खानेपानी आयोजना विवाद अझै कायमै, थप समयमा पनि सम्पन्न नहुने निश्चित

भरतराज शर्मा(गोपाल), सुनसरी । सिस्टमको विवाद चाडो समाधान हुन नसकेपछि उच्च प्राथमिकता (पी वान) को धरान खानेपानी आयोजना फेरी थप भएको समय भित्र सम्पन्न नहुने निश्चित भएको छ ।

गत जुलाई ५ तारिखमा नै आयोजनाको अवधि सकिएको थियो । विवादले विजयपुर सिस्टमको काम ठप्प भएर आयोजना ढिलाइ भएपछि ९ महिना समय म्याद थपिएको थियो ।

म्याद थप भएको ३ महिना बितिक्दा पनि विवाद समाधान नभएपछि थपिएको ९ महिना अवधिभित्र पनि आयोजनाको काम सम्पन्न नहुने आयोजना प्रमुख राजु पोख्रेलले जानकारी दिए ।

‘अब थपिएको समय पनि काम सम्पन्न हुँदैन । निर्माणको काम नै ढिलाइ हुन्छ,’आयोजना प्रमुख पोख्रेलले भने,‘अरू सबै सिस्टम चलाउछौं,तर विजयपुर सिस्टम चलाउन सक्दैनौं ।’ आयोजना जति ढिला हुँदै गयो उति आर्थिक भार बढ्दै जाने उनले बताए ।

विवाद समाधान नहुदा निर्माण कम्पनीले काम छोड्न सक्ने र नयाँ नियुक्ति गर्नुपर्ने अवस्था पनि आउने उनको भनाई छ । ‘आर्थिक भार त स्वतः बढ्छ, नयाँ कन्ट्याक्टर नियुक्ति गर्नुपर्ने पनि हुनसक्छ,’उनले भने ।गत जुलाई ५ मा आयोजनाको अवधि सकिएको थियो ।

विजयपुर सिस्टमको विवादले समयमै काम नसकिएपछि १ एप्रिल २०१८ (९ महिना) सम्म आयोजनाको समय थप भएको थियो । जुलाई यता थप समयमा पनि विजयपुर सिस्टमको काम भएको छैन । यो सिस्टममा वडा नं १३ र १४ को लागि खानेपानी वितरण गर्न रिजर्ब वेयर बनाउने काम बाँकी नै छ । रिजर्ब वेयर बनाउन १ सय १७ रुखहरु काटिएपछि चार किरात समुदाय र लिम्बुवान पार्टीको चर्को विरोधले गत फागुन यता काम ठप्प छ ।

एसियाली विकास बैङ्क(एडिबि)को ऋण तथा अनुदानमा सुरु भएको आयोजनाको लागत पनि बढेर १ अर्ब ४८ करोडबाट १ अर्ब ७० करोड पुगिसकेको छ । लागतको हिसाबले यो नेपालकै दोस्रो ठुलो खानेपानी आयोजना हो ।

असन्तुष्ट चार किरात संस्थाको प्राविधिक समेत राखेर विकल्प अध्ययन गर्न टोली गठन भएको थियो । प्राविधिक समितिमा किरात संस्थाकोतर्फबाट दुर्गाधन राई र अनिल श्रेष्ठ छन् । यस्तै, आयोजनातर्फबाट आयोजना प्रमुख पोख्रेल र परामर्शदाता कम्पनी, बिडिएका टिम लिडर मुरारीलाल चौधरी पनि टोलीमा छन् । उक्त टोलीले स्थलगत दुवै विकल्प र रुख काटिएको स्थानको अध्ययन तथा सर्वे गरिसकेको छ । प्राविधिक समितिका सदस्य दुर्गाधन राई भने आफूहरूले अध्ययन गरेर रिपोर्ट तयार गरिसके पनि चार किरात संस्थाले बैठक डाकेपछि मात्र रिपोर्ट उपलब्ध गराउने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =