निष्ठावान राजनीतिज्ञको निधनप्रति सरकारको अनौठो मौनता

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको ९१ वर्षको उमेरमा शनिबार निधन भयो । प्रचारप्रसार र सार्वजनिक जीवनबाट टाढै बस्न रुचाउने उनले आफ्नो अन्त्येष्टि पनि सामान्य ढंगले होस् भन्ने चाहेका थिए । पशुपति आर्यघाटमा परिवारका थोरै सदस्यको उपस्थितिमा शनिबारै उनको अन्त्येष्टि त्यसैगरि गरियो ।

तीन पटक देशको प्रधानमन्त्री बनेका र देशभक्त नेताको छवी बनाएका विष्टको निधनप्रति उनको निधन भएको एक दिन पछि राष्ट्रपति कार्यालयले ‘दुःख’ ब्यक्त गर्याे । तर सरकारले भने कुनै औपचारिकता पुरा गर्न आवश्यक ठानेन । विष्टले आफ्नो अन्त्येष्टि सामान्य ढंगले होस् भन्ने चाहेका थिए । त्यसकारण सरकारले उनको ईच्छा अनुसार नै राजकीय सम्मान दिएन भनेर मान्ने हो भने पनि उनको निधनप्रति सरकारले कुनै औपचारिकता नदेखाउनु उदेकलाग्दो कुरा हो ।

उत्तरी सीमाक्षेत्रमा राखिएका भारतीय सैन्य चेकपोस्टहरू हटाउने साहसिक निर्णय लिएको र सिंहदरबारमा आगलागी हुँदा नैतिकताका आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका कारण इतिहासमा उनको बेग्लै छवि छ । उनैले सन् १९५० को नेपाल–भारत सन्धि असमान र नेपालका लागि अमान्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट पहिलो पटक बोलेका थिए ।

राजनीतिशास्त्रमा एमए पढ्दै गर्दा उनी डिल्लीरमण रेग्मी नेतृत्वको नेपाली राष्ट्रिय कांग्रेसमा आबद्ध भएका थिए । उक्त पार्टीको महासचिवसम्म भएका विष्ट २०१७ सालपछि पञ्चायत प्रवेश गरेका थिए । ०१७ मा विष्ट जब दाङ, सल्यान र प्यूठान हेर्ने दौडाहा टोलीको अध्यक्ष बनाइए, राजा महेन्द्रसँग उनको पहिलो भेट त्यसैबेला भएको थियो । त्यसपछि राजा र राजदरबारसँग उनी कहिल्यै टाढा रहेनन् । खासगरी महेन्द्रसँग उनको निकट सहकार्य रह्यो ।

नेपाली भूभागभित्र रहेका भारतीय सैन्य डफ्फालाई ०२७ सालमा स्वदेश फिर्ता पठाउने निर्णय उनले महेन्द्रकै आडमा लिएका थिए । चीनको निगरानी गर्न राखिएका ती विदेशी सैनिकलाई झन्डै दुई दशकपछि हटाउने कार्य विष्टको पहिलो प्रधानमन्त्रीत्वकालमा सम्भव भएको थियो । विष्ट नैतिकवान् नेता थिए । उनले ०३० सालमा सिंहदरबारमा आगलागी हुँदा नैतिकताका आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

विष्ट पंचायती निरंकुश शासन व्यवस्थामा प्रधानमन्त्री भएका थिए, त्यो पनि तीनपटक । र, उनले पंचायती व्यवस्था टिकाउन भुमिका पनि खेले । त्यो सँगै उनले राजा ज्ञानेन्द्रको शासनकालमा तुलसी गिरीसँगै मन्त्रीपरिषदको उपाध्यक्ष पनि भए । निश्चय नै त्यो उनको कमजोरी पक्ष हो । तर, उनमा रहेको नैतिकता र राष्ट्रवादी छवी अनुकरणीय पक्ष हो ।

तीनपटकसम्म देशको प्रधानमन्त्री बनेका ब्यक्तिको निधनप्रति सरकारले सामान्य औपचारिकता समेत पुरा गर्न आवश्यक ठानेन । राजनीतिक व्यवस्था परिवर्तन भएपनि इतिहास परिवर्तन हुँदैन । बर्तमान सरकारले विष्टप्रति गरेको वेवास्ता अनौठो छ । सरकारको यो वेवास्ताले एउटा राष्ट्रवादी नेताप्रति अपमान मात्र गरेको छैन, उनका सकारात्मक कदमप्रतिको अवमुल्यन समेत हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *