चुनावको मिति नजिकिँदै जाँदा पाल्पामा भयो अनौठो तालमेल

पाल्पा । असार १४ मा हुन लागेको दोस्रो चरणको स्थानीय तहको चुनावको मिति नजिकिँदै जाँदा पाल्पाको रिब्दीकोटमा चुनावी सरगर्मी ह्वात्तै बढेलगत्तै त्यहाँ अनौठो तालमेल भएको छ । रिब्दीकोटमा गणतन्त्रवादी माओवादी, राजावादी राप्रपा र संघीयता विरोधी जनमोर्चाबीच गठबन्धन भएको छ भने एमाले र कांग्रेस एकल प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

माओवादी, राप्रपा र जनमोर्चा गठबन्धनबाट रिब्दीकोट गाउँपालिकामा माओवादीका लिला कार्कीको प्रमुखमा उम्मेदवारी परेको छ भने सोहि गठबन्धनबाट उपप्रमुखमा राप्रपाका भोजेन्द्र बहादुर कुँवरको उम्मेदवारी परेको छ । यस्तै सोहि गठबन्धनबाट जनमोर्चाका तिलक गाहा मगरले ४ नम्बर वडामा उम्मेदवारी दिएका छन् ।
एकल प्यानलमा कांग्रेसको तर्फबाट प्रमुखका गोविन्द आचार्य र एमालेबाट नारायण जिसीले उम्मेदवारी दिएका छन् ।नेपाली कांग्रेस रिब्दीकोट ४ का बडा अध्यक्षका उम्मेदवार गोविन्द पोखरेलले गठबन्धन नै अपवित्र रहेको भन्दै कांग्रेसको जित सुनिश्चित रहेको दाबी गर्नुभयो ।
नेपाली कांग्रेस रिब्दीकोट ४ का वडा अध्यक्षका उम्मेदवार गोविन्द पोखरेलले भने ‘गणतन्त्रवादी, राजतन्त्रवादी र संघीयता विरोधीबीचको गठबन्धन आफैंमा अपवित्र गठबन्धन हो’, ‘यस्तो गठबन्धनमा जनताले विश्वास गर्दैनन् । यहाँ कांग्रेस बाहेक कसैले जित्दैन ।’
असार १४ को चुनाव नजिकिएसँगै अहिले उम्मेदवारहरुले घरदैलो अभियानदेखि प्रचारप्रसारका अभियानलाई तीब्र पारेका छन् भने आफ्नो पक्षमा माहोल रहेको भन्दै मतदाता तान्न खटिइरहेका छन् । एमाले र कांग्रेस आफूहरुको गठबन्धनपछि हतोत्साहित भएर गलत प्रचार गर्न समेत जुटेको आरोप लगाउनु भयो ।








