चितवनमा सुरक्षाकर्मी ‘हाईअलर्ट’

किशोर खनाल
मंसिर १९, भरतपुर । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वानको सुरक्षाको लागि चितवन प्रहरीले मतदान केन्द्रमा सुरक्षाकर्मीलाई हाईअलर्टमा राखेको छ । सम्पूर्ण सुरक्षाको व्यवस्था पूरा भएको प्रहरीले जनाएको छ ।

‘काठमाडौँबाट आउनुभएका सुरक्षा अधिकारीसँग छलफल गरेर यहाँको सुरक्षा व्यवस्थालाई मजबुद बनाइएको छ’ चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले भने, ‘कुनै किसिमको घटना घट्न नदिन सुरक्षाकर्मीहरुलाई हाईअलर्टमा राखिएको छ ।’

 

एउटा बुथमा हातहतियारसहित १२ जनादेखि ४९ जनासम्म सुरक्षाकर्मी तैनाथ हुने चितवन प्रहरीले जनाएको छ । बुथको भित्रको सम्पूर्ण जिम्मा नेपाल प्रहरीले लिन्छ भने बुथको बाहिरको जिम्मा सशस्त्र र नेपाली सेनाले लिनेछ । चितवन जिल्लाका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरु सोमबार आ–आफ्नो मतदान केन्द्रमा पुगेका छन् ।
मतपत्र, मतपेटिका, स्वस्तिकछापलगायत सम्पूर्ण निर्वाचन सामग्रीहरु बोकेर मतदान अधिकृत र सहायक मतदान अधिकृतहरु मतदान केन्द्रमा पुगेका हुन् । मतदान अधिकृतहरुले मतदान केन्द्रलाई निर्वाचनको तयारीमा अवस्थामा राख्ने काम सुरू गरेका छन् ।

दोस्रो चरणको निर्वाचनको मिति आउन अब दुई दिनमात्र बाँकी छ । ‘चितवनका ४०८ जना मतदान अधिकृत र त्यतिकै संख्यामा रहेको सहायक मतदान अधिकृतहरु निर्वाचन सामग्री बोकेर आ–आफनो केन्द्रमा पुगेका छन्’ निर्वाचन कार्यालय प्रमुख हरि ढकालले भने, ‘उनीहरु आफ्नो केन्द्रमा पुगेर आज मंगलबारबाटै त्यहाँ गर्नुपर्ने कामहरु गर्छन् ।’

मुख्य निर्वाचनको कार्यालयबाट मतपत्र बुझेपछि मतदान अधिकृतहरु आफ्नो मतदान केन्द्रमा पुग्नैपर्ने बाध्यात्मक परिस्थिति छ । चितवन जिल्लाभर ४०८ मतदान केन्द्र छन् । त्यतिकै संख्यामा मतदान अधिकृत र सहायक मतदान अधिकृत खटिएका छन् । चितवनमा तीन लाख ५४ हजार ३६ मतदाता छन् ।

अधिकृतले राखे सर्वदलीय बैठक
मतदान अधिकृत आफ्नो मतदान केन्द्रमा पुगेपछि सबैभन्दा पहिला स्थानीय दलका प्रतिनिधिहरुलाई राखेर सर्वदलीय बैठक राखेका छन् । ‘सबै मतदान अधिकृतले सर्वदलीय बैठक राखेका छन्’ निर्वाचन कार्यालय भरतपुरका सूचना अधिकारी भीमप्रसाद ढकालले भने ।

मतदान अधिकृतहरुलाई आफ्नो मतदान केन्द्रमा मतदाताको संख्या हेरेर स्वयम्सेवक छनौट गर्ने अधिकार हुन्छ । पाँच सयभन्दा कम मतदाता भएको मतदान केन्द्रमा ३ जना र एकहजारसम्म मतदाता भएमा ४ जना स्वयम्सेवक खटिने निर्वाचन कार्यालय भरतपुरले जनाएको छ ।

मतदान अधिकृतहरुले नै मतदान केन्द्रको ३०० मिटर वरपर मदिरा तथा हातहतियार निषेधित क्षेत्र घोषणा गरेका छन् । ‘मतदान केन्द्रको सुरक्षाको हिसाबले केके गर्नुपर्ने हो, त्यो मतदान अधिकृतहरुलाई गर्न सक्ने अधिकार रहन्छ’ निर्वाचन कार्यालय प्रमुख ढकालले भने ।

मतदान अधिकृतहरुले नै परिचय खुल्ने कागजका आधारमा मतदाता परिचयपत्र वितरण गर्ने छन् । ‘मतदान अधिकृतहरुले १९ र २० गते मतदाता परिचयपत्र वितरण गर्नेछन्’ ढकालले भने, ‘कसैको मतदाता परिचयपत्र नआएको खण्डमा आयोगले एकदुई दिनमा भोट हाल्न पाउन गरी एउटा सूचना निकाल्नेछ ।’ पुराना मतदाताहरुले पुरानै मतदाता परिचयपत्र देखाएर भोट हाल्नेछन् भने नयाँ मतदाताले मतदाता परिचयपत्र पाउनेछन् ।

रत्ननगर १२ बाघदेवी आधारभूत विद्यालय जिरौना ‘ख’ का मतदान अधिकृत भोजराज तिवारीले सम्पूर्ण निर्वाचन सामग्री बोकेर मतदान केन्द्रमा आएर सर्वदलीय बैठक राखेको बताए । उनले भने, ‘मलगायत सम्पूर्ण कर्मचारीहरु मतदान केन्द्रमा आएर यहाँ गर्नुपर्ने कामहरु (सर्वदलीय बैठक, निषेधित क्षेत्र छुट्याउने) गर्न सुरू गरिएको छ ।’

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *