‘पुत्र प्रकाश आफ्नो जीवनमा कहिल्यै किशोर हुन पाएनन्’, प्रचण्ड
“
मङ्सिर ७ काठमाडौँ । पुत्र वियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरा प्रकाशको सम्झनामा निकै भावुक मन्तव्य दिएका छन् । प्रचण्ड निवास लाजिम्पाटमा आयोजित श्रद्धाञ्जली सभामा उनले लिखित भाषण दिएका हुन् । उनको भाषणलाई माओवादी केन्द्रका एक नेताले वाचन गरेर सुनाएका थिए ।
‘पीडामा साथ दिनु , खुसीमा साथ दिनुभन्दा धेरै महत्त्व राख्दछ । तपाईँहरूको साथले हामीलाई एक मात्र पुत्रको वियोगको पीडा सहन र पीडासँग लड्न धेरै शक्ति मिलेको छ, उनले भनेका छन्,म पूर्णकालिन राजनीतिमा लागेको तीन वर्षपछि २०३८ सालमा प्रकाशको जन्म भयो । म भूमिगत राजनीतिमा थिएँ , कहिलेकाँही मात्रै घर आउँथे । उनी निरन्तर सामाजिक आर्थिक मनोवैज्ञानिक असुरक्षँबीच हुर्किएँ । त्यो पनि राती अबेला आउँथे रविहान झिसमिसेमै हिडिहाल्थेँ । सुरक्षाको कारण एकपछि अर्को स्कुल फेर्दा फेर्दै उनको पढाई लथालिंग भयो । अरू थुप्रै नेपाली युवा जस्तै कलिलैमा हतियार बोकेर क्रान्ति र नेतृत्वको रक्षाका लागि उनी पूर्णकालिन कार्यकर्ता भए ।’
पुत्र दाहाल आफ्नो जीवनमा कहिल्यै किशोर हुन नपाएको उनको सम्झना छ ।
‘अहिले सम्झँदा यस्तो लाग्छ । उनी कहिल्यै किशोर हुन पाएनन् । बालकबाट सिधै युवा भए । सक्रिय राजनीतिक जीवनका कारण लालन पालनमा मैले बाबुका रूपमा न्याय गरिन, गर्न सकिनँ,’ भावुक मन्तव्यमा उनले भनेका छन्,‘केहीले कमरेड प्रकाशलाई केवल मेरो छोरा मात्र ठाने त्यसैमा उनको व्यक्तित्व सीमित गर्न खोजे । तर, उनी प्रविधिमा सङ्गठनमा र व्यवस्थापनमा अत्यन्त पोख्त थिए । म प्रधानमन्त्री हुँदा त्यसपछि पनि मेरा निजी सचिवालयमा उनी मेरो छोरो भएका कारण होइन, त्यो भूमिकाका लागि आवश्यक योग्यता र क्षमता भएका कारण जिम्मेवारीमा थिए । उनी अत्यन्त मिडिया मैत्री थिए । प्रविधिमा उनको रुचीमात्रै थिएन दख्खल पनि थियो । व्यवस्थापनमा उनको दक्षता त यहाँहरु सबैले देख्नु भएकै हो । सानैदेखि उनी मेरालागि छोरा भन्दा पनि बढी सहकर्मी र सहयोद्धा थिए । म इमानदारीता पूर्वक भन्छु प्रधानमन्त्रीका रूपमा मेरो दोस्रो कार्यकाल उनको सहयोगबिना सफल थिएन ।’
अध्यक्ष प्रचण्डले पुत्र वियोगमा आफूलाई ठुलो शोकमा रहेको र देश भित्र र बाहिरबाट ठुलो समवेदना पाएको समेत बताए ।
‘पुत्र वियोग मान्छेको जीवनमा सबैभन्दा ठुलो शोक मानिन्छ र रहेछ पनि । शोकको यो घडीमा हामीले देश मात्रै होइन, विश्वभरीबाटै हर्दिक समवेदना र सान्त्वना पायौँ । नेपालको सबै राजनीतिक दल र तिनका नेतृत्वले हामीलई दिएको समवेदना र ढाडसप्रति हामी ऋणी छौँ,’ प्रचण्डले मन्तव्यमा भनेका छन्,‘हाम्रा छिमेकी देश चिन र भारतबाट म र मेरो परिवारले निकै छिटो प्रेम पूर्वक समवेदना पायो । युरोप अमेरिका अस्ट्रेलिया अफ्रिका र एसियाका विभिन्न देश अनि संसारभरका थुप्रै कम्युनिस्ट पार्टीले यो शोकमा हाम्रो परिवार प्रति ऐक्यवद्धता र सहानुभूति देखाए । विभिन्न पेशागत व्यावसायिक र सामाजिक सङ्घ संस्थाले यो शोकमा हामीलाई सान्त्वना दिए । मङ्सिर ३ गते नर्भिक अस्पतालदेखि पेरिसडाँडा र आर्यघाटसम्म स्वतःस्फूर्त रूपमा उर्लिएको जनसागरलाई मैले क. प्रकाशको छोटो उमेरमा कमाएको प्रतिष्ठाको प्रमाण ठानेको छु । उनले सबै देशका छोरा छोरीको अनुहारमा प्रकाश दाहालको छायाँ देखेको समेत उल्लेख गरे ।
‘दश वर्ष लामो नेपाली क्रान्तिकालमा हामीले त्याग, तपस्या र बलिदानका धेरै किर्तिमान देख्यौँ । जीवनको लम्बाइ होइन उचाइ धेरै हुनुपर्छ’ भन्ने मान्यता थियो र छ । कमरेड प्रकाशको मृत्यु पछि नेवि सङ्घ, अनेरास्ववियु, अखिल क्रान्तिकारीसँगै युवा संगठनहरुले पनि म र मेरो परिवारलाई संयुक्त सान्त्वना दिए र हामी सबै तपाईँका छोराछोरी हौँ’ भनेर हाम्रो आत्मबल बढाए,’ उनले भनेका छन्,‘प्रकाश अब छैनन् । तर, देशका हरेक युवा युवतीमा हामीले प्रकाशलाई देखेका छौँ । यो देशका सबै युवा युवती हाम्रा छोरा प्रकाश हुन् र तिनको सम्मुनत भविष्यका लागि हामीले अझ धेरै मेहनत गर्नुपर्छ भन्ने निष्कर्षमा हामी अझ दृढ भएका छौँ । हो हामी शोकाकुल छौँ । तर, देश र समाजप्रतिको दायित्व यो शोकमा हामीले अझै बढी महसुस गरेका छौँ ।’
“