महिला विश्वकप छनाेट अन्तरगत नेपाल पराजित
“
मङ्सिर ७, काठमाडौँ । आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल पराजित भएकाे छ । विश्वकप छनाेट अन्तरगत नेपाल युएईसँग ५ रनले पराजित भएको हो ।
सामान्य लक्ष्य पछ्याएकाे नेपाल फितलाे व्याटिङका कारण पराजित हुन पुगेकाे हाे । नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ७४ रन मात्रै बनाउन सकेकाे थियाे । कुनै पनि खेलाडी टिकेर खेल्न नसक्दा नेपालले आफ्नो महत्त्वपूर्ण अङ्क युएईलाई सुम्पेको हो ।
नेपालका लागि रितु कनौजियाले नट आउट २२ रन बनाइन् । त्यस्तै, नेपालका लागि ज्योति पाण्डेले १२ र काजल श्रेष्ठले ८ रन बनाइन् । नेपाली खेलाडीलाई सस्तैमा आउट गराउनका लागि युएईका निशा अलि र हमरिया तस्निमले समान २–२ विकेट लिए ।
यस अघि बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७९ बनाएको थियो ।
युएईको १० रन हुँदा ४ विकेट झरेको थियो । पहिलो ओभरमा नै कप्तान रुविना क्षेत्रीले युएईको १ रन हुँदा विकेट झारेकी थिइन् । रुविनाले शुभा भेन्कतरामनलाई शून्य रनमा आउट गरेकी थिइन् ।
युएईको ८ रन हुँदा कप्तान रुविनाले नै अर्को विकेट लिएकी थिइन । त्यसपछि बलिङमा आएकी रितु कनौंजियाले आफ्नो दोस्रो ओभरमा २ विकेट झार्दै युएईलाई दबाब दिएकी थिइन् ।
युएईका लागि नतासा चरियथले २३, इसा रोहितले २२ र निशा अलिले १७ रन बनाएका थिए । नेपालका लागि कप्तान रुविना क्षेत्रीले ३, रितु कर्नौजियाले २ र नेरी थापाले १ विकेट लिइन् ।
हारपछि नेपालको शीर्ष २ मा पर्ने सम्भावना निकै कमजोर भएको छ । हारसँगै नेपालको ३ खेलबाट २ रहेको छ । अङ्क तालिकामा नेपाल पाचौं स्थानमा छ । यस्तै युएई भने ४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । छनोटमा थाइल्याण्ड र हङकङ समान ५ अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन् । यस्तै २ अङ्क जोडेको मलेसिया चौथो स्थानमा रहेको छ । दुवै खेल हारेको चीन अंकविहीन रहेर पुछारमा रहेको छ ।
नेपालले आफ्नो चौथो खेलमा मलेसियासँग शुक्रवार र अन्तिम खेल चीनसँग आइतबार खेल्नेछ । राउण्ड रोविनको आधारमा हुने खेलमा लिगको शीर्ष दुई टोलीले आगामी जुनमा नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफयर्समा छनोट हुनेछ । ग्लोबल क्वालिफयर्सको शीर्ष दुई टोलीले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।
“