दाङमा मदिराजन्य बस्तु बिक्रि वितरणमा रोक

असार ६, दाङ । असार ८ गतेदेखि स्थानीय प्रशासनले दाङमा मदिराजन्य बस्तु बिक्रि वितरणमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार बिहान दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो ।

दाङका प्रहरी प्रमुख एवम् एसपी धिरज प्रताप सिंहका अनुसार जिल्लाका कुनै पनि सार्वजनिक स्थल, होटेल रेष्टुरेन्ट लगायतका स्थानमा असार ८ गतेदेखि मदिरा जन्य बस्तु बिक्रि वितरणमा रोक लागाउने निर्णय भएको हो । त्यसपछि लगतै बसेको सर्वदलीय बैठकले राजनीतिक दलहरूका बीचमा चुनाव प्रचार प्रसारका क्रममा कुनै पनि समस्या उत्पन्न भएमा त्यो समाधान गर्नका लागि मुख्य निर्वाचन अधिकृत चुरामण खड्काको संयोजकत्वमा जिल्लामा क्रियाशिल दलका प्रमुखहरु सदस्य रहेको एउटा समिति गठन भएको एसपी सिंहले जानकारी दिनुभयो ।
यसैबीच बैठकले निर्वाचन आचारसंहिता कडाईका साथ परिपालना गर्न राजनीतिक दलहरुलाई आग्रह समेत गरिएको एसपी सिंहले जानकारी दिनुभयो ।








