देख्ने हातहरु : ठमेलमा मसाजबाट मस्ती आम्दानी

राजधानीको ‘हट’ एरिया ठमेल । ठमेलसँगै जोडिएर आउने ‘मसाज’ शब्द निकै बदनाम छ अचेल सहरमा । ‘मसाज’ सुन्यो कि मानिसमा शंकाको आँखा उम्रिहाल्छ । मसाजको आवरणमा ‘यौन’ धन्दा चलाउनेको बिगबिगी छ त्यहाँ र त यो शब्द बदनाम हुनु स्वाभाविक बनेको छ ।तर, ठमेलमा मसाज पूरै बदनाम पनि छैन, अपवाद पनि हामी त्यहाँ देख्न सक्छौं ।

RK-adipta-Giri_1

बदनामीमा एउटा अपवाद हो- सिङह्यान्डस् मसाज क्लिनिक । ठमेलको सञ्चय कोष भवनबाट अलिकति भित्र पसेर बायाँ लागेपछि अगाडि एउटा अनौठो बोर्ड आँखामा ठोकिन्छ । हो त्यही हो- सिङह्यान्डस् मसाज रहेको घर । अझ अचम्म त घर भित्र पस्नेबित्तिकै थुप्रै दृष्टिविहीनहरू भित्र-बाहिर गरिरहेका भेटिन्छन् । सिङह्यान्डस्मा फरक ढंगले मसाज गर्ने तिनै दृष्टिविहीनहरू हुन् ।

फोटोग्राफर साथी कमल क्षेत्री र म पहिलोपटक पुगेका थियौं, सिङह्यान्डस्मा । त्यहाँ पुग्दा दृष्टिविहीनहरू आफ्नै कामको धपेडीमा थिए । प्रत्यक्ष देख्ने आँखाहरू छैनन् । तर, बलियो आत्मविश्वासले आफूलाई सक्षम बनाएका छन् उनीहरूले । बाहिरी दुनियाँको रंगीन संसार उनीहरूबाट बेखबर छ । तर, मसाजथेरापीको काममा उनीहरू पोख्त छन् ।

ह्वाइट केनको सहाराले र भित्री मनको आँखाले चामत्कारिक काम गरिरहेका दृष्टिविहीनहरू देख्दा म आफैं चमत्कृत भएँ । एकपछि अर्को गर्दै क्लिनिक भित्रिरहेका ग्राहकलाई उनीहरू हातको भरमा सेवा दिइरहेका थिए । उनीहरूको आँखा भन्नु नै हात थियो । यो जोस, उत्साह र क्षमता देख्दा हामी चकित पर्‍यौं ।

dekhne_hat

सिङह्यान्डस्का सञ्चालक हुन्- चिरञ्जीवी पौडेल । पौडेल आफैं पनि दृष्टिविहीन हुन् । उनी बाणगंगा, कपिलवस्तुमा जन्मिए । बागलुङको नारायणस्थानमा उनले दृष्टिविहीनकै रूपमा स्कुल पढे । उच्च शिक्षाका लागि पोखरा झरे । त्यहाँ उनले ब्रिटिस दम्पती रब र सुयन्लीसँग संगत गर्ने अवसर प्राप्त गरे । पोखरामा त्यस्तै प्रकारको मसाज केन्द्र चलाएर बसेका थिए- रब दम्पती । उनीहरूले दृष्टिविहीनहरूलाई थेरापी तालिम प्रदान गर्दथे । रब र सुयन्लीको क्लिनिकमा पुगेपछि चिरञ्जीवीले पनि सो तालिम लिन आफू इच्छुक रहेको बताए ।
चिरञ्जीवीको बिन्तीले ती दम्पतीलाई छोएछ क्यार, उनलाई नि:शुल्क तालिम दिन मञ्जुर भए । फलत: उनले रब र सुयन्लीजस्तो विशेषज्ञबाट एक वर्षको दुर्लभ तालिम लिने अवसर पाए । तालिमपछि उनी त्यहीँ जागिरे भए । पाँच वर्ष थेरापिस्ट इन्चार्ज, थेरापी शिक्षक हुँदै आफ्नो क्षमता र इच्छालाई हुर्काउन सफल भए । सँगसँगै आफूभित्रको सम्भावनालाई थप आकार दिन उनी कोसिसरत रहे ।

