संसदबाट सामूहिक राजीनामा दिएर आन्दोलन चर्काउने रणनीति

राजपा नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले पार्टी केन्द्रीय कमिटी बैठकमा सांसदबाट राजीनामा दिने प्रस्ताव पारित गराउने दाबी गरे । राजपा नेपालले १८, १९ र २० साउनमा पदाधिकारी बैठक र २१, २२ र २३ साउनमा केन्द्रीय कमिटी बैठक काठमाडौंमा बोलाएको छ ।‘हाम्रो माग पूरा गर्ने सहमतिमा सरकारलाई समर्थन दिएका हौं  तर सरकारले त्यो कार्यान्वयन गर्नेमा इमानदारिता देखाएन,’ मण्डलले राजधानीसग भने, ‘सरकारले गर्नुपर्ने काम पनि भएन र संसद्बाट हुने संविधान संशोधन पनि नभएको अवस्थामा संसद्मा बसिरहनुको कुनै अर्थ छैन ।’

सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रले विगतमा गरेको सहमति कार्यान्वयन नभएको निष्कर्ष निकाल्दै बैठकले पार्टीको औपचारिक बैठकमै राजीनामा प्रस्ताव पेस गरेर पारित गर्दै आन्दोलनमा जानुको विकल्प नभएको निष्कर्ष निकालेको छ । सरकारले गर्नुपर्ने निर्णय नगरेको अवस्थामा तेस्रो चरणको निर्वाचनपश्चात् संसद्बाट राजीनामा दिएर आन्दोलन चर्काउनुपर्ने तयारी राजपा नेताले गरेका छन् ।

केही समयअघि काठमाडौंको एक कार्यक्रममा राजपा नेपाल अध्यक्ष मण्डल सदस्य महेन्द्रराय यादवले संसद्बाट राजीनामा दिएर आन्दोलनमा जाने बताएका थिए । उनीनिकटकै मण्डलले अब यो प्रस्ताव पार्टी बैठकमै लगेर छलफल गर्ने र यसलाई पारित पनि गर्ने दाबी गरेका छन् । सरकारका तर्फबाट हुने निर्णयमा ढिलाइ भएकाले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा समेत सहभागी नहुने राजपाले जनाएको छ । तर संविधान संशोधनबाहेकका माग पूरा भए राजपा तेस्रो चरणको निर्वाचन उपयोग गर्ने तयारीमा रहेको एक नेताले बताए ।

राजपा नेपालका उपाध्यक्ष नरसिंह चौधरीले पार्टी यथास्थितिमा निर्वाचनमा सहभागी नहुने प्रस्ट पारे । विगतमा भएको सहमति कार्यान्वयन नभएकाले पार्टीले तेस्रो चरणको निर्वाचनसमेत बहिष्कार गर्नुपर्ने उनी बताउ“छन् । ‘सरकारका तर्फबाट हुने काम भए पार्टीले त्यसमा पुनर्विचार गरेर निर्वाचनमा सहभागी हुनस क्छ,’ चौधरीले भने, ‘तर हाम्रो कुनै पनि माग पूरा नभए यथास्थितिमै निर्वाचनमा सहभागी हुन्नौं ।’

सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष बैठकले पदाधिकारी बैठक र केन्द्रीय कमिटी बैठक मधेसमा गर्नुपर्ने माग पनि गरेका छन् । राजपा अध्यक्ष मण्डलले बैठक काठमाडौंमा बोलाएपछि पदाधिकारी छलफलमा बैठक वीरगन्जमा गर्नुपर्ने माग उठेको छ ।

यसअघि भएको महासचिव, सहमहासचिव, सचिव र प्रवक्ताको बैठकले पनि पार्टी बैठक मधेसमा गर्नुपर्ने माग गरेको थियो । सरकारका तर्फबाट हुनुपर्ने काम  गरे तेस्रो चरणको निर्वाचनमा सहभागी हुनुपर्ने मागसमेत उठेको छ । राजपा नेपालमा हाल केन्द्रीय पदाधिकारी १ सय ३४ र केन्द्रीय सदस्य ८ सय १५ जना छन् । पार्टी सञ्चालन, महत्वपूर्ण निर्णयलगायतका विषयमा राजपाभित्र विवाद भएपछि अध्यक्ष मण्डलले पदाधिकारी र केन्द्रीय कमिटी बैठक बोलाएर निकास खोज्ने प्रयास थालेको हो ।

राजपा नेपालका सहअध्यक्ष हृदयेश त्रिपाठी, संसदीय दलका नेता वृजेश गुप्ता, सर्वेन्द्रनाथ शुक्ललगायतका नेताले गत १ साउनमा भैरहवामा भेला गरेर पार्टी निर्वाचन आयोगमा दर्ता गर्दा विधान, घोषणापत्रलगायतका विषयमा छलफल नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि अध्यक्ष मण्डलले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । पदाधिकारी बैठक र केन्द्रीय कमिटी बैठकमा विधान, घोषणापत्र, आर्थिक नियमावली, निर्देशिकालगायतका विषयमा पनि विस्तृत छलफल गर्ने एजेन्डा तय भएको छ ।अाजकाे राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + four =