इब्राहिमोभिचको आगमनपछि म्यानचेस्टर युनाइटेडले उपाधिका लागि थप चुनौती पेस गर्ने

एजेन्सी । ज्लाटान इब्राहिमोभिचको आगमनपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगकाे उपाधिका लागि थप चुनौती पेस गर्ने स्ट्राइकर रोमेलु लुकाकुले विश्वास व्यक्त गरेका छन् । युनाइटेडका लागि यो सिजन लुकाकुले लगभग सबै खेलमा सुरुआत गरेका छन् ।

इब्राहिमोभिचको पुनरागमन पछि प्रशिक्षक जोसे माउरिन्होसँग थप विकल्प हुनेछन् । त्यसपछि लुकाकुले पनि टोलीको पहिलो रोजाईमा पर्न सङ्घर्ष गर्नुपर्ने हुन सक्छ । अप्रिलमा युरोपा लिगमा घाइते भएयता इब्राहिमोभिच मैदान बाहिर रहँदै आएका छन् । उनको सम्झौता गत सिजनको अन्त्यसँगै सकिएको थियो । पछि उनी फेरि एक वर्षका लागि युनाइटेडमा आबद्ध भएका थिए ।

इब्राहिमोभिचको पुनरागमनको विषयमा लुकाकुले स्काई स्पोर्टस्सँग भने,‘उनको पुनरागमनले मलाई साँच्चै उत्साहित पारेको छ । उनको आगमनले टोलीमा अर्को एक उत्कृष्ट खेलाडी थपिनेछन् । जति बेला हामी जस्तो टोलीसँग कसैले सामना गर्छ पक्कै कठिन हुनेछ । उनी आएपछि हामीले म्यानचेस्टर सिटीलाई अझै चुनौती दिन सक्छौँ ।’

प्रिमियर लिगमा शीर्षस्थानमा रहेको सिटीको ३१ तथा दोस्रो स्थानको युनाइटेड र तेस्रो स्थानको टोटेनह्यामको समान २३ अङ्क छ । एभर्टनका पूर्व स्ट्राइकर लुकाकुले हालै बेल्जियमका लागि २ गोल गरे । यो सिजन देश र क्लबका लागि गरेर उनले २० खेलमा १६ गोल गरिसकेका छन् ।

यद्दपी, उनी आलोचनाका विषय बन्ने गरेका छन् । उनी भने सिजनभरको प्रदर्शनबाट आलोचकलाई शान्त पार्ने योजनामा छन् । ‘जति बेला मैले सम्झौता गरे सबैले प्रश्न गरेका थिए । मैले राम्रो सुरुआत गर्दै केही मान्छेलाई आश्चार्यमा पारे,’ उनले भने, ‘हामी अहिले पनि सिजनको सुरुआती अवस्थामा छौँ । केही सकिएको छैन । अहिले हामीले जस्तो गरिरहेका छौै यो भन्दा अझै राम्रो गर्न सक्दछौं । ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *