काम चलाउ सरकारका स्वास्थ्यमन्त्रीको चलखेल ? आफ्नालाई नियुक्त गर्न लाग्दैन आचारसंहिता


जेठ–१५, काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले बाहिरबाट जनतालाई स्वास्थ्य सेवामा राहत सहित नीतिगत सुधार गरेको प्रचार बाजी गरे पनि भित्रभित्रै आफन्त र आफ्ना नजिकका नातेदार र व्यक्तिका लागि नीति नियम नै मिचेर काम गरेका छन् ।
सरकारले राजीनामा दिएर काम चलाउ बनेको अवस्थामा स्वास्थ्यमन्त्री थापा भने धमाधम नीति र पद्धति मिच्दै विभिन्न स्वास्थ्य प्रतिष्ठानमा आफ्ना अनुकूलका व्यक्ति नियुक्तिमा लागेका छन् ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेका पदहरुमा मन्त्री थापाले आफ्ना नजिकका व्यक्तिलाई सहज हुने गरी ब्यापारीहरुको चाहनामा पदाधिकारी नियुक्त गर्न लागेका छन् । यसका लागि उनले मन्त्रिपरिषद्बाट पारित मापदण्ड नै संशोधन समेत गर्नपछि परेका छैनन् । मन्त्री थापाले प्रधानमन्त्रीले राजीनामा दिएको अघिल्लो समयको ब्याक डेटमा निर्णय गरेर पदाधिकारीहरू नियुक्ति गर्न लागेका हुन् । मन्त्रालयमा आइतबार बसेको बैठकले ब्याक डेटमा निर्णय गरेर नियुक्त गर्न खोजिएको हो ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य मन्त्री थापाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पूर्वाधार निर्माण गरिरहेको रसुवा कन्ट्रक्सन प्रा.लि.को चाहनामा रजिष्ट्रार र अस्पताल निर्देशक नियुक्त गर्न चलखेल गरेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको रजिष्ट्रार पदका लागि कर्णालीका विइ विश्वराज काफ्लेलाई नियुक्त गर्न स्वास्थ्यमन्त्री थापाले पदाधिकारी नियुक्ति मापदण्ड नै संशोधन गरेका छन् । कर्णाली प्रतिष्ठानको रजिष्ट्रार हुनका लागि पोस्ट ग्राजुएट नगरे पनि ग्राजुएट गरेर ३५ वर्ष पुरा हुनुपर्ने प्रावधान छ । मन्त्री थापाले विइ विश्वराज काफ्लेलाई नियुक्ति गर्नका लागि ३५ वर्षे उमेर हदबन्दी नै परिवर्तन गरेर नियुक्ति गर्न खोजेका छन् । ‘विश्वराज काफ्ले कर्णाली प्रतिष्ठानमा काम गरिरहेको रसुवा कन्ट्रक्सन प्रा.लि.को चाहनामा आउन लागेका हुन् ।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक कर्मचारीले नाम नबताउने सर्तमा भने । स्रोतका अनुसार रसुवा कन्ट्रक्सनका मोहन आचार्य र स्वास्थ्यमन्त्री गगन थापा वनस्थली क्याम्पसका सहपाठी रहेको र उनीहरूकै मिलेमतोमा मापदण्ड विपरीत नियुक्त गर्न थालिएको हो । यसै गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अस्पताल निर्देशकमा पनि सेटिङ गरेर प्रतिष्ठानका पूर्व बालरोग विभागका प्रमुख डा. गौरीशंकर शाहलाई नियुक्ति गर्ने तयारी भएको छ । प्रतिष्ठानको बालरोग विभागको विभागीय प्रमुख हुँदा नै कारबाहीमा परेर बर्खास्त भएका डा. शाहलाई प्रतिष्ठानमा केही महिना अघि नियुक्ति भएका उपकूलपति प्रा.डा. राजकुमार रौनियार र रसुवा कन्ट्रक्सनको चाहनामा नियुक्त गर्न लागिएको हो । वीपी प्रतिष्ठान स्रोतका अनुसार उपकुलपति डा. रौनियारले डा. शाहलाई उपकुलपति बनाउनका लागि चार करोड लिएका छन् । उपकुलपति हुनकै लागि १४ करोड बुझाएका डा. रौनियारले राजधानीका केही ‘मिटरवाला’ व्यक्तिलाई पैसा तिर्न डा. शाहबाट अहिले नै दुई करोड लिईसकेका छन् । ‘प्रतिष्ठानको अस्पताल निर्देशक हुन योग्य व्यक्ति हुँदा हुँदै उपकुलपति ज्यूले पैसाका लागि कारबाहीमा परेको व्यक्तिलाई बोक्नुभयो ।’ प्रतिष्ठानका एक कर्मचारीले बताए । यता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षका लागि स्वास्थ्यमन्त्रीका दाहिने हात भनेर चिनिने डा. गोपी अर्याललाई नियुक्ति दिने मन्त्री थापाको मनसाय रहेको छ ।
काम चलाउ सरकार भएको अवस्था र दोस्रो चरणको निर्वाचन आचार संहिता लागू भएको अवस्थामा कामचलाउ स्वास्थ्यमन्त्रीले मापदण्ड विपरीत धमाधम नियुक्ति गर्दै जानुमा ठुलै चलखेल भएको स्वास्थ्य मन्त्रालय स्रोत बताउँछ । ‘यस अघि लामो समय प्रतिष्ठानहरु पदाधिकारी विहिन बन्दा कसैले चासो देखाएनन् । अहिले काम चलाउ सरकार भएको र निर्वाचन आचारसंहिता लागू भएपछि धमाधम नियुक्ति गर्नुमा नियत राम्रो छैन ।’ मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए ।
निर्वाचन आयोगका एक पदाधिकारीले सरकारले निर्वाचन आचारसंहिता लागू भएपछि कुनै पनि नियुक्त गर्दा आयोगको अनुमति लिनुपर्ने कानुनी प्रावधान रहेको बताए । उनले सरकार आफैँले आचारसंहिता विपरीत काम गर्दा निर्वाचन प्रभावित हुने जिकिर गरे । ‘हामीले सरकारलाई आचारसंहिता विपरीत काम नगर्न आग्रह गरिरहेका छौँ ।’ उनले भने ।
स्वास्थ्यमन्त्रीले आचारसंहिता विपरीत र काम चलाउ सरकार भएको अवस्थामा कुनै पनि नियुक्ति गर्न नपाउने नेकपा एमालेका सचिव योगेश भट्टराईले बताए । उनले काम चलाउ सरकारले नीति नियम विपरीत कसैलाई नियुक्त गरे गलत हुने जिकिर गरे । ‘काम चलाउ सरकार भनेको दुई चार दिनका लागि हो, यस्तो अवस्थामा कुनै पनि नितीगत निर्णय गर्न मिल्दैन । फेरी निर्वाचन आचारसंहिताले समेत कुनै पनि नियुक्ति गर्न दिँदैन ।’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *