मोरङ–३ का जनताको विस्वासः ‘डा.सुनिल शर्मा माथि’
“
कार्तिक ३०,मोरङ । आगामी मङ्सिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर–३, प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार डा. सुनिल शर्मालाई भेट्ने र गफिने स्थानीयबासीहरुको मुहारमा कम्ती खुसी देखिँदैन । निर्वाचनको तयारीमा घरदैलो कार्यक्रममा डा. शर्मालाई भेट्नेहरुले भन्ने गरेका छन्–‘हामीहरू खुसी भएको नठान्नु ‘देश सुहाउदो भेष’ पाएका छौँ । त्यसैले खुसी छौँ । बाँकी जिम्मा तपाईँको है !’
हरेक दिन दर्जनौँ स्थानीय सर्वसाधारणहरु उम्मेदवार डा.सुनिल शर्माको निवास बेलबारीमा आएर गफिन्छन् । र, भन्छन्, ‘तपाईँले जित्नु भएन भने यो क्षेत्रले अब उप्रान्त विकासको मुख देख्न पाउने छैन । तपाईजस्तो अर्को होनाहार व्यक्ति पाउन जुग कुर्नुपर्नेछ ।’
चुनाव प्रचार–प्रसारका क्रममा आयोजित सभामा नपुग्दै डा. शर्मा सबैको हाई हाई भएपछि यति बेला मोरङ–३ कांग्रेसमय भएको छ ।
बाम गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका एमालेका भानुभक्त ढकाल भने डा. शर्माको चुनावी अभियान नियालेर मङ्सिर ३ गतेदेखि व्यापक रूपमा चुनावी सभा आयोजना गर्ने तयारीमा छन् । यस अघि पटक–पटक चुनाव जिताएर पठाएपनि गाउँमा मुखै देखाउन नआएका एमाले नेता प्रति आक्रोस प्रकट गर्दै स्थानीयले यस पटक नेतृत्व परिवर्तनको चाहना राखेका छन् । ‘एमालेले चुनावी सभा गर्छ हामी धान काट्न जान्छौं ।’ उनीहरू सबैको एउटै स्वर छ, ‘दाया बायाँ गरिँदैन । डा.सुनिल शर्मालाई भोट हालेरै जिताइन्छ ।’
विगतमा पटक–पटक विकासे आश्वासन पाएर कायल भएका स्थानीय जनताहरू यस पटक पार्टी र सङ्गठनभन्दा माथि उठेर आफ्नो क्षेत्रको विकास र संवृद्धिका लागि लागि पर्ने तथा स्थानीय व्यक्तिलाई नै जिताउनु पर्ने जिकिर गर्छन् ।
तिनै मध्येकी एक हुन्, मीनु राई ।
हालै मात्र नेकपा एमाले परित्याग गरेर काँग्रेसमा प्रवेश गरेकी उनी अहिलेसम्म आफ्नो भोट एमालेलाई नै खर्चेपनि एमालेले यो क्षेत्रको लागि केही नगरेकोले दिक्क लागेको बताउँछिन्–‘यसअघि म जता थिए त्यो त्यतिमै सीमित रह्यो । आज देखि म काँग्रेसको सच्चा सिपाही भएर पार्टी अनुरूप हिँड्नेछु । किनकि हामीलाई अघि बढ्न सिकाउने अभिभावक पाएका छौँ ।’ उनका घरमा श्रीमान् काँग्रेस उनी एमाले रहिछिन् । ‘अब हामी सबै काँग्रेस’ उनले भनिन् ।
०४८ सालदेखि एमालेले जित्दै आएको यो क्षेत्रमा यस पटक काँग्रेसले चारतारे झन्डा गाड्नेमा मीनु ढुक्क छिन् । मीनुलाई डा. सुनिल शर्माको सामाजिक काम र जनतासँग घुलमिल हुने बानी मनपरेको छ । ‘उहाँले झुपडीमा बिरामी भएका सयौँ गरिब तथा निमुखाहरुको जीवन बचाइदिनु भएको छ । सयौँका सङ्ख्यामा गरिबका छोराछोरीलाई निःशुल्क पढाइदिनु भएको छ । हामीलाई अब ठुला भाषण गर्ने नेता भन्दा पनि काम गर्ने व्यक्ति चाहिएको छ ।’ उनी भन्छिन् ।