रब दम्पतीसँग काम गर्दै गर्दा उनलाई लाग्यो- यस व्यवसायलाई काठमाडौंमा म आफैंले गर्नुपर्छ, मेरो आफ्नै नेतृत्वमा हुनुपर्छ । अरूको अन्डरमा गर्दा आफ्नो परिचय गुम्ने खतरा पनि उनले देखे । आधुनिक चिकित्सा पद्धतिले मान्यता पनि दिइसकेको हुँदा यसैलाई करिअरको रूपमा अघि बढाउने सोच उनमा पलाएको थियो । पोखरामा भन्दा काठमाडौंमा ठूलो मार्केट छ भन्ने पनि उनले चाल पाइसकेका थिए ।

चिरञ्जीवीमा उद्यमी स्वभाव सानैदेखि विकसित थियो । केही नयाँ काम गरौं भन्ने उनको मनमा लागिरहन्थ्यो । तर, समस्या चाहिँ हाम्रो समाजमा थियो । समाजले दृष्टिविहीनलाई हेर्ने दृष्टिकोणमै समस्या थियो । मनभरि ठूल्ठूला इच्छाशक्ति थिए तर चुनौती थियो समाजलाई विश्वस्त पार्न । समाजलाई ‘कन्भिन्स’ गर्न निकै गाह्रो थियो । आफ्नो कमजोर आर्थिक अवस्था अर्को समस्या थियो । सपनाको पर्खाल ठड्याउन आवश्यक सहयोगी मानिसको खाँचो पनि थियो ।

‘बाँच्ने क्रममा मानिसले कत्राकत्रा संघर्ष पनि गरेका छन्, म त हातमा केही सीप भएको मान्छे हुँ भन्ने लाग्थ्यो,’ उनी आफ्नो सुरुवाती आत्मविश्वास सुनाउँछन्, ‘मैले सिकेको यही सीपलाई किन व्यावसायिक रूप नदिने भन्नेतर्फ रातदिन सोच्न थालेँ ।’चिरञ्जीवीले आफूभित्र डेरा गरी बसेको त्यही सोच र आत्मविश्वासलाई काठमाडौंमा बीजारोपण गर्ने दृढनिश्चय गरे । फलत: उनी काठमाडौं उक्लिए, मनमा सिङह्यान्डस्को चित्र र सपना बोकेर ।
काठमाडौं आएपछि केही समय त उनी आफ्नो सपनालाई आकार दिन यताउता भौतारिइरहे । नेपाली समाजमा मसाजको विरोध गर्नेहरूको ठूलो हुल भेटे उनले । उनको यो सोचप्रति व्यंग्यको तीर हान्नेहरूको जमात पनि सानो थिएन । तर, उनी पछि हटेनन् । कानमा ठोक्किन आउने तीरजस्ता तीखा प्रश्नहरूलाई बायाँहातले पन्छाउँदै उनी हिँडिरहे ।

उनले आफ्नो सपनाको गोरेटोमा हरपल साथ दिने सहयात्री पाएका थिए । श्रीमतीको साथले उनलाई समाजका अघि अझ दृढ भएर उभिने साहस र हौसला बढाइदिन्थ्यो । समस्यै समस्याका बीचबाट उनले आफू र समाजलाई राम्रोसँग चिन्ने मौका मात्र पाएनन्, अन्तत: आफ्नो सपनालाई मूर्तरूप दिन सफल पनि भए । सन् २०१० को नोभेम्बरबाट सुरुमा चार लाख ऋण लिएर उनले व्यवसाय सुरु गरे । समयक्रमसँगै विरोध गर्नेहरू पछि हट्दै गए । सिङह्यान्डस् मजासको ब्यानर झन् चम्किँदै गयो ।चिरञ्जीवी आज आफ्नो सपनाको मालिक भएका छन् र सफलता उनको नजिकको साथी भएको छ।

‘घरेलु तथा साना उद्योग’मा दर्ता भएको सिङह्यान्डस् मसाज क्लिनिक अहिले दिनदिनै सफलताको उकालो चढिरहेको छ । ‘मसाज’ भन्नेबित्तिकै गलत नजरले हेर्ने परम्परालाई यस क्लिनिकले ‘राम्रो’ अर्थले तोडिदिएको छ । चिरञ्जीवी भन्छन्, ‘असल सोच र नियत भएकैले क्लिनिकले गति लिन त्यति धेरै समय लागेन ।’सुरुमा काठमाडौंले पनि चिरञ्जीवीलाई पत्याएको थिएन । अफिस सञ्चालनका लागि घर भाडामा पाउन नै मुस्किल भयो । उपयुक्त ठाउँ ठमेल नै हो भन्ने लाग्थ्यो उनलाई । दृष्टिविहीन भएकै कारण ठमेलका घरबेटीहरूले घरभाडाका लागि नै पत्याएनन् । तर, उनका पछि ब्रिटिस दम्पती देखेपछि भने सजिलै भाडामा दिनेहरू भेटिए ।

