कैलालीमा मतदानस्थल नजिक भेटिएको बम निस्क्रिय

बिष्णु जोशी
मंसिर २०, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ मोतिपुर को राष्ट्रिय नमुना मावि मतदानस्थल नजिक भेटिएको प्रेसरकुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ । निर्वाचनको अघिल्लो दिन मतदानस्थल नजिकै शंकास्पद वस्तु देखेपछि स्थानीय एक महिलाले प्रहरीलाई खबर गरेकी थिइन् ।

शंकास्पद वस्तु रहेको थाह पाएपछि आसपासका स्थानीयलाई इलाका प्रहरी कार्यालय लम्की र निर्वाचन सुरक्षामा खटिएका सशस्त्र प्रहरीले सतर्क रहन आग्रह गरेको थियो। नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको छ ।

कार्यालयहरु बन्द
प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि कर्मचारीहरू मतदान केन्द्रमा खटिएपछि कैलालीका सरकारी कार्यालय प्राय: बन्द अवस्थामा छन् । गैरसरकारी कार्यालय तथा संघ संस्थाहरू पनि बन्द छन् । बिहीबार हुने निर्वाचनका लागि सबै कर्मचारी मतदान स्थल पुगिसकेका छन् ।

सबैभन्दा बढी भीड हुने जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाका कार्यालयहरू सुनसान भएका छन् । प्रशासन कार्यालयमा भने सुरक्षा समिति बैठक, भेटघाट, औपचारिक तथा अनौपचारिक छलफल निर्वाचन सम्बन्धी काम गर्नुपरेकाले प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष खुल्ला छ, चहलपहल पनि उत्तिकै देखिन्छ । अन्य कार्यालय भने बन्द छन् ।

जिल्ला प्रशासन कार्यालयमा सवारी पास बनाउने बाहेक अन्य सेवाको लागि आएका छैनन् । राहदानी र नागरिकताको फाँट पनि शून्य बनेको छ । दैनिक १००/१५० जनाको भीड लाग्ने यी फाँटहरूमा चुनाव लागेसँगै शुन्य भएको हो ।

दोस्रो चरणमा बिहीबार हुने निर्वाचनको लागि जिल्लाभर चार हजार दुई सय ९८ कर्मचारी खट्टिएका छन् । वित्तीय संस्थाका प्रमुख, शिक्षकहरू, कर्मचारीहरू मतदान अधिकृतको रूपमा खटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *