जिम्बाब्वेका राष्ट्रपति मुगाबेको दिए राजीनामा

एजेन्सी । जिम्बाब्वेको संसद्का सभामुखले ९३ वर्षीय राष्ट्रपति रोबर्ट मुगाबेले आफ्नो पदबाट राजीनामा दिएको जनाएका छन् । त्यससँगै उनी विरुद्ध लगाइएको महाभियोगको प्रक्रिया स्थगित गरिएको छ ।

जिम्बाब्वे स्वतन्त्र भएयता गत ३७ वर्षदेखि उनले मुलुकको नेतृत्व गरिरहेका थिए । गत साता सेनाले सत्ता नियन्त्रणमा लिएपछि पनि पदबाट राजीनामा दिन नमानेका राष्ट्रपति रोबर्ट मुगाबेले मङ्गलवार अपरान्ह पदबाट राजीनामा दिएका हुन् ।

जिम्बाब्वेको संसद्का सभामुखले उनको राजीनामा पत्र सदनमा पढेर सुनाएपछि सांसदहरुले खुसीयाली मनाएका थिए । राजधानी हरारेका सडकहरुमा हजारौँ मानिसहरूले नाचगान गरिरहेका छन् ।

यसअघि संसद्‍मा दर्ता गरिएको महाभियोग प्रस्तावमा उनले आफ्नी श्रीमतीलाई असंवैधानिक ढङ्गले शक्ति हडप्न दिएको आरोप लगाइएको थियो । अज्ञातस्थलबाट बोल्दै मङ्गलवार जिम्बाब्वेका पूर्व उपराष्ट्रपति एमरसन मनाङगाग्वाले राष्ट्रपति मुगाबेलाई तत्काल राजीनामा गर्न भनेका थिए ।

मनाङगाग्वालाई पदबाट हटाइएपछि गत साता सेनाले सत्ता नियन्त्रणमा लिएको थियो । मनाङगाग्वाले आफूविरुद्ध हत्याको षड्यन्त्र भएका कारण दुई साता अगाडि आफूले देश छाडेको बताएका थिए । आफ्नो सुरक्षाबारे आश्वस्त नभएसम्म नफर्कने उनले बताएका छन् ।

गत आइतबार जिम्बाब्वेको सत्तारुढ जानु-पीएफ पार्टीले आफ्नो दलका संस्थापक नेता एवं राष्ट्रपति मुगाबेलाई पार्टीको नेतृत्वबाट हटाउने पक्षमा मतदान गरेको थियो ।मुगाबेको स्थानमा उनले दुई साता अघि पदमुक्त गरेका उपराष्ट्रपति एमरसन मनाङग्याग्वालाई पार्टीको नयाँ नेता चयन गरिएको थियो ।

मुगाबेलाई हटाउने पक्षमा मतदान भएपछि दलका प्रतिनिधिहरूले नाचगान गर्दै खुसीयाली मनाएका थिए । मुगाबेले उपराष्ट्रपति मनाङग्याग्वालाई पदबाट हटाएलगत्तै जिम्बाब्वेमा वर्तमान राजनीतिक सङ्कट सुरु भएको हो ।

सत्तारुढ जानु-पीएफ पार्टीले मुगाबेले सत्ताको नेतृत्व सुम्पिन चाहेका उनकी श्रीमती ग्रेस मुगाबे र मुगाबेको गुटमा रहेका अन्य वरिष्ठ नेताहरूलाई पनि पार्टीबाट निकाल्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *