टेलिकमको सीयुजी सुविधामा अब निः शुल्क अनलिमिटेड कल

साउन ३२, काठमाडौँ । नेपाल टेलिकमले जीएसएम पोष्टपेड मोबाइलका कर्पोरेट ग्राहकहरुका लागि उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सीयुजी) सुविधालाई रिप्याकेज गरेको छ । कम्पनीले नयाँ महसुल दर समेत निर्धारण गरेको छ । यो सुविधा आजदेखि सुरु भएको छ । भने, आगामी कात्तिक २७ गतेसम्म लागू हुनेछ ।
अब सीयूजी सुविधा प्रयोग गरी एउटै सीयूजी प्याकेज अन्तर्गत रहेका कर्पोरेट ग्राहकहरुले एक अर्कामा निः शुल्क रूपमा असीमित भ्वाइस कल गर्न सक्नेछन् । साथै कर्पोरेट युजर ग्रुप बाहेक नेपाल टेलिकमकै नेटवर्क भित्रका अन्य नम्बरमा समेत भ्वाइस कल गर्न र डाटा चलाउन पाइने छ ।
कम्पनीले कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुने गरी कर सहित ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँको विभिन्न दरका सीयूजी प्याकेजहरु उपलब्ध गराएको छ । यस सेवा अन्तर्गत सबैभन्दा सस्तो प्याकेज ४०० को रहेको छ । जस अन्तर्गत सीयूजी ग्रुप भन्दा बाहिर कम्पनीकै नेटवर्कमा १५० मिनेट भ्वाइस कल गर्न तथा ३०० एमबी डाटा चलाउन पाइने छ ।

त्यसै गरी, ७ सय रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न र ८०० एमबी डाटा चलाउन सकिने छ । यस बाहेक १ हजार रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न र १५०० एमबी डाटा चलाउन, १३ सय रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न र २१०० एमबी डाटा चलाउन तथा १६ सय रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न र २७०० एमबी डाटा चलाउन पाइने छ । भने, सबै प्याकेजमा रहेका ग्रुप सदस्यहरू बिचमा भने असीमित भ्वाइस कल गर्न सकिने छ ।
जीएसएम पोष्टपेड कर्पोरेट ग्राहकहरुलाई लक्ष्यित गरी कम्पनीले यो प्याकेज उपलब्ध गराएको हो । कुनै कर्पोरेट हाउसका कमसेकम १० जना जीएसएम पोष्टपेड प्रयोगकर्ता यो प्याकेजमा सहभागी हुन सक्ने छन् । कर्पोरेट हाउसले आधिकारिक रूपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराइने छ । कम्पनीको ग्राहक सेवा केन्द्रबाट यो सुविधा लिन सकिने छ ।








