सिएमजी, बगर भाइखलक, जोरपाटी र दिप युनाइटेड सेमीफाइनल प्रवेश


पोखरा, माघ ५ । बगर भाइ खलक द्धारा संचालित ‘साँतौ स्व.रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’को शुक्रबारको खेलबाट डिफेन्डिङ च्याम्पियन सिएमजी काठमाडौ, आयोजक बगर भाइखलक ए, जोरपाटी काठमाडौ र दिप युनाइटेड पोखरा सेमी फाइनलमा प्रवेश गरेका छन् ।
सेमीफाइनलमा सिएमजीले जोरपाटीको सामना गर्ने छ भने बगर भाइ खलक ए दिप युनाइटेड संग भिड्ने छ । यता काठमाडौका सिएमजी र जोरपाटी टिममा अधिकांश पूर्व राष्ट्रिय खेलाडीहरु सम्मिलित छन ।
डिफेन्डिङ च्याम्पिएन तथा पूर्व राष्ट्रिय खेलाडीले भरिएको सिएमजीले प्रतिष्पर्धात्मक खेलमा पाहुना टोली कलकत्ता भेट्रान भारतलाई टाइ ब्रेकरमा ३–२ गोलले पाखा लगाएको छ । निर्धारित समयमा सिएमजीका लागि चेतनारायण श्रेष्ठ र कलकत्ताका लागि देवदाश चौधरीले एक एक गोल गरेका थिए ।
खेलको मध्यान्तर लगतै चेतनारायण दुइ वटा पहेंलो कार्डका कारण मैदान छोड्नु पर्दा सिएमजी कलकत्ता संग दवावमा खेलेको थियो । तर टाइ ब्रेकरमा कलकत्ताका खेलाडी विश्वजित दाशको प्रहार गोल पोष्टमा लागेर बहिरिदा सिएमजीले सेमिफाइनलको यात्रा तय गरेको हो । सिएमजीका लागि खेलका म्यान अफ दि म्याच टिम कप्तान उपेन्द्रमान सिंह, बिजय श्रेष्ठ र कृष्ण मालाकारले गोल गरे भने कलकत्ताका लागि बिजय पल र प्रन्तोष रायले गोल गरे ।
यसै गरि दोश्रो खेलमा आयोजक बगर भाइ खलक ए ले बुटवल भेट्रान्सलाई २–० ले पराजित गर्याे । उक्त खेलमा बगरका लागि धन गुरुङ (सन्तोष) ले दुवै गोल गरेका थिए । उनी खेलका म्यान अफ दि म्याच घोषित भए । जोरपाटी काठमाडौ भेट्रान्सले चितवनलाई टाइ व्रेकरमा रोक्न सफल भयो । निर्धारित समयमा दुवै टिम बाट गोल नभएपछि टाइ ब्रेकरमा जोरपाटीले चितवनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । जोरपाटीका लागि राकेश श्रेष्ठ, निमा लामा र सरोज थापाले गोल गरे भने चितवनका लागि एक मात्र गोल नर्कु तामाङले गरे । उक्त खेलमा जोरपाटीका सरोज थापाल म्यान अफ दि म्याच पाए ।
यता स्थानिय टिम दिप युनाइटेडले फोर्टी फाउन्डेशन काठमाडौलाई १–० ले स्तव्द्य पार्यो । दिप युनाइटेडमा सम्मिलित नेपाली राष्ट्रिय टिमका पूर्व टिम कप्तान बसन्त गुरुङले एक मात्र गोल गर्दै टिमलाई सेमिफाइनलको यात्रा तय गराए । उक्त खेलमा दिपका कृष्ण गुरुङ म्यान अफ दि म्याच घोषित भए । शनिवार विहान दुवै सेमी फाइनलका खेल हरु हुने र दिउसो १ बजे फाइनल खेल हुने आयोजक बगर भाइ खलकका सदस्य खगेन्द्र गुरुङले बताए ।
४० वर्ष देखि माथी ६५ वर्ष उमेर समुहले सहभागिता जनाएको यस प्रतियोगितामा विजेताले नगद रु. १ लाख, रनिङ शिल्ड, पदक र प्रमाणपत्र, द्वितिय पुरस्कार विजेताले नगद ५० हजार मात्र, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने बगर भाइ खलका अध्यक्ष दिल बहादुर गुरुङले बताए ।
