महानगरको उपमेयरमा कांग्रेसको जित सुनिश्चित


किशोर खनाल,भरतपुर ।
भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार पार्वती शाहको जित सुनिश्चित भएको छ । यो समाचार तयार पार्दा आइतबार राति १० बजेसम्मको मतगणनाअनुसार पार्वती शाहले ४४ हजार ७९ मत ल्याएकी थिइन् । नेकपा एमालेकी उपमेयरकी उम्मेदवार दिव्या शर्माले ३७ हजार ६८० मतमात्र ल्याएकी छन् ।
यो समाचार तयार पारिरहँदा महानगरको १९ नं को वडा गणना भइरहेको थियो । वडा नं २० को गणना बाँकी नै छ । महानगरमा भएका २९ वडामध्ये २७ वटा वडाको गणना सकिएको छ । वडा १९ र २० को मतगणनाको परिणाम नआउँदै पार्वती शाहको जित सुनिश्चित भएको छ । गणना पूरा नभएसम्म निर्वाचन कार्यालयले आधिकारिक रुपमा विजयी घोषणा गर्न मिल्दैन ।
शाह एमालेकी दिव्य शर्माभन्दा ६ हजार ३९९ मतले अगाडि छिन् । बाँकी रहेका दुई वटा वडाको जम्मा मत संख्याभन्दा शाहले लिड गरेको मत धेरै छ । दुई वटा वडामा ६ हजार १६२ मत खसेको छ । अब बाँकी दुई वडाको गणना गर्दा एमालेकी दिव्य शर्माले पूरा मत पाए पनि कांग्रेसकी पार्वती शाहका जित हुनेछ । बाँकी दुई वटा वडामा पनि दिव्यले भन्दा कांग्रेसकी शाहले नै धेरै मत ल्याउने अनुमान गरिएको छ ।
को हुन् पार्वती शाह ?
पार्वती शाहको जन्म २०२४ साल साउन ५ गते भएको हो । उनको घर साविक गुञ्जनगर गाविसको वडा नं ५ मा पर्छ । २०४८ सालबाट उनले कांग्रेसको राजनीति सुरू गरेकी हुन् । विद्यार्थी जीवनमा नेविसंघमा आबद्ध भएर उनले आफ्नो राजनीति यात्रा थालेकी हुन् । नेपाली कांग्रेसका जिल्ला सचिव उत्तम जोशीले जनाएअनुसार पार्वती शाह जनआन्दोलन ०६२÷६३ सालमा महिला आन्दोलनको नेतृत्व गर्दा काठमाडौँमा केहीदिन जेलजीवन भोगेकी नेतृ हुन् ।
विद्यार्थी राजनीतिपछि उनी तरुण दलसँग आबद्ध भएकी थिइन् । उनी तरुण दलको नगर कमिटी सदस्यदेखि केन्द्रीय सचिवसम्म भएकी हुन् । सचिव जोशीका अनुसार पार्वती शाह हाल नेपाल महिला संघकी जिल्ला अध्यक्षसमेत हुन् । उनी महिला सशक्तीकरणमा लागेकी सक्षम नेतृको रुपमा चिनिन सफल भएकी कांग्रेस नेताहरु बताउँछन् ।
