बाढीले बगाएको ३२ पुल बनाउन साढे १६ करोड लाग्ने

मंसिर १७, काठमाडौं । बर्षाको सिजनमा बाढीले बगाएका तराई क्षेत्रका ३२ पुल बनाउन १६ करोड ५० लाख रुपैयाँ लाग्ने भएको छ । ५ वटा डिभिजन सडक कार्यालयलले पुल मर्मतका लागि लागतसहित पत्र पठाएका छन्, उनीहरुले पठाएको लागत विवरण अनुसार पुल बनाउनको लागि साढे १६ करोड रुपैयाँ खर्च लाग्ने पुल महाशाखाका इन्जिनियर विमलकूमार बस्नेतले जानकारी दिए ।

पुल निर्माणका लागि लागत पठाएका डिभिजन कार्यालयहरुले पनि एकमुष्ठ रकम माग गरेका छन् । ती कार्यालयहरुले प्रत्येक पुल मर्मतका लागि लाग्ने खर्चको एकिन विवरण नपठाएका बस्नेत बताउँछन् । डिभिजन सडक कार्यालय चन्द्रनिगाहापुरले भत्केको पुलको मात्र विवरण पेश गरेको छ ।

बाढीले क्षति पुगेका पुलहरु
पुल महाशाखाका अनुसार बाढीले ३२ वटा पुलमा क्षति पुर्याएको छ ।

डिभिजन सडक कार्यालय झापा अन्तरगत पर्ने ४ वटा पुलमा बाढीले क्षति पुर्याएको छ । कन्काई, सुरुङ्गा खोला, पाली खोला र हिडिया पुल मर्मतका लागि ३ करोड रुपैयाँ माग गरिएको छ ।

यस्तै, डिभिजन सडक कार्यालय लाहान अन्तरगतका बाढीले ६ वटा पुलमा क्षति पुर्याएको छ । खडक खोला, दुधैला खोला, गहिदी खोला, कोशीघाट खोला, बृधना खोला र कठौना बजारको खोला पुल मर्मतका लागि २ करोड रुपैयाँ माग गरिएको छ ।

डिभिजन सडक कार्यालय हेटौडा अन्तरगतका ५ वटा पुल बाढीले भत्काएको छ । धन्सार खोला, दुधौरा खोला, रापती खोला र तीन नम्बर पुल मर्मतका लागि ५ करोड रुपैयाँ माग गरिएको छ ।

डिभिजन सडक कार्यालय जनकपुर अन्तरगतका ५ वटा पुलमा बाढीले क्षति पुर्याएको छ । जंघा पुल, रातु खोला, बडहरी खोला, गेरुकी खोला, रात खोला पुल कल्भर्ट मर्मतका लागि ४ करोड ५० लाख रुपैयाँ माग गरिएको छ ।

डिभिजन सडक कार्यालय भरतपुर अन्तरगतका पनि ५ वटा पुलमा बाढीले क्षति पुर्याएको छ । किसाननगर कल्भर्ट, जवाङ्ग खोला कल्भर्ट, हुम्दी खोला, सोप्याङ्ग पुल र खटौती पुल निर्माणका लागि २ करोड रुपैयाँ माग गरिएको छ ।

डिभिजन सडक कार्यालय चन्द्रनिगाहापुर अन्तरगतका ५ वटा पुलमा बाढीले क्षति पुर्याएको छ । अमुवा पुल, लालबकैया पुल (जुङलेसाही), लालबकैया पुल (कटहरिया), लालबकैया पुल (जयनगर मौलापुर सडक) मा क्षति पुगेको भएपनि पुननिर्माण र मर्मतमा लाग्ने लागत विवरण पेश गरिएको छैन ।

डिभिजन सडक कार्यालय नेपालगंज अन्तरगतका २ वटा पुलमा बाढीले क्षति पुर्याएको छ । जब्दिघाट पुल र बैदाको पुल (जब्दिघाट जोड्ने) को पनि लागतविवरण पेश भएको छैन ।

पुल महाशाखाका अनुसार नेपालमा साना ठूलागरि १७ सयभन्दा धेरै पुल छन् । ती पुलहरुको मर्मत संभारका लागि ३३ वटा डिभिजन सडक कार्यालय छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =