इटहरीलाई प्रदेशको राजधानी बनाउने बाम उम्मेद्वारहरुको प्रतिबद्धता

“
कार्तिक २६, सुनसरी । प्रदेश नम्बर १ को राजधानी इटहरी र आसपासको क्षेत्रलाई बनाउने कुरामा कुनै कसर बाँकी नराख्ने बाम गठबन्धनका उम्मेदवारहरुले बताएका छन् । क्षेत्र नम्बर तीनका बामगठबन्धनका उम्मेदवारहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।
प्रतिनिधि सभामा प्रदेश नम्बर तिनकी बाम गठबन्धनकी साँझा उम्मेदवार भगवती चौधरीले पार्टीद्धारा यसअघि नै इटहरी प्रदेश राजधानीका रूपमा स्वीकार गरिसकेको बताइन । उनले इटहरी र इटहरी आसपासको क्षेत्रलाई प्रदेशको राजधानी बनाउन आफ्नो जोडदार पहल रहने बताएकी हुन् । प्रदेशसभा क तर्फका उम्मेदवार लिलम बस्नेतले इटहरी हरेक हिसाबले प्रदेशको राजधानी बन्न उपयुक्त रहेको बताए । इटहरी र इटहरी आसपासको क्षेत्रलाई प्रदेशको राजधानी बनाउने आफ्नो प्रमुख प्राथमिकता रहने उनले बताए । केही समय अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इटहरी उपमहानगरको पहिलो नगरसभा उदघाटन गर्दै इटहरी प्रदेशको राजधानी बन्न उपयुक्त हुने बताएका थिए ।
चुनावी अभियानका क्रममा ईटहरीका विभिन्न ठाउँमा भएको घरदैलो तथा कोण सभा कार्यक्रममा बोल्दै चौधरीले झुठा आश्वासन, पद र पैसाको प्रलोभन देखाउनेले जनताको कहिल्यै पनि भलो नगर्ने भन्दै सचेत गराएकी थिइन । निर्वाचन पश्चात् केन्द्र र प्रदेश दुवै तहमा बाम गठबन्धनको सरकार बन्ने निश्चित भएकाले आफ्नो जीत हुनबाट कसलै रोक्न नसकिने दाबी समेत चाैधरीले गरेकी थिइन ।
“