मीनुलाई पहिला एमालेमा भोट हाल्न सिकाउने राधा संग्रौँलाले पनि मीनुसँगै मङ्गलवार नै पार्टी परित्याग गरिन् । उनी तत्कालीन एमालेका सङ्गठित सदस्य साथै कीर्तिपुर नगरपालिकाको स्वतन्त्र मेयरको उम्मेदवार समेत हुन् । एकतन्त्रीय शासन गर्न खोज्ने एमाले प्रवृत्ति सहन नसकेर आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाई छ । ‘अहिले नेपाली काँग्रेसमा प्रवेश गरेको छु । कसैले अचम्म मान्नु पर्दैन । अब समाजलाई डोर्याउने क्षमतावान् पार्टी र व्यक्ति काँग्रेसमा रहेछन् ।’ उनी देशमा साम्यवाद नभई लोकतन्त्र नै आवश्यक रहेको औल्याउँछिन् ।
यता, पथरी शनिश्चरे उद्योग वाणिज्य सङ्घका अध्यक्ष र एमाले सचिवालय सदस्य समेत रहेका धनकुमार तामाङ पनि एमालेमा टिक्न सकेनन् ।
यसअघिको स्थानीय तहको निर्वाचनदेखि मन कुँडाएका उनले केही दिनअघि एमाले परित्याग गरी काँग्रेसमा प्रवेश गरे । ‘म पार्टीमा रहेर सामाजिक कार्यमा रुचि राख्ने व्यक्ति तर, एमाले अहिले त्यस्तो रहेन, उनीहरूको सिद्धान्त नै बेग्लै भयो ।’ उनले सुनिल शर्मालाई दुखः कष्ट सहेर सफलता प्राप्त गरेको व्यक्ति भन्दै समाज, परिवार र राष्ट्र बुझेकाले मात्र देशको विकास गर्न सक्ने बताउँछन् । ‘सुनिल शर्मालाई धेरैले चिनेका छैनन्, उनी यो समाज र राष्ट्रका लागि आवश्यक छन् त्यही भएरपनि काँग्रेसमा आएको हुँ ।’ उनी भन्छन् ।
हालसम्म एमाले–माओवादीसहित अन्य पार्टीका कति कार्यकर्ता काँग्रेसमा प्रवेश गरे भन्ने यकिन नै छैन । अहिले दैनिक पाँच सयभन्दा बढी स्थानीय नेता कार्यकर्ताहरू काँग्रेसमा प्रवेश गरिरहेका छन् । यो सबै नियालेका उम्मेदवार डा. शर्मा भने, जनताको उत्साह र साथ देखेर आफूमा अझ जिम्मेवारी बढेको बताउँछन् । ‘मलाई थाहा थिएन, मेरो उम्मेद्वारीले मात्र यो समाजमा यत्तिको उथलपुथल ल्याउँछ, अब जनताको विश्वास र भरोसालाई डग्न नदिने चुनौती थपिएको छ ।’ उनले भने । डा. शर्मालाई आफू जित्ने र हार्ने चिन्ता भन्दा पनि २१ औँ शताब्दीमा आफ्नो जन्मभूमि अझै ‘टुकी मुनिको अध्यारो’मा रुमलिएकोमा बढी चिन्ता छ । ‘गाउँको विकासको गति देखेर आफैँलाई लाज लाग्यो, यतिका वर्षसम्म यहाँका जनताले जसलाई विश्वास गरे तिनले आफ्नो र पार्टीको मात्र विकास गरेछन् ।’ घरदैलोमा पुग्दा उनी भन्ने गर्दछन् ।
डा. शर्माले कुनै पनि चुनावी अभियानमा फोस्रा कुरा गरेका छैनन् । मोरङका बयरबन, कानेपोखरी, पथरी, बेलबारीका ग्रामीण क्षेत्रमा कार्यकर्ता सहित पुग्दा उनले कुनै ठुला कुरा गरेका छैनन् । ‘मलाई थाहा छ, विकासका पूर्वाधार भनेका केके हुन्, यिनै पूर्वाधार जोड्नमा मेरो भूमिका रहनेछ । यो ठाउँमा, गुणस्तरीय शिक्षा, स्वास्थ्य, सडक, सञ्चार, खानेपानीका योजना ल्याउनु नै मेरो पहिलो उद्देश्य हो । त्यसपछि यहाँको आर्थिक संवृद्धिका कुरा हुन्छ ।’
हुन पनि हो, डा. सुनिल शर्माले भने जस्तै मोरङ क्षेत्र नं. ३ का अपवाद बाहेक धेरै ठाउँमा स्वच्छ खानेपानी छैन, घरमा शौचालय छैन, राम्रो विद्यालय छैन, स्वास्थ्य संस्थाको कुरा छाडौं बर्सेनि सर्पदंशबाट यहाँका दर्जनौ जनताले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था छ । सडकको कुरा गर्दा राजमार्ग क्षेत्रका बजारमा चिल्ला सडक देखिएपनि भित्री गाउँमा पुग्ने अधिकांश सडक वर्षामा हिँड्न नसक्ने हुन्छ ।
डा. सुनिल शर्माले यहाँका जनतालाई यही विकासका आधारभूत कुराको ग्यारेण्टी गरेका छन् ।
“