स्वर सम्राट नारायणगोपालको स्मृति दिवस आज मनाईंदै


“
काठमाडौं, मंसिर १९ । स्वरसम्राट नारायण गोपालको २७ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायण गोपालको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन् । वि.सं. १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो ।
उहाँले गाएका ‘एउटा मान्छेको मायाले कति’, ‘स्वर्गकी रानी’, ‘आँखाको भाका आँखैले’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ जस्ता सयौं कालजयी गीतहरु छन् । उहाँका सुमधुर गीत आज पनि उत्तिकै लोकप्रिय छन् ।
स्वर सम्राट नारायण गोपालले २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्कृष्ट संगीतकार पुरस्कार, २०२४ सालमा सर्वोतकृष्ट गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु चौथो, २०४० सालमा इन्द्रराज्यलक्षमी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बा श्री, २०४७ सालमा उर्वशी रङ, २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो जस्ता दर्जनौ पुरस्कार पाउनु भएको थियो ।
विक्रम सम्वत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गायर स्वर परीक्षा पास गर्नुभएका नारायण गोपालले एक सय ३६ भन्दा धेरै गीत गाउनु भएको छ ।
“
