुकमा अधिनायकवाद आउने सम्भावना नरहेको पनि बताए । काँग्रेस नेता कोइराला एमाले नेता एवम् पूर्व मन्त्री लालबाबु पण्डितका प्रतिस्पर्धी हुन् ।
“








