यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय

आफ्नो मत ‘दान’ गर्नुअघि : नयाँ पत्रिका 

आज प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ७४ पदका लागि मतदाताले मतदान गर्दै छन् । यसपटकको निर्वाचनको पहिलो चरणअन्तर्गत परेका पहाडी र हिमाली जल्लाका यी निर्वाचन क्षेत्रका मतदातासमक्ष सम्पूर्ण दल र उम्मेदवारले आफ्नो विचार र परिचय दिइसकेका छन् ।

सरकारले आफ्नो सम्पूर्ण तयारी पूरा गरेको छ । अब बाँकी छ त केवल मतदाताको भूमिका । यही बिन्दु हो जसमा मतदाताको निर्णय क्षमताको परख हुन्छ ।

कसले जित्छ र हार्छ भन्ने तय हुन्छ । यससँगै आगामी पाँच वर्षका लागि देशले कस्तो राजनीतिक नेतृत्व पाउला अथवा यो अवधि स्थिर राजनीतिक वातावरणको हुनेछ कि अस्थिर र चलायमान भएर सरकार गठन–विघटनको चक्करमा फस्नेछ भन्ने विषयको निर्णय पनि आजैका १० घन्टाले गर्नेछन् ।

यसैले मतदान गर्नुअघि मतदाताले केही पक्षमा अझै गम्भीरतापूर्वक सोच्नु जरुरी छ ता कि आफ्नो मतको विवेकसम्मत प्रयोग भएको होस्, लोभ या लालच र भयबाट मुक्त भएर निर्णय गरिएको होस् ।

निर्वाचनमा मतदान गर्न गइरहेका मतदाताले आफ्नो मत कसको पक्षमा परिरहेको छ र उसले के सकारात्मक योगदान दिन सक्छ भन्नेबारे विचार पुर्‍याउनुु जरुरी ।

 हरेक परिवार र घर अहिले परिवर्तन चाहन्छ । हरेक नागरिक आफ्नै जीवनकालमा आफू र सिंगो देशको परिवर्तन चाहन्छ । हरेक किसानलाई आफ्नो अवस्था बदल्नु छ । वैदेशिक रोजगारको खोजीमा बिदेसिएको श्रमिक वर्ग आफ्नो श्रम यही देशको माटोमा प्रयोग गर्ने अवसर चाहन्छ ।

समाजको हरेक तप्का र समुदाय खासगरी लामो समय सीमान्तीकरणमा रहेको नागरिकको ठूलो हिस्सा आफूलाई सबल र सक्षम बनाउँदै राष्ट्रनिर्माणमा सहभागी हुन र त्यसको हिस्सेदारी पाउन लालायित छ ।

नेपाल जति छिटो यी अवसरको प्रयोग गर्दै धनी हुन सक्छ, त्यति नै चुनौतीहरू परास्त हुन्छन् । अवसरहरूले अँगालो हाल्छन् । निर्वाचनमा मतदान गर्न गइरहेका मतदाताले आफ्नो मत कसको पक्षमा परिरहेको छ र उसले के सकारात्मक योगदान दिन सक्छ भन्नेबारे विचार पुर्‍याउनुु जरुरी छ । मतदान गर्नुअघि सबैको ध्यान यता जाओस् ।

मताधिकार सदुपयोग गरौंः कान्तिपुर 

हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा आज (आइतबार) प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदै छ । पहिलो चरणअन्तर्गत आज हुने मतदानबाट प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सदस्य छानिनेछन् ।

मतदाताले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूलाई पनि मत हाल्नेछन् । यो र ११ दिनपछि हुने दोस्रो चरणको निर्वाचनबाट छानिएका प्रतिनिधिसँग पाँच वर्षसम्म केन्द्र र प्रदेश सञ्चालनका लागि सरकार गठन, नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन गराउने लगायतका जिम्मेवारी रहनेछन् ।

दुई चरणको निर्वाचन सफलताले जनप्रतिनिधिले बनाएको संविधानको संक्रमणकालीन चरणलाई अन्त्य गर्नेछ । मुलुक संघीय संरचनामा गइसकेपछि पहिलोपटक हुँदै गरेकाले समेत यो निर्वाचन विशेष र महत्त्वपूर्ण छ ।

केही महिनाअघि मात्र मतदाताको उत्साहपूर्ण सहभागितामा स्थानीय निर्वाचन सकिएको पृष्ठभूमिमा केन्द्र र प्रदेशको पनि निर्वाचन हुँदै छ । त्यस्तै सहभागिता यो निर्वाचनमा अपेक्षा गरिएको छ ।

पहिलो चरणको मतदान हुने जिल्लामा ३१ लाख ९१ हजार ९ सय ४५ मतदाता छन् । उनीहरूले २ सय ८२ उम्मेदवारमध्येबाट प्रतिनिधिसभाको र ४ सय २० जनाबाट ७४ जना प्रदेशसभाका सांसद छान्नेछन् ।

यो निर्वाचनबाट संविधान कार्यान्वयनको चरणमा प्रवेश गर्दै छ । निर्वाचनमा मतदान गर्नु अधिकारसमेत रहेकाले निर्वाचनमा मताधिकार प्राप्त सबैले भाग लिऔं, विवेक पु‍र्‍याएर आफूलाई सही लागेको प्रतिनिधि छानौं ।

