धरानमा जेष्ठ नागरिक मिलन केन्द्र बन्ने

धरान, भदौ १३ । धरान उपमहानगरपािलका–१३ स्थित अमर सेवा समाजले ज्येष्ठ नागरिकहरुको लागि ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउन जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । अमर सेवा समाजको गत शनिबार बसेको बैठकको हाल अमरहाट चोकस्थित समाजको फूलबारी रहेको स्थानमा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । यस निर्णयबारे वडा कार्यालयलाई जानकारी गराउने र ट्रष्ट सहित मिलन केन्द्रको भवन बनाउन आग्रह गरिने समाजका अध्यक्ष हरिबहादुर लिम्बूले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो स्थानमा ज्येष्ठ नागरिकहरुको भेटघाट तथा विश्राम थलो बन्ने छ । करिब ४० जना ‘ज्येष्ठ नागरिकहरु अट्ने गरी ट्रष्ट हालेर भवन बनाउँछौं, त्यसको लागि जग्गा उपलब्ध गराउने निर्णय भएको छ,’ अध्यक्ष लिम्बूले भन्नुभयो । मिलन केन्द्र रहने स्थानमा योग अभ्यासको पनि व्यवस्था हुनेछ भने भेटघाट तथा विश्राम गर्न आउने ज्येष्ठ नागरिकहरुलाई चियापानको समेत प्रबन्ध गरिने समाजले जनाएको छ ।








