‘अस्ट्रेलिया’ अध्ययन प्रक्रियाका बारेमा मेट्स एजूकेसनका कँडेल सँगकाे कुराकानी
“
मंसिर ८, काठमाडाैं । नेपाली विद्यार्थीहरू पछिल्लो समय अध्ययनका लागि विदेश जाने प्रवृति निकै बढेको छ । संसारका धेरै देशहरूमा नेपाली विद्यार्थीहरू अध्ययनरत छन् । विदेशमा गएर अध्ययन गरेका नेपालीहरुमध्ये कतिपय स्वदेश फर्केर राम्रो प्रगति गरेका छन् भने कतिपयले उतै कामको खोजी गरी सहज प्रकारको जीवनयापन गरिरहेका छन् । विदेश पढ्न चाहने विद्यार्थीहरुका लागि अस्ट्रेलिया मुख्य आकर्षणको केन्द्र बन्ने गरेको छ । अध्ययनका लागि अस्ट्रेलियामा जान चाहने विद्यार्थीहरुका लागि के कस्तो प्रक्रिया अपनाउनु पर्छ, त्यहाँको पढाइको अवस्था के छ, अस्ट्रेलिया पढेका विद्यार्थीहरुका लागि के कस्तो अवसर छ ? आदी जस्ता विषयमा हामीले मेट्स एजुकेशन प्रा लि का अपरेशन म्यानेजर अन्जन कँडेलसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, लामो समय देखि नेपाली विद्यार्थीलाई अस्ट्रेलिया पठाउँदै आएका कँडेल सँग गरिएको कुराकानी ।
यहाँहरुले कहिले देखि नेपाली विद्यार्थीलाई विदेश पठाउन थाल्नु भएको हो ?
हामी सन् २००३/०४ देखि यो कन्सलटेन्सि फिल्डमा छौँ भने सन् २००७ मा ‘मेट्स एजुकेशन’ को स्थापना गरी यस कम्पनी मार्फत सेवा प्रदान गर्दै आएका हौँ । हामीले खास गरी अस्ट्रेलियामा गई उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुका लागि सेवा प्रदान गर्दै आएका छौँ ।
यहाँहरुले अस्ट्रेलियामा सञ्चालन गरेको कलेज कस्तो प्रकारको कलेज हो ?
हाम्रो समूह मार्फत अस्ट्रेलियामा सञ्चालन भएको कलेजको नाम क्विन्सफोर्ड कलेज हो । यसको मुख्य कार्यालय अस्ट्रेलियाको व्रिसवेनमा छ । यसका अरू क्याम्पसहरु सिड्नी र एडिलेडमा छ । हाम्रो कलेजमा खास गरी कक्षा १२ पास गरेर जाने विद्यार्थीहरुका लागि उपयुक्त विषयहरू डिप्लोमा तहमा पढाईन्छ । ती प्रोग्राम पुरा गरेपछि विद्यार्थीले व्याचलरमा भर्ना हुन पाउँछन् । हामीले एकाउन्टीङ्ग, विजनेश, होटेल म्यानेजमेन्ट, ईन्फरमेसन टेक्नोलोजी, नर्शिङ्ग आदी प्रोगाम सञ्चालन गरेका छौँ ।
केही समय अगाडी अस्ट्रेलियामा एउटा कलेज नै बन्द भयो, यसरी त्यहाँ पठाएका विद्यार्थीहरूले धोका नपाउलान् भन्ने के छ ?
हो, केही समय अघि एउटा ठुलो कलेज बन्द भएको थियो । त्यहाँ करिब १५ हजार विद्यार्थीहरू पढ्थे । अस्ट्रेलियामा विदेशी विद्यार्थी लगेर पढाउनका लागी सरकारसँग अनुमति लिनुपर्ने हुन्छ । कलेजले सरकारको सर्त अनुसारका विषय, भौतिक संरचना लगायत सबै सर्तहरू पालना गर्नुपर्छ । तर, त्यहाँ कुनै कारण बस कलेज बन्द भए पनि विद्यार्थीले तिरेको शुल्कको पूर्ण सुरक्षा हुन्छ । विद्यार्थीहरूले अन्य कलेज स्थानान्तरण गर्ने वा पढ्न बाकी विषयको लागी तिरेको शुल्क फिर्ता लिई अन्य कलेजमा गएर पढ्न सक्छन् ।
नेपाली विद्यार्थीहरू अस्ट्रेलिया किन जान्छन् ?
विद्यार्थीहरू विदेश जान चाहने विभिन्न कारण हुन सक्छन् । तर, हामीले पठाउने भनेको चाहिँ पढ्नकै लागि हो । कन्सल्टेन्सी मार्फत जाने विद्यार्थीहरू पढ्नका लागि नै जान्छन् । नेपालबाट मात्र होइन, त्यहाँ विश्वका धेरै देशबाट विद्यार्थी पढ्नको लागि जाने गर्छन् । तर, कतिपय विद्यार्थीहरू लहै लहैमा जान खोजेका देखिन्छन् । आफ्ना साथीभाई गए, म पनि जान्छु भन्ने विद्यार्थी धेरै देखिन्छन् । विद्यार्थीहरूले अस्ट्रेलियाको नियमहरू, त्यहाँ जाने प्रक्रिया सबै बुझेर मात्र जानुपर्छ । त्यसरी बुझाउने काम हामीले गर्दै आएका छौ ।
नेपाल र अस्ट्रेलियाको शिक्षामा के फरक छ ?