हाल उनको यो मसाज क्लिनिक देशमा मात्र होइन, विदेशमा पनि उत्तिकै चर्चामा छ । लोन्ली प्लानेट, ट्रिप एडभान्चर, रफ गाइड, स्टेफिनलुजा, डच गाइड बुकजस्ता प्रसिद्ध ट्राभल गाइड बुकहरूमा यस क्लिनिकको नाम अंकित भइसकेको छ । विभिन्न वेभसाइटहरूले पनि सिङह्यान्डस्को ख्याति र कामको प्रशंसा गरेर बारम्बार लेखी नै रहेका छन् । त्यही सूचनाकै आधारमा अहिले ९५ प्रतिशत विदेशी ग्राहकहरू यस क्लिनिकमा आउँछन् ।
‘सन्तुष्ट ग्राहकहरू नै यस क्लिनिकका प्रचारक हुन्,’ चिरञ्जीवी भन्छन्, ‘सुरुमा हामी दम्पती मिलेरै सञ्चालनमा ल्याएका थियौं । तर ग्राहकको चाप बढ्दै गएपछि अन्य दृष्टिविहीनहरूलाई नि:शुल्क तालिम दिँदै यसमा आबद्ध गरेका छौं ।’

आफैंले तालिम, प्रशिक्षण दिएर उत्पादन गरेका दक्ष दृष्टिविहीन विद्यार्थीलाई आफ्नै क्लिनिकमा काम दिइरहेको चिरञ्जीवीले बताए । सिङह्यान्डस्ले अहिले दुई दर्जन जति दृष्टिविहीनलाई रोजगारी दिइरहेको छ । थुप्रै दृष्टिविहीनलाई दक्ष थेरापिस्ट बनाउन आफूले गरेको मेहनतलाई उनी जीवनको अर्को उपलब्धि ठान्छन् ।

hat_dekhne

दृष्टिविहीनमात्र होइन सांग व्यक्तिलाई पनि उनले रोजगारी दिएका छन् । क्लिनिकमा सांग व्यक्तिले व्यवस्थापन हेर्छन् भने मसाज थेरापिस्टहरू सबै दृष्टिविहीन नै रहेका छन् । चिरञ्जीवीको यो सफल कामको कदर गर्दै विभिन्न देशी तथा विदेशी संघसंस्थाहरूले क्लिनिकलाई थुप्रै अवार्ड तथा सम्मानले पुरस्कृत गरेका छन् । व्यवसायलाई जीवनको अभिन्न अंग र पहिचान बनाउन पाउँदा आफू दृष्टिविहीन भएकोमा निकै गर्व लाग्छ उनलाई ।

सिङह्यान्डस्मा जुनसुकै उमेर समूहका ग्राहकहरू आउँछन् । विशेषगरी पश्चिमाहरूको भीड लाग्छ । एक घण्टा मसाजको १८ सय र डेढ घण्टाको २६ सय रुपैयाँ क्लिनिकको सेवाशुल्क निर्धारण गरिएको छ । दिनमा ३५ देखि ४० जनासम्मले यहाँबाट मसाजथेरापी सेवा लिइरहेका छन् । ‘ग्राहकको यो भीड देख्दा यति ठूलो सपना त मैले बुनेकै थिइनँ भन्ने लाग्छ,’ पत्यारै नलाग्ने गरी सफलता मिलेकोमा उनी निकै हौसिएका छन् । अहिले आफ्नो क्लिनिकको सर्वत्र चर्चा र प्रसिद्घि सुन्दा उनी आफैं चकित छन् ।

नेपाल पनि ‘मसाज टुरिज्म डेस्टिनेसन’ बन्न सक्छ भन्नेमा उनी विश्वस्त छन् । यो विश्वास उनको आफ्नै मेहनत र सफलताले दिलाएको हो । व्यवस्थित तवरले चलाउन सक्ने हो भने नेपालमा मसाज टुरिज्मको राम्रो सम्भावना रहेको उनी बताउँछन् । जनशक्तिका लागि टाढा जानुपर्दैन, उनी आफैंले तीन महिना र ६ महिनामा दर्जनौं थेरापिस्टहरू तयार गरिरहेका छन् ।

