मौन अवधिमा निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न निर्वाचन आयोगको आग्रह
“
मङ्सिर ८, काठमाडाैं । निर्वाचन आयोगले आइतबार पहिलो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहित पूर्ण पालना गरिदिन संचारकर्मीहरुसँग आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मौन अवधिमा निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न सम्पूर्ण संचारकर्मीहरुसँग आग्रह गरेका हुन ।
शुक्रवार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै यादवले मतदातालाई आफ्नो विवेक प्रयोग गरेर स्वतन्त्रता पूर्वक मतदान गर्ने वातावरण बनाई दिन पनि संचारकर्मीहरुको ध्यानाकर्षण गराए । आइतबार ३२ वटा जिल्लामा हुने निर्वाचनका लागि बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले मौन अवधिमा मतदातालाई प्रभावित तुल्याउने कुनै पनि गतिविधि नगर्न सबै उम्मेदवार, राजनीतिक दल र सरकारलाई सचेत गराउँदै आएको छ ।
निर्वाचन आयोगले मतदातालाई सहजतापूर्वक मतदान गर्न पाउने गरी मतदान स्थलको व्यवस्था गर्न पनि सम्बन्धित मतदान अधिकृतलाई सचेत गराएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले मतदातालाई मतदान गर्न सहज हुने गरी मतदान स्थलको व्यवस्था गर्न सम्बन्धित मतदान अधिकृतहरुलाई सचेत गराएकाे हाे । मत पेटिकासहित सबै मतदान अधिकृतहरु सम्बन्धित मतदान केन्द्रमा पुगी सकेका छन् ।
प्रमुख निर्वाचन आयुक्त यादवले आजैबाट मतदात परिचय पत्र वितरणको काम पनि सुरु गरिएको जानकारी दिए । निर्वाचन आयोगले शुक्रवार र शनिवार सम्बन्धित मतदान केन्द्रबाटै मतदाता परिचय पत्र वितरण गर्नेछ ।
“