चुनाव प्रचारको अन्तिम दिन दलहरु अन्तिम कसरतमा

“
मंसिर १८, काठमाडौं । निर्वाचन प्रचारको आज अन्तिम दिन दलहरुको चुनावी प्रचारको व्यस्तता अत्यन्तै बढेको छ । दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले आजसम्म मात्रै प्रचार गर्न पाइने व्यवस्था गरेको छ । आज राति १२ बजेदेखि कुनै पनि प्रचारप्रसारजन्य गतिविधि गर्न पाइँदैन भने मत माग्न समेत पाइँदैन ।
निर्वाचन प्रचार प्रसारको अन्तिम दिन नेपाली कांग्रेसका ठूला नेताहरु गृह जिल्लामै केन्द्रीत हुने छन् । उनीहरुले नजिकमा आयोजना गरिएका ठूला आमसभालाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले बताए । कांग्रेसले डडेल्धुरा, तनहुँ, दमौली, बुटवल, भैरहवा, सुनसरी, पर्सा, भक्तपुर लगायतका क्षेत्रमा आम सभा गर्दै छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रचार प्रसारको अन्तिम दिन आफ्नै गृह जिल्ला डडेल्धुरामा हुने छन् ।
यस्तै, नेकपा एमालेले पनि चुनाव प्रचारको अन्तिम दिन आज धेरै ठाउँमा क्षेत्रिय स्तरका आमसभा गर्ने जनाएको छ । कतिपय ठाउँमा ठूला कोणसभाहरु समेत हुने एमाले जनाएको छ । निर्वाचन परिचालन कमिटिका प्रवक्ता विष्णु रिमालले लगभग सबै ठाउँमा चुनावी सभा गर्ने र अन्तिम घरदैलोका कार्यक्रमहरु संचालन गरिने बताए ।
यता, माओवादीले चुनाव प्रचारको अन्तिम दिन ठूला आम सभाहरु गर्ने छैन । एकिकृत माओवादी केन्द्रले घरदैलो र भेटघाटकै कार्यक्रमलाई प्राथमिकता राखेको छ । माओवादी अध्यक्ष आज पनि चितवनमै हुने छन् । उनले एमाले नेता सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा आज सम्बोधन गर्दै छन् ।
यस्तै अरु दलहरु पनि निर्वाचन जित्ने अन्तिम कसरतमा लागेका छन् ।
आयोगले आज राति १२ बजेदेखि निर्वाचन सम्पन्न नहुँदासम्मको लागि मौन अवधि तोकेको छ । मौन अवधिमा विद्युतिय माध्यमबाट पनि भोट माग्न पाइँदैन । फेसबुक, भाइभर, ट्वीटर लगायतका समाजिक सञ्चाल प्रयोग गरेर समे मत माग्न र प्रचार प्रसा गर्न नपाइने आयोगले जनाएको छ ।
आयोगले उम्मेदवार राजनीतिक दल र आम मतदाताले मौन अवधिको पालना गर्नुपर्ने जनाएको छ । आयोगले मौन अवधि उल्लंघन गर्नेलाई कारबाही गर्न सक्छ । साथै आयोगले दोस्रो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले मतदान स्थलमा निर्वाचन अधिकृत, सहायक अधिकृत लगायत अरु कर्मचरी र सुरक्षाको व्यवस्था गरिसकिएको जानकारी गराएको छ ।
अयोगले मंसिर २१ गते विहान ७ बजेदेखिनै मतदाताले ढुक्क भएर मत खसाल्न सक्ने समेत जनाएको छ ।
“