दृष्टिविहीन हुनुपर्दाको पीडा, ग्लानी र हीनताले ग्रस्त भई बसिरहनुभन्दा केही न केही सीप सिकेर आत्मसम्मानपूर्ण जीवन बाँच्न सक्नु राम्रो हो भन्ने अहिले आएर धेरैलाई महसुस भएको छ । तालिम लिएर रोजगारीमा लाग्दा आत्मसम्मानका साथै अर्थोपार्जन पनि हुने देखेर उनको क्लिनिकमा तालिम लिन र रोजगारी पाउन धेरै दृष्टिविहीनहरू आतुर हुन्छन् । अहिले त उनलाई लाग्छ- यस्ता मसाजथेरापी व्यावसायिक रूपमा जति खुल्न सक्यो उति फाइदा छ ।

चार लाखबाट सुरु भएको व्यवसाय अहिले करोडौंमा विस्तार भएको छ । अबका केही वर्षमा चिरञ्जीवीले देशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा आफ्नो क्लिनिकका शाखा विस्तार गर्ने सोच बुन्दै छन् । ललितपुरको बखुण्डोल, पाटन र काठमाडौंको बौद्धमा क्लिनिकले नयाँ शाखा विस्तार गरिसकेको छ । राजधानीबाहिर पनि यसको सम्भावना उत्तिकै रहेको उनी बताउँछन् ।”सेन्स अफ टच’ दृष्टिविहीनहरूमा जति अरुमा नहुने हुँदा पनि हामीले गर्ने मसाज सबैको रोजाइमा पर्ने गरेको छ,’ पौडेलले आफ्नो अनुभव सुनाए, ‘ट्रेकिङबाट फर्केका र ढाड, खुट्टा, गर्धन आदि समस्याबाट पीडितहरू नै बढीजसो हामीकहाँ आउँछन् ।’

राज्य निरीह भएका बेला आफूले केही दिने कोसिस गरेर नै व्यवसाय सञ्चालन गरेको उनी बताउँछन् । ३५ सय वर्ष पुरानो यस चिकित्सा पद्धतिलाई सीटीईभीटीमार्फत स्वीकृति लिई यसै विषयमा केन्द्रित विशेष स्कुलहरू पनि सञ्चालन गर्ने उनको सोच रहेको छ ।’समाजमा बदनाम कहलिएको मसाज पेसालाई राज्यले अब नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ,’ पौडेल तर्क गर्छन्, ‘मसाज पेसा सहरमा बदनाम भयो भन्दै सरकारले मौन बस्नु झन् हास्यास्पद छ । बदनाम किन भइरहेछ, यसका विकृति र कमजोरी औंल्याएर राज्यले स्पष्ट नीति बनाइदिएमा बदनाम नै हुनेवाला छैन । सरकारले प्रमाणिक रूपमा स्वीकृति दिने, अनुगमन गर्ने र मर्यादित एवं उपलब्धिमूलक बनाउने पहल गर्नुपर्छ ।’

hat

मसाजले ठमेल नै दूषित भयो भन्नेहरूका लागि ‘सिङह्यान्डस् क्लिनिक’ एउटा गतिलो जवाफ हो र उदाहरण पनि । स्वार्थपूर्तिका लागि नियोजितरूपमा केही मान्छेहरू यस क्लिनिकमाथि पनि खनिने गर्छन् बेलाबेला, तर तिनका आरोपले चिरञ्जीवीहरूलाई कुनै असर परेको छैन ।’गरेपछि नहुने के छ र ? केही गर्छु भन्ने दृढ आत्मविश्वास, असल सोच र मेहनतले असम्भव भन्ने कहीँ केही पनि नहुने रहेछ,’ चिरञ्जीवी भन्छन्, ‘दृष्टिविहीन हामीहरूले सांगसरह काम गरेकै छौं । खराबहरूलाई पाखा लगाएर काम गर्न सक्यो भने यही पेसा सम्माननीय र मर्यादित बन्छ । कालो गगल्स आँखामा राखेर हेर्‍र्यौं भने त सब संसार कालै देखिन्छ नि ।’

मसाज आफैंमा नराम्रो पेसा होइन बरु मान्छेहरूले यसलाई विकृत पारेका हुन् भन्ने उनको अनुभव छ । ‘राज्य र समाजले नराम्रालाई पाखा र राम्रालाई आँखा लगाइदेओस् न,’ उनले छुट्ने बेलामा भने, ‘यत्ति भयो भने सबै राम्रो हुँदै जान्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =