काठमाडौँ क्षेत्र नं ९ मा कडा प्रतिस्पर्धा

मंसिर ११, काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा प्रतिनिधिसभा र प्रदेशसभाका चुनावमा लोकतान्त्रिक गठबन्धन र वामगठबन्धनको कडा प्रतिस्पर्धा देखिएको छ । उक्त क्षेत्रको अधिकांश स्थानमा दुबै गठबन्धनबाट दिनहुँ हुने राजनीतिक गतिविधि तथा त्यहाँ सहभागी हुने स्थानीयवासीको संख्यालाई आधार बनाउने हो भने कुन दलले चुनावी बाजी मार्ने भन्नेमा अहिले नै यकिन गर्न कठिन छ ।

राजधानीको यस निर्वाचन क्षेत्रमा दुई नेवार समुदायका उम्मेदवारबीचको प्रतिस्पर्धालाई उपत्यकाका अन्य निर्वाचन क्षेत्रमा समेत निकै चासो पूर्वक हेरिएको छ । नेवार समुदायको बढी घनत्व रहेको यस क्षेत्रमा दुबै नेवार उम्मेदवारमा कसले बढी मत लिनसक्छ, उसले नै विजय हासिल गर्नसक्ने भएकाले जातीय मत तान्न उहाँहरुबीच प्रतिस्पर्धा चलेको छ ।

काठमाडौँ महानगरपालिका केही भाग तथा चन्द्रगिरी र नागार्जुन नगरपालिका पनि केही वडा समेत जोडिएको यस क्षेत्रमा प्रतिनिधिसभामा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका ध्यानगोविन्द रञ्जित र वामगठबन्धनबाट नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ मुख्य प्रतिस्पर्धी देखिनु भएको छ । उक्त चुनाव क्षेत्रमा महानगरपालिकाका वडा क्रमशः १२, १४, २१ र २२, चन्द्रगिरी नगरपालिकाका क्रमशः १, १२, १३, १४ र १५ वडा र नागार्जुन नगरपालिका ६, ७, ८, ९ र १० वडा परेको छ । त्यसमा एकजना प्रतिनिधिसभा सदस्य तथा दुई प्रदेशबाट दुई सदस्य निर्वाचित हुनेछन् ।

स्थानीय तहमा नेपाली काँग्रेसले सात वडा र एमालेले सात वडामा अध्यक्ष पद जितेका छन् । त्यस आधारमा प्रतिस्पर्धा कडा देखिएको छ । जनसंख्याका आधारमा काँग्रेस भन्दा एमाले केही मतले अगाडि देखिएको र माओवादी केन्द्रको सहयोगमा निर्माण भएको वामगठबन्धन अझै बलियो देखिएका छन् । स्थानीय तहमा बामपन्थीले लिएको अग्रताका आधारमा उनीहरु उत्साहित देखिएका हुन् ।

इतिहासका विभिन्न कालखण्डमा नेताद्धय रञ्जित र श्रेष्ठले जनतालाई विश्वासमा लिएर एक अर्कालाई चुनावमा पराजित गरेको अनुभव छ । वि सं २०४८ मा सो क्षेत्र तत्कालीन क्षेत्र न ५ मा परेका बेला जनताको बहुदलीय जनवादका प्रणेता नेता मदन भण्डारीले चुनाव जितेको उक्त स्थानमा उपनिर्वाचन हुँदा एमाले नेता श्रेष्ठले जित्नुभएको थियो ।

वि सं २०५१ मा भएको आम चुनावमा श्रेष्ठले काँग्रेसका रञ्जितलाई र २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा रञ्जितले श्रेष्ठलाई पराजित गर्नुभएको थियो । प्रतिनिधिसभाका उम्मेदवारद्वय रञ्जित र श्रेष्ठ दुबैले जनताको दुःख सुखलाई नजिकबाट अनुभव गरी सद्भाव साटन पाएकाले सेवाको अवसर आफूलाई दिने जिकिर गर्नुभएको छ ।

यही मंसिर २१ गते हुने प्रदेशसभाका उम्मेदवारमा वाम गठबन्धनबाट प्रदेश (१) मा नेकपा (एमाले) का डा अजयक्रान्ति शाक्य र प्रदेश (२) मा नेकपा माओवादी केन्द्रका केशवप्रसाद पोखरेल हुनुहुन्छ । त्यस्तै लोकतान्त्रिक गठबन्धनबाट दुबै प्रदेशमा नेपाली काँग्रेसका (१) का उम्मेदवार इन्द्रमान तुलाधर र (२) का धर्मराज गौतम हुनुहुन्छ ।

स्थानीय तहमा महानगरका चारै वडामा एमालेले ठूलो मतअन्तरले काँग्रेसलाई जितेका कारण वाम गठबन्धनले सजिलै जित्नसक्ने प्रदेश (१) मा नेकपा (एमाले) का डा शाक्यले बताउनु भयो । प्रदेश (२) मा नेकपा माओवादी केन्द्रका पोखरेलले स्थानीय विकास तथा पूर्वाधार निर्माणका साथै सीतापाइला रामकोट भीमढुंगा हुँदै धार्के सडक खण्ड पूरा गर्न वामगठबन्धनले प्राथमिकतामा राखेकाले पनि जित निश्चित रहेको बताउनुभयो ।

त्यस क्षेत्रको स्थानीय विकास कार्यमा स्थानीय सहभागिता बढाउने योजना र दृष्टिकोण काँग्रेससँग रहेकाले जित्ने आधार रहेको प्रदेश (१) का उम्मेदवार तुलाधरले बताउनुभयो । प्रदेश (२) का उम्मेदवार गौतमले मुलुकमा लोकतन्त्रको रक्षाका लागि काँग्रेसले गरेको त्याग र नेतृत्वका कारण निर्वाचनमा आफूलाई जिताउने विश्वास व्यक्त गर्नुभयो । प्रदेश १ बाट ३५ हजार २४५ र प्रदेश २ बाट ३२ हजार ३४८ गरी ६७ हजार ५९३ मतदाता छन् । विवेकशील पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि मिलन पाण्डे, प्रदेशसभा १ मा चक्र न्यौपाने र २ मा सुरेन्द्रबहादुर रानाभाट उम्मेदवार हुनुहुन्छ । उहाँहरुले प्राप्त गर्ने केही मतले दुबै गठबन्धनलाई सामान्य प्रभाव पारेपनि खासै ठूलो अर्थ राख्ने देखिदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *