वैदेशिक रोजगारीमा रहेका युवाले कर्मचारी सञ्चय कोषमा बचत गर्न पाउने

मंसिर २०, काठमाडौँ । कर्मचारी सञ्चयकोषले वैदेशिक रोजगारीमा रहेका नागरिकलाई समेत कोषको सदस्य बनाउने र रकम जम्मा गर्न प्रेरित गर्ने भएको छ । विप्रेषणबाट प्राप्त रकम अनावश्यक रूपमा खर्च भइरहेको र जताबाट आयो उतै जाने अवस्थाको अन्त्यका लागि त्यस्तो योजना अगाडि सारिएको हो ।

विदेशबाट आउने रकमलाई सोझै कोषमा जम्मा गर्ने वा घरपरिवारका सदस्यले नजिकका कार्यालयबाट जम्मा गर्न सक्ने गरी सहज कार्यविधि बनाउने तयारी छ । बूढेसकालमा निवृत्तिभरणको रूपमा समेत उक्त कोषमा जम्मा गरिएको रकम खर्च गर्न सक्ने गरी योजना तयार पारिएको कोषले जनाएको छ ।

जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले ‘रेमिट्यान्स हाइड्रो’को अवधारणा सोही प्रयोजनका लागि अगाडि सारेको हो । रेमिट्यान्स हाइड्रो कम्पनीमार्फत हाल ताप्लेजुङमा घुन्सा खोला जलविद्युत् आयोजना ७१।५ मेगावाट र सिंबुआ खोला ५३।७ मेगावाट क्षमताका आयोजना निर्माणको प्रक्रियामा अगाडि बढाउने योजना छ । वैदेशिक रोजगारमा रहेका नागरिकले कमाएको रकम सदुपयोग होस् भन्नेतर्फ कोषले ध्यान दिन थालेको छ ।

सबै वर्ग तथा क्षेत्रका नागरिकलाई रकम जम्मा गर्न पाउने सहज व्यवस्था भएपछि कोषको कूल बचत रु सात खर्ब पुग्ने विश्वास लिइएको छ । आगामी दिनमा सबल र सक्षम आर्थिक संस्थाका रूपमा कोष अगाडि बढ्नुका साथै मुलुकको आन्तरिक लगानीमा विविध स्रोत तथा आयामका बारेमा सहज मार्ग निर्देश गर्नेछ । कोषले नेपाल वायु सेवा निगमलाई विमान खरिदमा मात्रै रु २० अर्ब लगानी गरिसकेको छ ।

यस्तै माथिल्लो तामाकोशी, सान्जेन, रसुवागढी र मध्य भोटेकोशीमा समेत लगानी गरेको छ । यस्तै अन्य विविध परियोजनामा रु ३३ अर्ब लगानी गरेको छ । कोषले रु एक खर्ब ३७ अर्ब व्यक्तिगत तथा अन्य क्षेत्रमा लगानी गरेको छ । कूल रु ५४ अर्ब रकम भने विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दात छ ।

यस्तै कर्मचारी सञ्चयकोषले व्यक्तिगत रूपमा समेत रकम जम्मा गर्न दिने सुविधा ल्याउन लागेको छ । रकम जम्मा गर्नेको सङ्ख्या बढाउने लक्ष्यका साथ व्यक्तिगत रूपमा समेत रकम जम्मा गर्न पाउने योजना सञ्चयकोषले अगाडि सारेको हो । कोष सञ्चालक समितिमा त्यससम्बन्धी प्रस्ताव पेश भइसकेको छ । कोषका निमित्त प्रशासक दीपक रौनियारले सञ्चालक समितिको बैठकले सो विषयमा आवश्यक निर्णय गरेपछि व्यक्तिगत रूपमा कोष जम्मा गर्न पाउने मार्ग प्रशस्त हुने जानकारी दिए । कोषमा हाल ६ लाखभन्दा बढीले कोष कट्टी गर्दै आएका छन् ।

स्वरोजगार, अनौपचारिक क्षेत्रमा काम गरिरहेका नागरिक तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत कोषमा सहभागी गराउने लक्ष्यका साथ नयाँ कार्ययोजना अगाडि ल्याउन लागिएको रौनियारको भनाइ छ । यसअघि नीजि क्षेत्रका संस्थाले पनि दश जनासम्मका कर्मचारीको रकम कोषमा जम्मा गर्दै आएका थिए । नयाँ व्यवस्थापछि व्यक्तिगत रूपमा रकम जम्मा गर्न सकिनेछ । नागरिक लगानी कोषले दिएजस्तै सुविधा कोषले पनि दिन लागेको हो ।

हाल औपचारिक र अनौपचारिक रूपमा गरी देशका करिब ४० लाख युवा वैदेशिक रोजगारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *