रुस विश्वकपकालागि यी ३२ भाग्याशाली टिम भए छनाैट

एजेन्सी । आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलमा सहभागी हुने सबै टिमको टुंगो लागेको छ । अन्तरमहादेशीय प्ले–अफ अन्तर्गत बिहीबार बिहान भएको खेलमा पेरुले न्युजिल्याण्डलाई हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेपछि आयोजक रुससहित विश्वकपमा सहभागी हुने ३२ टिमको टुंगो लागेको हो ।

यसरी छनौट हुने राष्ट्रहरूमा आयोजक रुससहित बेल्जियम, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, आइसल्याण्ड, पोल्याण्ड, पोर्चुगल, सर्बिया र स्पेन रहेका छन् । इजिप्ट, नाइजेरिया, इरान, जापान, दक्षिण कोरिया, साउदी अरेबिया, कोस्टारिका, मेक्सिको, पानामा, ब्राजिल, अर्जेन्टिना, उरुग्वे र कोलम्बियाले पनि विश्वकपमा स्थान पक्का गरिसकेका छन् । यस्तै सेनेगल, ट्यनिसिया, मोरक्को, स्वीडेन, डेनमार्क, क्रोएसिया, स्वीट्जरल्याण्ड, अस्ट्रेलिया र पेरुले पनि विश्वकपमा स्थान बनाएका छन् । रुसले आयोजकका रूपमा, २५ देशले समूहगत छनौट तथा ६ देशले प्ले अफ मार्फत विश्वकपमा स्थान बनाएका हुन् ।

युरोप
आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको समूहगत छनौटबाट ९ समूहका विजेताले रुस यात्रा तय गरेका छन् । यसरी समूह विजेता बन्दै रुस यात्रा तय गर्नेमा समूह ‘ए’ बाट फ्रान्स, समूह ‘बी’ बाट पोर्चुगल, समूह ‘सी’ बाट साबिक विजेता जर्मनी, समूह ‘डी’ बाट सर्बिया, समूह ‘ई’ बाट पोल्याण्ड, समूह ‘एफ’ बाट इंग्ल्याण्ड, समूह ‘जी’ बाट स्पेन, समूह ‘एच’ बाट बेल्जियम र समूह ‘आई’ बाट आइसल्याण्ड रहेका छन् ।

युरोपियन क्षेत्रबाट चार टिमले प्ले अफ मार्फत विश्वकपमा स्थान बनाएका हुन् । यसरी दुई लेगको प्लेअफबाट विश्वकपमा स्थान पक्का गर्नेमा स्वीट्जरल्याण्ड, क्रोएसिया, डेनमार्क र स्वीडेन रहेका छन् ।

दक्षिण अमेरिका
१० देश रहेको दक्षिण अमेरिका क्षेत्राबाट चार टिम सोझै विश्वकपमा छनौट भएका छन् । यसरी छनौट हुनेमा दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना र कोलम्बिया रहेका छन् । यस्तै यही क्षेत्रबाट पेरुले पनि विश्वकपमा स्थान पक्का गरेको छ ।

अन्तरमहादेशीय प्ले अफ अन्तर्गत बिहीबार बिहान भएको खेलमा पेरुले न्युजिल्याण्डलाई २–० ले हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेको हो । यो क्षेत्रबाट स्टार खेलाडी एलेक्स सान्चेज, अटुरो भिडाल, क्लाउडियो ब्राभोसहितको चिली भने छनौट हुन सकेन । खतरामा रहेको अर्जेन्टिनाले इक्वेडसँगको अन्तिम खेलमा मेस्सीको ह्याट्रिकसँगै विश्वकप यात्रा तय गर्न सफल भएको थियो ।

अफ्रिका
अफ्रिका क्षेत्रबाट नाइजेरिया, इजिप्ट, सेनेगल, ट्युनिसिया र मोरक्कोले स्थान पक्का गरेका छन् । अफ्रिका क्षेत्रको छनौटमा पाँच समूह रहेका थिए । हरेक समूहको शीर्ष स्थानमा रहने टोली विश्वकपमा छनौट हुन्छन् । अफ्रिका क्षेत्रमा प्ले अफको व्यवस्था छैन । अफ्रिका कप अफ नेशनसको विजेता क्यामरुन विश्वकपमा नहुने पक्का भएको छ ।

एसिया
एसियाबाट इरान, जापान, दक्षिण कोरिया, साउदी अरेबिया र अस्ट्रेलिया गरी पाँच टिम छनौट भएका छन् । इरान, जापान, दक्षिया कोरिया र साउदी अरेबियाले समूह चरणको खेलबाट विश्वकपमा स्थान बनाएका हुन् भने अस्ट्रेलियाले प्ले–अफ मार्फत । अस्ट्रेलियाले होण्डुरससँग प्ले अफमा समग्रमा ३–१ को जित निकाल्दै रुस यात्रा तय गरेको हो । विश्वकप फुटबलमा छनौटका लागि भएको पहिलो चरणको प्ले अफमा अस्ट्रेलियाले सिरियाको विश्वकप सपना तोडेको थियो ।

उत्तर तथा मध्य अमेरिका र क्यारेबियान
यो क्षेत्रबाट मेक्सिको, कोस्टारिका र पानामा गरी तीन टिमले रुसमा स्थान पक्का गरेका छन् । प्ले अफमा पुगेको होण्डुरस भने अस्ट्रेलियासँग पराजित भएर छनौट हुन सकेन । यो क्षेत्रबाट पानामा पहिलोपटक विश्वकपमा छनौट भएर इतिहास बनाउन सफल भएको हो ।

ओशिनिया
यो क्षेत्रबाट न्युजिल्याण्डले प्ले अफमा स्थान बनाएको थियो । तर, अन्तरमहादेशीय प्ले अफमा दक्षिण अमेरिकी क्षेत्रको पाँचौँ स्थानमा रहेको टोली पेरुसँग पराजित भएर विश्वकपमा छनौट हुन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 2 =