जबसम्म तपाईसँग क्रिएटिभिटि छ, तबसम्म यहाँ स्कोप छ : प्र्यांक स्टार आशिष

सूचना प्रविधिको विकास र पहुँचले मानिसलाई मनोरञ्जनका साथै आयआर्जनको नयाँनयाँ तरिका दिएको छ । यस्तैमा पर्दछ यूटुबमार्फत भिडियो राखेर पैसा कमाउने उपाय । पछिल्लो समयमा प्र्यांक भिडियो बनाउने मानिसहरुको जमात बाक्लो छ । विभिन्न किसिमका भिडियो बनाउने र त्यसलाई यूटुवमा राखेमार्फत पैसा कमाउने गरेका छन् । यस्तै उदाउँदा युवा हुन आशिष प्रसार्इ । उनीसँग मकालु खबरका लागि असिम तिमल्सीनाले गरेको छोटो कुराकानी ।
नेपालकै नम्बर एक प्र्यांक स्टार भनेर चिनिनुभएको छ, आजको दिन सम्म आईपुग्दा प्र्यांकलाई कसरी परिभाषित गर्नुहुन्छ ?
मसँग त्यस्तो ठुलो शब्द नै छैन परिभाषित गर्न । तर यत्ति चाहिँ हो कि, जसरी अहिले मानिसहरूले बुझेका छन् त्यो चाहिँ प्र्यांक हुँदै होइन । यो त एउटा क्षणिक प्रयोग हो जसले तर्साएर, धम्क्याएर या डर देखाएर मानिसहरूलाई मनोरञ्जन प्रदान गर्छ । मानिसहरूको सामाजिक व्यवहारको मूल्याङ्कन गर्ने एउटा उत्कृष्ट माध्यम हो प्र्यांक । प्र्यांक भनेको ‘रिस्क’ पनि हो । यो विकल्पहिन विकल्प हो । र एउटा कुरा यो सब क्षणिक हो ।
करिब पाँच वर्ष भइसक्यो तपाईँले प्र्यांक थाल्नुभएको, त्यो बेला र यो बेलामा के फरक पाउनुभएको छ मानिसको सामाजिक व्यवहारमा ?
धेरै छ, मानिसको सामाजिक व्यवहार । हामीले चाहेर पनि त्यो बेलाको सामाजिक व्यवहार अहिले पाउन सक्दैनौं । मानिसहरू अहिले धेरै ‘अवेर्ड’ भैसकेका छन् । पहिला हामीले जति सम्झाउँदा पनि मानिसहरूलाई बुझाउन सक्दैन थियौँ । तर, अहिले त्यो प्र्यांक भन्ने शब्द सुन्नेबित्तिकै मानिसहरूको व्यवहार नै परिवर्तित भएको पाउँछौं हामी । यस बाहेक भिडियोको क्वालिटि, दर्शक संख्याहरुमा आएको फरकपन त छँदै छन् ।
तपाईँले यत्तिका वर्ष भयो प्र्यांक गर्दै आउनुभएको, कस्ता कस्ता व्यवहार भएका मानिससँग भेट्नुभएको छ ?
धेरै प्रकारका मानिससँग भेटियो अनि एउटै ‘सर्कुम्स्टान्सेस्’ मा फरक फरक रियाक्सन आउँदा अचम्मित पनि भएँ । यहाँबाट चाहिँ के बुझें भने हरेकको फरक फरक धारणा हुँदो रहेछ । एउटै कुराले कोही रिसाउँथे भने कोही चाँहि खुसीसाथ गफ गर्थे । कोही ‘सुन्नुस् न’ भन्दा ‘हजुर’ भन्थे भने कोही चाँहि निकै दरिद्र व्यवहार गर्थे । हरेक व्यक्ति आआफ्नो ठाउँमा ठिक हुँदारहेछन् । ‘एण्ड, यस वि ह्याव टु अप्रिसियट एभ्रीवन्स् फिलिङ्स् ।’
प्र्यांकलाई एउटा मनोरञ्जनको माध्यममात्र मान्न सकिन्छ कि यहाँ भविष्यमा स्कोप पनि छ ?
यो मनोरञ्नको साधन त हुँदै हो तर त्यो भन्दा धेरै यहाँ ‘सोसियल एक्सपिरिमेन्ट’ छ । रह्यो स्कोपको कुरा, स्कोपलाई कसरी लिने भन्ने हो । तपाईँले स्कोप भनेर जागिर खाने बुझ्नुहुन्छ भने यहाँ कुनै स्कोप छैन । यो त एउटा ‘क्रिएटिभिटि’ देखाउने माध्यम हो । जबसम्म तपाईसँग क्रिएटिभिटि छ, तबसम्म यहाँ स्कोप छ । त्यसैले त धेरै प्र्यांकस्टरहरु यहाँ टिक्नै सक्दैनन् । तर अवसर कै कुरा गर्ने हो भने यहाँ अवसर चाहिँ छ है । जस्तो मैले भखरै फिल्म खेल्ने अवसर पाएँ । यस्ता अवसर टन्नै पाइन्छ ।
फिल्मको कुरा गरिहाल्नुभयो, भन्न मिल्छ कुन फिल्म हो ?
