व्यवस्थापिका संसदले पारित गर्यो भाषा विधेयक


असोज २७, काठमाडौँ । व्यवस्थापिका संसदले भाषा आयोग विधेयक २०७४ लाई सर्वसम्मतिले पास गरेको छ । व्यवस्थापिका संसद्को शुक्रवारको बैठकले विधेयकमाथि परेका केही संशोधनलाई स्वीकार गर्दे सर्वसम्मतिले पारित गरेको हो ।
विधेयकमा नेपालमा बोलिने मातृभाषा र तीनको इतिहासको अध्ययन अुनसन्धान गरी प्रकाशन गर्ने, विभिन्न समुदायको मातृभाषा तथा लिपी संरक्षण सम्वद्र्धन र विकास गर्ने तथा पुस्तक प्रकाशन गर्ने र सोही सम्बन्धमा दफा १२ मा रहेको पूर्व जानकारी दिई भन्ने स्थानमा ती जातजातीलाई पूर्व जानकारी दिईनेछ भन्ने राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देवले विधेयकमाथि परेका अधिकांश संशोधनलाई विधेयकमा समावेश गरिएको जानकारी दिए ।
बैठकमा संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समितिको प्रतिवेदन पेस भएको छ । समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिवेदन पेस गरेका थिए । संविधानसभाको निर्वाचनमा भएको धाँधलीको बारेमा अध्ययन अनुगमन गरी प्रतिवेदन तयार पार्न २०७१ जेष्ठ ३० गते व्यवस्थापिका संसदले सात सदस्यीय संसदीय छानबिन समिति गठन गरेको थियो । सो समितिलाई निर्वाचनमा भएको भनिएको धाँधली बारे अध्ययन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको थियो । सो समितिले संविधान जारी गरिसकेपछि र रुपान्तरित संसद्को कार्यकाल सकिनु एक दिन अघि मात्रै प्रतिवेदन सदन समक्ष पेस गरेको हो ।
बैठकमा सभामुख ओनसरी घर्तीले यस अधिवेशनमा स्वास्थ्य उपचार लगायत कारणले लगातार १० वा त्यसभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको विवरण पढेर सुनाएकी थिइन् । सामान्यतया संसद् अधिवेशनको अन्त्यमा सांसदहरुको अनुपस्थितिको सूचना स्वीकृतिका लागि सदनमा पेस गर्ने चलन छ ।