हामी कहाँ सैद्धान्तिक पढाई बढी हुने गरेको छ । तर, त्यहाँको शिक्षा बढी व्यवहारिक छ । रटेर पढ्ने र वर्षमा एक पटक परीक्षा दिएर पास हुने भन्दा पनि व्यवहारिक प्रकारको पढाई त्यहाँ हुन्छ ।
नेपालमा पढिरहेका विद्यार्थीहरू त्यहाँ गएर पढ्दा त गार्हाे होला नि ?
हाल नेपालमा पनि धेरै कलेजमा सेमेस्टर प्रणाली सुरु भइसकेको छ । एसाईन्मेन्ट बेस पढाई भएकाले वा नेपालमै बसेर विदेशी डिग्री लिइरहेकाहरुका लागि त्यति गाह्रो छैन । तर, वर्षको एक पटक ईक्जाम दिनेहरुका लागि सिस्टम बुझ्न अलि समय लाग्न सक्छ । त्यहाँको सिस्टम बुझ्न २।४ महिना लाग्न सक्छ ।
नेपाली विद्यार्थीहरूले कुन–कुन विषय पढ्दा आर्थिक रूपमा पनि सहज हुन सक्छ ?
अस्ट्रेलिया पढ्न जाने विद्यार्थीहरूले कुन विषय छनौट गर्ने भन्दा पनि अहिलेको उसको डिग्री के हो, त्यससँग सम्बन्धित प्रोग्राम छानेर पढ्न पाउँछन् । अहिले विद्यार्थीले कुन तहको डिग्री हासिल गरेको छ, त्यो सँग सम्बन्धित प्रोग्रामहरु त्यो डिग्री भन्दा माथिल्लो तहको प्रोग्राम छनौट गरेको छ कि छैन, सबै हेर्ने गर्दछ । त्यस कारण त्यहाँ कुन विषय पढ्ने भन्दा पनि विद्यार्थीले आफ्नो अहिलेको विषयसँग सम्बन्धित प्रोग्राम छानेर पढ्नुपर्छ ।
पछिल्लो समयमा कस्तो प्रवृति देखिन्छ भने कक्षा १२ पास गर्नासाथ विद्यार्थीहरू अस्ट्रेलिया जान चाहन्छन्, के उनीहरूका लागि त्यहाँ गएर पढ्न सहज हुन सक्छ ?
सामान्यतया विद्यार्थीहरू आफ्ना धेरै साथी विदेश पढ्न गएको देखेर त्यतापट्टी आकर्षित भएका हुन सक्छन् । तर, सामान्यतया नेपालदेखि त्यो देशसम्म गएर पढ्ने चाहना राख्दा यदि परिवारले आर्थिक रूपमा खर्च धान्न सक्दैन भने चाहिँ गार्हाे हुन सक्छ । त्यहाँको सरकारले पार्ट टाइम जब गर्ने अनुमति त दिन्छ, तर त्यहाँको महंगाईका कारण असजिलो हुन सक्छ । विद्यार्थीले अस्ट्रेलियामा वर्षको आठ महिना पढ्छन् । वर्षको चार महिना विद्यार्थीका लागि लामो बिदा हुन्छ, त्यो अवधिमा उसले फुल टाइम जब गर्न सक्छ । त्यति बेला काम गरेर उसले पकेट मनी जम्मा गर्न सक्छ ।
१७/१८ वर्षका विद्यार्थी त्यहाँ गएर आफूलाई कसरी अगाडी बढाउन सक्छन् त ?
यदि विद्यार्थीसँग कुनै सिप छ, अङ्ग्रेजी राम्रो छ भने उसले आफूलाई स्थापित गर्न सक्छ । हातमा सिप लिएर जाने विद्यार्थीलाई त्यति गार्हाे हुँदैन । तर, कुनै सिप बिना नै जाँदा भने पक्कै गार्हाे हुन्छ ।
त्यहाँको कानुनका बारेमा पनि केही बताइदिनुहोस् न ?
भिसाको सर्त विद्यार्थीले पालना गर्नुपर्छ । पुर्णकालिन विद्यार्थी हुनुपर्छ । कम्तीमा ८० प्रतिशत कक्षामा उपस्थित हुनैपर्छ । कम्तीमा पास हुनको लागी ५० प्रतिशत अङ्क ल्याउनु पर्छ । विदेशी विद्यार्थीले ईन्सुरेन्स गरेकै हुनुपर्छ । कामको हकमा पार्ट टाइम (८० घण्टा प्रति महिना) पाइन्छ । लमो बिदामा फुल टाइम काम गर्न पाउँछन् आदी ।
विद्यार्थीले पढाई सकेर के गर्न सक्छन् ?
कुनै पनि विद्यार्थीलाई ब्याचलर वा मास्टर्स (कोर्शवर्क) पास गरेपछि दुई वर्षको पोस्ट स्टडी वर्क भिसा दिइन्छ । मास्टर्स (रिसर्च) सक्ने विद्यार्थीका लागि तीन वर्ष र पिएचडी गर्ने विद्यार्थीका लागि चार वर्षे पोस्ट स्टडी वर्क भिसा दिइन्छ ।
“