‘या अफ कोर्स ।’ फिल्मको नाम चाहिँ ‘अमेरिका बोयज्’ हो । दुई महिनापछि फ्लोरमा जाँदैछ मुभि ।
अब अलिकति पारिवारिक कुरामा जाऔं, कोको हुनुहुन्छ परिवारमा ?
बुवा तीन महिना अघि बित्नुभयो, अहिले चाँहि म र ममि छौँ परिवारमा ।
विवाहको कुनै योजना छ कि छैन ?
भखर त २३ वर्षको भएँ । हाल कुनै योजना छैन विवाहको । यो त करियरको ख्याल गर्ने बेला हो । गर्लफ्रेन्ड बनाउने, विवाह गर्ने यो सब करियर बनाएपछि सोचिन्छ ।
अनि नेपाली कलाकारहरुमा तपाईँलाई मन पर्ने नायक नायिका को हुन् ?
सौगात मल्ल र साम्राज्ञी राज्यलक्ष्मी ।
तपाईँलाई मन पर्ने नेपाली राजनीतिज्ञ ?
निशन्देह मदन भण्डारी तर उहाँ अहिले जीवित हुनुहुन्न । त्यसैले हाल जीवित मध्य चित्रबहादुर के.सी. ।
उहाँको तपाईँलाई मन पर्ने कुनै एउटा पक्ष ?
यस्तो भन्ने नै छैन । कतिकति कुराहरू छन् उहाँको जसबाट मैले र अरू युवाले अनुसरण गर्नुपर्छ । उहाँको सादा जीवन उच्च विचारले नै मलाई उहाँप्रति नतमस्तक गराएको हो । फेरी उहाँ एउटा यस्तो व्यक्तित्व हुनुहुन्छ नेपालमा जसको पछाडि कसैको हात छैन । यस विषयमा अन्य कुरा गर्ने भए चाँहि छुट्टै दिन भेट्नुपर्छ ।
लामो हाँसो……..
प्र्यांक नराम्रो हो, यसले विकृति निम्त्याएको छ भन्ने व्यक्तिहरूलाई के जवाफ दिनुहुन्छ ?
मैले पहिल्यै भनिसके यो विकल्पहिन विकल्प हो । मानिसको सामाजिक व्यवहारलाई क्षणभरमै चित्रित गर्नसक्ने क्षमता छ प्र्यांकमा ।
खासमा ‘हेटर्स’ भनेकै मेरा पहिलो दर्शक हुन् । कस्तो चाँहि भिडियो हालेछ भनेर पहिला उनीहरू नै हेर्छन् ।
अनि तपाईँको भावी योजना के छन् ?
भावी योजना त त्यही हो अब मुभि आउँदै छ, त्यसैमा व्यस्त छु । भिडियो पनि खासै अहिले बनाएको छैन । बरु ढिलो दिने तर राम्रो दिने । आर्थिक सहयोग नहुँदा पनि भिडियो बनाएको थिए एक जमानामा । तर, अब भिडियोको क्वालिटि पनि राम्रो दिने विचार छ । मुख्यत भिडियोहरु सामाजिक सन्देश बोकेको बनाउने छु । यस्तै छन् भावी योजनाहरू ।
अन्त्यमा तपाईँ युवाहरूलाई के भन्न चाहनुहुन्छ ताकि उनीहरू धेरै हदसम्म ‘मोटिभेटेड’ होउन् ।
मेरो सधैँ एउटै भनाई रहिआएको छ । युवाहरूले मनको सुन्नुपर्छ । युवाहरूले हतार गर्नुहुँदैन । हरेक क्षेत्रमा अवसर छ तर यस्तो क्षेत्र छान्नुपर्छ कि त्यो क्षेत्रले युवाहरूको मनको प्रतिनिधित्व गरोस् । तर धैर्य नै सार्थक जीवनको मुलमन्त्र हो, यो कुरा भुल्नुभएन ।
अहिले हामी ‘गुड वर्कर’ बन्न उत्साहित छौँ, तर हामी ‘गुड लिडर’ हुन सिक्नुपर्छ । युवाले त नेत्तृत्व गर्छु भन्नुपर्छ, अर्काको काम गरेर कहिल्यै माथि पुगिदैंन । खुसीहुने काम गर्नुस्, नत्र तपाईँ आफ्नै कामबाट ‘डिप्प्रेस्ड’ हुनुहुनेछ ।