मताधिकार प्रयोगमा नचुकौँः गोरखापत्र 

आज मतदान गर्ने दिन ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरणमा हुनेछ ।  प्रदेशका ३२ जिल्ला अन्तर्गत पर्ने ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ७४ प्रदेशसभा निर्वाचन क्षेत्रमा आज मतदान हुँदैछ ।  आजको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि २८२ र प्रदेशसभा सदस्यका लागि ४२० उम्मेदवार चुनावी मैदानमा छन् ।

कुल एक करोड २१ लाख ९८ हजार मतदातामध्ये ३१ लाख ९१ हजार ९४५ अर्थात् २६ प्रतिशत मतदाताले मतदानको अवसर पाएका छन् ।  बाँकी मतदाताले आगामी मङ्सिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले परिकल्पना गरेको संरचना अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव पहिलोपटक हुन लागेको हो ।  यो संविधान बमोजिम निर्वाचन नागरिकले ‘सार्वभौमसत्ता र राजकीयसत्ता’ प्रयोग गर्ने महìवपूर्ण अवसर पनि हो ।

२०७२ साल असोज ३ गतेदेखि लागू भएको नेपालको संविधान कार्यान्वयनको दिशामा यो निर्वाचन महìवपूर्ण छ ।

संविधानले धारा २९६ मा गरेको व्यवस्था अनुसार २०७४ माघ ७ गतेभित्र नयाँ संरचना बमोजिमका सङ्घीय र प्रादेशिक सांसद् गठन भइसक्नुपर्ने बाध्यात्मक व्यवस्था पूरा गर्ने यो निर्वाचन नै प्रमुख कदम पनि हो ।

संविधान जारी हुँदाका बखत र त्यसपछि पनि संविधान कार्यान्वयन हुनसक्दैन वा तोकिएको म्यादभित्र निर्वाचन हुन सक्दैन कि भन्ने विभिन्न वर्ग र समुदायको आशङ्का र अनुमानलाई असत्य साबित गर्दै मङ्सिर १० र २१ गते हुने निर्वाचनबाटै प्रतिनिधिसभा र प्रदेशसभा गठन हुँदैछन् । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न सबै पक्ष, राजनीतिक दल, नेता, कार्यकर्ता र नागरिकले सहयोग गरौँ ।

असन्तुष्टिको बहानामा मताधिकार प्रयोग नगर्दा नागरिकले आफ्नो कर्तव्य पूरा गरेको ठहर्दैन, बरु आफूलाई सही लागेको उम्मेदवार र पार्टीलाई मत दिएर मात्रै आफ्नो, समुदायको र मुलुकको हित हुन्छ, विवेकपूर्ण तरिकाले आफ्नो मताधिकार प्रयोग गर्न नचुकौँ ।

राजनीतिक कोसेढुंगाः अन्नपुर्ण पोष्ट

आशा, आशंका र विभिन्न राजनीतिक उतारचढाव हुँदाहुँदै प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा आइतबार (आज) सम्पन्न हुँदैछ ।

११ दिनपछि दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि ३ असोज २०७२ मा जारी संघीय गणतान्त्रिक नेपालको संविधानको सफलतापूर्वक पूर्ण कार्यान्वयन भएको मानिनेछ ।

त्यसो त जारी मितिबाटै संविधानको कार्यान्वयन प्रारम्भ भइसकेको हो । यद्यपि केही असन्तुष्टि र त्यसलाई सम्बोधन गर्न उठेको संविधान संशोधनको मुद्दाले नयाँ संविधानप्रति आम स्वीकारोक्ति कायम हुन समय लाग्यो ।

यतिबेला सबै राजनीतिक शक्ति उत्साहका साथ चुनावी उत्सवमा हेलिएका छन् । आगामी ७ माघभित्र स्थानीय, प्रदेश र केन्द्र तिनै तहको निर्वाचन सम्पन्न हुन नसक्दा संवैधानिक संकट आउने जोखिम थियो ।

चुनाव हुन नसक्ने आशंका र हुन नदिने कुत्सित नियतलाई चिर्दै तिनै तहका निर्वाचन हुने भएको छ । स्थानीय हुँदै प्रदेश र केन्द्रका यी निर्वाचन नेपाली राजनीतिक इतिहासमा कोसेढुंगा सावित भएका छन् ।

०७४ साल चुनाव वर्ष भएको छ । वर्षको प्रारम्भदेखि नै स्थानीय तह हुँदै अहिले प्रदेश र केन्द्रको चुनावमा मुलुक होमिएको छ । यो ठूलो राजनीतिक उपलब्धि हो । चुनावसँगै मुलुकले एउटा लामो राजनीतिक संक्रमणलाई बिट मार्दैछ ।

चुनावपछिका सत्ता राजनीतिका प्रक्रियामा नयाँ खाले अप्ठेरा र चुनौती आउलान्, यद्यपि अहिले चुनावअघि जुन संशय र आशंका थियो, त्यसलाई चिरेर यी निर्वाचनहरूले एउटा लामो संक्रमणलाई पार गरेका छन् । त्यस अर्थमा पनि यो चुनाव अर्थपूर्ण छ, महत्वपूर्ण छ ।

त्यसकारण आजको यो चुनावलाई ऐतिहासिक राजनीतिक उपलब्धिका रूपमा ग्रहण गर्दै आम जनताले विवेकपूर्ण ढंगले आफ्नो अभिमत जाहेर गर्नुपर्छ । चुनावी राजनीति विकृत हुँदै गएको यो अवस्थामा योग्य, समाज र राष्ट्रप्रति प्रतिबद्ध नेताको छनोट गर्न मतदाताको विवेकको सही प्रयोग आवश्यक छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *