गृहमन्त्री शर्माद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन

काठमाडौं । माननीय गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ज्यूले बिहीबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री शर्माले प्रहरी प्रधान कार्यालय परिसर स्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो । साथै प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टर, डिजीटल फरेन्सिक ल्याव, पोलीग्राफ र C4 Section को निरीक्षण समेत गर्नुभयो । निरीक्षणको क्रममा गृहमन्त्री शर्माले कमाण्ड सेन्टरबाट भिडियो कन्फ्रेन्स मार्फत क्षेत्रीय प्रहरी प्रमुखहरुसँग कुराकानी गर्दै पहिलो चरणको निर्वाचन सम्पन्न गर्न प्रहरी महानिरीक्षक लगायत प्रहरी जवान सम्मका प्रहरी कर्मचारीहरुले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । दोस्रो चरणको निर्वाचनलाई सम्पन्न गर्न उच्च मनोबलका साथ कार्यसम्पन्न गर्न उहाँले निर्देशन समेत दिनुभयो । उक्त अवसरमा गृहसचिव लोकदर्शन रेग्मीको समेत उपस्थिति रहेको थियो ।

सो अवसरमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै गृहमन्त्री शर्माले विभिन्न चुनौती र साधानस्रोतको अभावका वावजुद पनि नेपाल प्रहरीले गरेका काम प्रशंसनिय रहेको बताउनुभयो । प्रहरीको बृत्तिबिकास, भौतिक संरचना, साधनस्रोत, प्रशिक्षणलगायतका बिषयमा क्रमिकरुपमा सुधार गर्नका लागि तत्काल सामुहिक प्रयास थाल्नु पर्नेमा जोड दिँदै उहाँले यसका लागि समन्वयात्मक रुपमा कार्य गर्न गृह मन्त्रालय सदैव प्रहरीको साथमा रहेको बताउनुभयो ।
आफू चुनौतीको सामना गरेर अगाडि बढ्न चाहने उल्लेख गर्दै गृहमन्त्री शर्माले नेपाल प्रहरीमा रहेका चुनौतीहरुको सामुहिक रुपमा मिलेर सामना गर्दै राष्ट्रप्रतिको जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो । चेन अफ कमाण्डलाई सुदृढ र व्यवस्थित गर्नुपर्ने, अनुशासनको पालना गर्दै विधि स्थापना गर्नुपर्ने र त्यसैबाट समस्या समाधान गर्नुपर्ने तथा समस्याको समाधान संगठन भित्रैबाट खोज्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

राज्यमा सशक्त जनशक्ति, राजनीतिक स्थिरता र इच्छा शक्ति भएमा राष्ट्र सम्बृद्ध र बिकशित हुने तथा यसबाट शान्ति सुरक्षामा पनि सुधार आउने चर्चा गर्दै गृहमन्त्री शर्माले यसका लागि सुरक्षाको क्षेत्रमा जनतालाई सहभागी गराउनुपर्ने बताउनुभयो । अपराध अनुसन्धान, सीमा क्षेत्रमा हुने घटना, प्रतिआतंकवाद जस्ता घटनामा समेत जनताको सहयोग र सहभागिता गराउन सकेमा अझै बढी सफलता हासिल हुने उहाँले उल्लेख गर्नुभयो ।
नयाँ संविधान अनुसार नेपाल प्रहरीको प्रादेशिक र संघीय संरचनाबारे सरकारको ध्यान जाने चर्चा गर्दै उहाँले परिवर्तित अवस्थासँगै रुपान्तरित हुन मानसिक तथा सांगठनिक रुपमा तयार हुनुपर्ने बताउनुभयो । अन्यायमा परेकाहरुका लागि न्यायको अनुभूति दिलाउने कुरामा मन्त्रालय कटिबद्ध रहने र चेन अफ कमाण्डमा रहने प्रहरी संगठनलाई अझै सबल बनाउदै प्रभावकारी कार्य गर्ने वातावरण सिर्जना गर्न मन्त्रालय तत्पर रहेको बताउनुभयो ।
समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले समसामयिक निर्देशनलाई मार्गदर्शनको रुपमा अवलम्बन गर्नुको साथै यसको मर्म र भावनालाई कार्य सम्पादनमा अक्षरसः पालना गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाल सरकारको तर्फबाट सदैव सहयोग, सदभाव र भरोसा प्राप्त भइरहेको चर्चा गर्दै उहाँले व्यावसायिकतालाई आत्मसात गरी कर्तव्यपालन गरिरहेका होनहार प्रहरी कर्मचारीहरुको बृत्तिबिकासमा सुनिश्चिता ल्याउनु हालको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

गृहमन्त्री शर्मा र गृहसचिव रेग्मीलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभएको थियो ।
निरीक्षणको क्रममा गृहमन्त्री शर्मासमक्ष प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयकोतर्फबाट नेपाल प्रहरीको संगठनात्मक प्रस्तुतीकरण समेत गर्नुभएको थियो ।








