एजेण्डा पास नहुँदा उपकूलपतिको कराेडौं कमाउने दाउ असफल

कार्तिक ३०, काठमाडौँ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितता छानबिन गर्न समिति गठन गरिएको छ । प्रतिष्ठानको ४० औँ सिनेटले प्रतिष्ठानका उपकूलपतिले गरेका एकल निर्णयबाट प्रतिष्ठानको छवि समेत धुमिल भएको भन्दै उपकरण खरिद प्रक्रिया र भवनको लागत स्टिमेट लगायत अन्य विषयमा भएको अनियमिततामा स्वास्थ्य सचिव डा. किरण रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

आज स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यमन्त्री दीपक बोहराको अध्यक्षतामा बसेको सिनेटले प्रतिष्ठानमा निर्माणाधिन मातृशिशु भवन, कार्डियोलोजी सेन्टर र अंकोलोजी भवन, तथा एनएफआरएस सम्बन्धमा भएको अनियमितता छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको एक सदस्यले बताए । सो समितिले मातृशिशु भवन, कार्डियोलोजी सेन्टर र अंकोलोजी भवन निर्माणमा के के भइरहेको छ ? विस्तृतमा अध्ययन गरेर सिनेटलाई प्रतिवेदन बुझाउने छ । सिनेटमा उपकुलपति डा. राजकुमार रौनियारले एकल निर्णयबाट गरेका सबै कामको विषयमा छानबिन हुनुपर्ने सिनेटरहरुले माग गरेका थिए । ‘उपकूलपतिले गरेका कतिपय कामका विषयमा चर्चाभयो, धेरै हल्ला खल्ला भएपछि मन्त्री ज्यूले अहिलेलाई ठोस निर्णय नगरी बैठक टुङ्ग्याउन भन्नु भयो ।’ एक सदस्यले भने ।

प्रतिष्ठानका सिनेटरबाटै उपकूलपतिले गरेका कामहरुका विषयमा आलोचना भएपछि सिनेट अध्यक्ष तथा प्रतिष्ठानका सहकूलपति मन्त्री बोहराले स्वास्थ्य सचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्न लगाएको एक सदस्यले मकालु खबरलाई बताए ।

सिनेट सदस्यका अनुसार सिनेटले आ.व. ०७२/०७३ तथा ०७३/०७४ को बजेट समेत पारित गर्न सकेन । दुई आ.व.मा प्रतिष्ठानमा भएका टेण्डर, उपकरण खरिद प्रक्रियामा व्यापक अनियमितता भएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको अवस्थामा सिनेटले बजेट पास गर्दा भोलि विवाद हुने देखेपछि सहकूलपति मन्त्री बोहराले ‘यो विषय अहिले थाँती राखौं पछि हेरौला’ भनेको सिनेटमा सहभागी एक सदस्यले बताए ।

सिनेटले सेवा निवृत्त शिक्षक कर्मचारीलाई दसैँ खर्च, सिनियर अनमी पदनाम सिर्जना, निर्वाह भत्ता १,५०० र, महंगी भत्ता १,००० तथा शतप्रतिशत आकर्षण भत्ता, Intern stipend १,००० दिने कुरा सदर गरेको छ । सिनेटले रजिष्ट्रारको तलबमा २,५०० वृद्वि गर्ने विषय पनि सदर गरेको छ । यता निर्वाह भत्ता र आकर्षण भत्ता नपाउने शिक्षक कर्मचारीको न्यूनतम २,५०० गर्ने विषयमा अन्यौल रहेको सिनेटमा सहभागी एक सदस्यले जानकारी दिए । सिनेटका एक सदस्यका अनुसार सो प्रस्ताव अघि सार्दा मन्त्री बोहराले ‘हुन्छ अघि बढौं’ मात्र भनेकोले २,५०० दिने नदिने अन्यौलता छाएको छ । सिनेटले विराटचोक स्थित सुवर्ण फर्मास्युटिकलमा सबै शिक्षक कर्मचारीलाई १५ प्रतिशत शेयर दिने निर्णय गरेको छ । भने, ICU, Dialysis, Emergency  सेवा विस्तार गर्न सहमति जनाएको छ ।

सिनेटले कार्डियोलोजी, अंकोलोजी र एमसिएच भवनका विषयमा कुनै निर्णय नगर्दा प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियारलाई धक्का लागेको छ । यसै सिनेटबाट बजेट पास गराएर काम अघि बढाउने अनि ठेकेदारबाट करोडौं कमिसन खाने डा. रौनियारको योजना मन्त्री बोहराले असफल पारिदिए ।

डा. रौनियारले सिनेट सदस्यहरूलाई यस पटक कुनै एजेण्डाका विषयमा जानकारी नै दिएका थिएनन् । एक सदस्यका अनुसार विगतमा विषयवस्तु सहित एक दिन अघि नै एजेण्डाहरु प्रस्तुत गर्ने गरिएपनि यस पटक डा. रौनियारले आफ्नो योजना असफल हुन्छ भनेर कुनै पनि सदस्यलाई एजेण्डा नदिइकन आफैँले एकै पटक बैठकमा प्रस्तुत गरेका थिए ।

मकालु खबरले हिजो (बुधवार) नै प्रतिष्ठानको सिनेटमा प्रस्तुत हुन लागेको सम्पूर्ण एजेण्डाको फोटो सहित प्रकाशित गरेको थियो । यसरी आफुसँगमात्र रहेको एजेण्डा ‘कसरी मिडियामा गयो ?’ भन्दै डा. रौनियार आफ्ना नजिकका सिनेटरसँग जंगिएका थिए ।

 याे पनि हेर्नुहाेस्  http://www.makalukhabar.com/?p=29219

आजको सिनेटले अर्को बैठक एक महिनापछि नै बस्ने तय गरे पनि प्रनिनिधिसभा र प्रदेश सभा निर्वाचन भईसक्ने तथा नयाँ सरकार आउने भएकोले नयाँ सरकारका स्वास्थ्यमन्त्रीले प्रतिष्ठानका विवादित विषयमा के गर्लान् ! अहिले उपकूलपति डा. रौनियारको टाउको दुखाई भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *