अस्ट्रेलियामा समलिङ्गी विवाहलाई कानुनी मान्यता

एजेन्सी । अस्ट्रेलियाले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने पक्षमा मतदान गरेको छ । हुलाकमार्फत गराइएको निर्वाचनमा ६१ दशमलव ६ प्रतिशत मतदाता समलिङ्गी विवाहको पक्षमा उभिएका थिए ।

मतदानमा व्यक्त धारणा कार्यान्वयन गर्न चाहिँ बाध्यकारी हुने छैन । चुनावी परिणामपछि अस्ट्रेलियाको सरकारले यसै वर्षको अन्त्यसम्म त्यस सम्बन्धी कानुन ल्याउने जनाएको छ ।

उत्साहजनक
आठ हप्ताको चुनावका क्रममा झन्डै ८० प्रतिशत अर्थात् एक करोड २० लाख मतदाताले मतदान गरेका थिए । मतपरिणाम घोषणा हुँदाको वातावरण एकदमै उत्साहजनक रहेको थियो ।

मध्य-सिड्नीमा ठुला स्क्रिनमा परिणाम घोषणा भएको हेर्न जम्मा भएका हजारौँ मानिसले खुसीयाली मनाएका थिए । महिनौंको विभाजनकारी बहस र दशकौँ लामो अभियानपछि समलिङ्गी जोडीहरुले अहिले अस्ट्रेलियाका नागरिकको साथ पाएका छन् । अबको चरणमा राजनीतिज्ञहरुले नयाँ कानुन पारित गर्नुपर्ने हुन्छ ।

प्रतिबद्धता
यसै वर्षको अन्त्यसम्म त्यस्तो कानुन ल्याइसक्ने अस्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले बताएका छन् । उनले भनेका छन्, “”अष्टेलियाका जनता बोलेका छन् र उनीहरूले अभूतपूर्व रूपमा समानता सहितको विवाह हुनुपर्छ भनेका छन्, उनीहरू निष्पक्षता, प्रतिबद्धता र प्रेमको पक्षमा उभिएका छन्, अस्ट्रेलियाका जनताले दिएको जिम्वेवारी हामीले यसै वर्ष क्रिशमश अघि नै पूरा गर्नुपर्छ ।””

धार्मिक स्वतन्त्रता र शिक्षा लगायतमा कट्टर विचार राख्ने संसद्का अनुदारवादी सदस्यहरूले नयाँ कानुन ल्याउने प्रयासलाई चुनौती दिनसक्ने ठानिएको छ । बीबीसीका सिड्नी संवाददाता भन्छन्, “”भोलि के हुन्छ भन्दा पनि अहिले धेरैजना चुनावी जितको उत्सव मनाइरहेका छन् र एकआपसमा खुसी साटासाट गरिरहेका छन् ।””

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *