लोकतन्त्र र देशको समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक– नेता सिंह

“
काठमाडौं, मंसिर १७ । नेपाली काँग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले लोकतन्त्र र देशको समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताउनुभएको छ ।
मध्यपुरथिमिको चपाचोमा आयोजना भएको लोकतान्त्रिक युवा भेलामा उहाँले विश्वबाट पतन भएको साम्यवादको नेपालमा भविश्य नरहेको भन्दै २१ औँ शताब्दिमा नेपालमा कम्युनिष्ट व्यवस्था सफल हुन सक्दैन भन्नुभयो । उहाँले लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याउने दाबी गर्दै काँग्रेसको नेतृत्वमै नयाँ सरकार गठन हुने बताउनुभयो ।
युवा परिचालन समितिका जिल्ला संयोजक अष्ट कवेले लोकतन्त्र र प्रजातन्त्रको रक्षा गर्दै सफलरुपमा संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेसले विजयी हासिल गर्नुपर्ने बताउनुभयो ।
त्यसअवसरमा नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापा, क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दमननाथ ढुंगाना, पार्टीका पूर्वसभापति एवं मध्यपुरथिमि प्रदेशका उम्मेदवार गणेशमान चक्रधर, काँग्रेस नेता महेश श्रेष्ठ, काँग्रेस नगर समितिका सभापति सुरेन्द्र श्रेष्ठ, नेता हरिदाश प्रजापति, राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य सुरेन्द्र केसीलगायतका वक्ताले लोकतान्त्रिक संविधान जारी गर्न काँग्रेस नेतृत्वको गठबन्धनलाई विजयी गराएर समृद्धिको अभियान सफल तुल्याउनुपर्ने बताउनुभयो ।
“








