गन्न नसकिने गरी च्यातियो ९० मत

मतगणना स्थलनजिक एमालेको धर्ना कार्यक्रममा जम्मा भएका एमालेका कार्यकर्ता ।  तस्विरः किशोर खनाल

किशोर खनाल भरतपुर । भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा जम्मा ९० मत गन्न नसकिने गरी च्यातिएको अवस्थामा फेला परेको छ । भरतपुर महानगरपालिकाको वडा नं. १९ मा मतगणना चलिरहँदा आइतबार मध्यरातमा च्यातेर नोक्सान भएको मतपत्रहरुको मतदान अधिकृतले सबै प्रतिनिधिहरूलाई राखेर शील गरिएको मतपत्रको पोका खोलेर हेर्दा ९० मत गन्न नसकिने गरी च्यातिएको अवस्थामा थियो । निर्वाचन आयोगको निर्देशनमा भरतपुरका मुख्य निर्वाचन अधिकृतले बिहीबार उम्मेदवारहरु, दलका नेताहरू र उनीहरूका प्रतिनिधिहरूलाई राखेर मतपत्रको अवस्थाबारे ज्ञान लिएको थियो ।
वडा नं. १९ मा दुई हजार ८९७ मत खसेको मध्ये ९० मत गन्न नसकिने अवस्थामा रहेको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए । वडा नं १९ एक हजार ८०९ मतपत्र गनेर नतिजा पनि घोषणा भएको थियो । गन्न बाँकी रहेको कुल एक हजार ८८ मतमध्ये ९९८ मत मात्रै सही अवस्थामा रहेको छ ।
निर्वाचन आयोगले भरतपुर मतदान अधिकृतलाई के कति मतपत्र च्यातिएको हो, यकिन गरेर पठाउन निर्देशन दिएको थियो । यही विवरण निर्वाचन आयोगमा बिहीबारै पठाइने निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिए ।
वडा नं. १९ को १८ सय मत गणना हुँदा मेयर पदमा एमालेका उम्मेदवार देवी ज्ञवाली र माओवादी काँग्रेस गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेणु दाहालभन्दा ७३३ मतले अगाडि थिए ।
थप मत गन्दै गर्दा मध्यरातमा माओवादीका बुथ प्रतिनिधिले मतपत्र च्यातेको एमालेको आरोप छ भने माओवादीले एमालेका प्रतिनिधि मतपत्र च्यात्न जाँदा उनीहरूलाई रोक्न खोज्दा केही मतपत्र च्यातिन पुगेको बताएको छ । मतपत्र च्यातेको आरोपमा चितवन प्रहरीले माओवादी केन्द्रका दुईजना गणना प्रतिनिधिलाई गिरफ्तार गरेको थियो । बिहीबार प्रहरीले उनीहरूलाई धरौटीमा छोडेको छ । एमालेले च्यातिएका मतपत्र अलग गरेर गणना सुरु गर्न माग गरेको छ । काँग्रेस माओवादीले वडा नं. १९ मा फेरि मतदान गर्नुपर्ने बताएका छन् । निर्वाचन आयोगले यस विषयमा के निर्णय गर्ने हो, त्यो भने आउन बाँकी रहेको छ ।
एमालेका उम्मेदवार देवी ज्ञवालीले निर्वाचन आयोगले पुनः मतगणना नै गर्छ भन्ने आफूलाई विश्वास लागेको बताए । उनले भने, ‘मलाई निर्वाचन आयोगले गलत नजिर बसाल्ने कदम चाल्लाजस्तो लाग्दैन, आयोगले पुनः गणना नै गर्छ भन्ने विश्वास छ ।’
भरतपुर महानगरपालिकाको मतगणना रोकिएको चार दिन बिते पनि यसको अवस्था के होला भन्ने अन्यौल अझै छ । च्यातिएका मतपत्रको विस्तृत विवरण सङ्कलन गर्न ४६ जनाको टोली मतगणनास्थल प्रवेश गरेर मतपत्रको शील तोडिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =