ढुक्क भएर मतदानमा सहभागी हुन प्रधानमन्त्री देउवाको आह्वान


“
मंसिर २०, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गरेका छन् । प्रधानमन्त्री देउवाले आज एक विज्ञप्ति जारी गरी लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गरेका हुन् ।
विज्ञप्तिमा उनले स्थानीय, प्रादेशिक र संघीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा राजनीतिक संक्रमण अन्त्य भएर संविधान कार्यान्वयनले गति लिने र निर्वाचनपछि मुलुक राजनीति स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका छन् ।
सरकारले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न निर्वाचन आयोगमार्फत गरिएको सबै तयारीलाई सन्तोषजनक रुपमा लिँदै सरकारका तर्फबाट गरिने सबै तयारी पूर्ण भएको बिश्वास लिएको बिज्ञप्तीमा भनिएको छ । नेपालको संविधानअनुसार भोलि मंसिर २१ गते ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हँुदैछ ।
“
