सुरुङ निर्माणमा सुस्तता, दशै अघि मेलम्चीको खानेपानी नआउने

चौतारा – बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काममा सुस्तता आएकाले निर्धारित समयभित्र पूरा नहुने भएको छ । सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिका स्थित अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये तीन किमी सुरुङ खन्ने काम अझै बाँकी भएकाले आगामी दशैँ अगाडि राजधानीवासीलाई पानी खुवाउन असमर्थ रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले बताउनु भयो ।

सुरुङ निर्माण गर्न अम्बाथानदेखि ग्याल्थुमसम्म १.५ किमी र ग्याल्थुमदेखि सिन्धुसम्म १.५ किमी गरी तीन किमी बाँकी भएको आयोजनाले जनाएको छ । सिन्धुको माथिल्लो भागमा कमसल चट्टान फेला परेकाले चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उपकार्यकारी निर्देशक दुवाडीले भने – “दैनिक १५ देखि बढीमा २३ मिटरसम्म मात्र सुरुङ खन्ने काम भएकाले दसैँको लक्ष्य भेट्न मुस्किल पर्ने देखिएको छ ।”
काममा तीव्रता दिन बेलाबेलामा ठेकेदार कम्पनीलाई निर्देशन दिइएपनि उपकरणहरु बारम्बार बिग्रिरहने कारणले पनि काममा असर पर्न गएको आयोजनाले जनाएको छ ।
कमसल भूभाग भेटिएपछि ठेकेदार कम्पनीले वैकल्पिक उपायका लागि प्रस्ताव पेस गरेकामा हाल भइरहेको कामभन्दा २–३ मिटरभन्दा बढी नखनेर तुलनात्मक रुपमा डबल खर्च लाग्ने देखिएको हुँदा त्यसलाई अपनाउन नसकिएको उपकार्यकारी निर्देशक दुवाडीले जानकारी दिनुभयो ।
यो वर्षको वडादसैँ असोजको पहिलो सातादेखि सुरु हुने हुँदा दसैँ अगाडि पानी लान दैनिक ३५ मिटरका दरले सुरुङ निर्माण गर्नुपर्ने देखिएको हुँदा दसैँ अगाडि उपत्यकामा पानी पुर्याउन नसक्ने आयोजनाको धारणा रहेको छ ।








