झापामा निर्वाचन विरोधी गतिविधि तिब्र, २० जना पक्राउ

मंसिर १३, झापा । झापामा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराउँदै आक्रमण हुन थालेका छन् । एकपछि अर्को गर्दै उम्मेदवार लक्षित आक्रमण शुरु भएको छ । उम्मेदवारलाई लक्षित गर्दै लगातार आक्रमण हुन थालेपछि शुरक्षा चिन्ता बढेको छ ।

नेपाली काँग्रेसका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाको घरमा बम विस्फोट भएको छ । चन्द्रगढीस्थित सिटौलाको घरमा सोमबार राति अज्ञात समूहले बम विस्फोट गराएको थियो ।

सुरक्षाको दृष्टिकोणले सुरक्षित मानिएको सदरमुकाम चन्द्रगढीमै सिटौला निवास रहेको छ । सिटौला घरको सुरक्षार्थ पाँच जना प्रहरी परिचालन भए पनि उहाँको घरमा सोमबार राति बम प्रहार भएको थियो ।

त्यस्तै कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको घरमा पनि बम फेला परेको छ । उनको घरमा फेला परेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले मंगलबार नै निष्क्रिय गरेको थियो ।

यसअघि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा पनि बम विस्फोट गराइएको थियो भने नेपाली काँग्रेस झापा सभापति तथा झापा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उद्धव थापाको घरमा पनि बम विस्फोट गराइएको थियो ।

वम विस्फोटका कारण थापाको घरमा राखिएको बोलेरो जिपमा क्षति पुगेको छ भने सिटौला र ओलीको घरमा सामान्य मात्र क्षति पुगेको बताइएको छ ।

उम्मेदवारलाई लक्षित गर्दै शृंखलाबद्धरुपमा एकपछि अर्को घटना हुन थालेपछि प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले झापाको सुरक्षा व्यवस्थालाई अझ मजबुत राख्न थप सुरक्षा रणनीति अपनाएको बताएका छन् ।

दिनहुँजसो झापामा उम्मेदवारलाई लक्षित गर्दै वम विस्फोट हुन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले विशेष सुरक्षा रणनीति अपनाएको र सोहीबमोजिम आफूहरु अघि बढेको उनको भनाइ छ । निर्वाचनलाई लक्षित गर्दै एक सातायता विभिन्न गतिविधिमा संलग्न २० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए ।

यस्तै, मेचीबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न ५७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *