प्रचण्ड घरदैलोमा पुग्दा

किशोर खनाल, भरतपुर । चितवन क्षेत्र नम्बर–३ का उम्मेदवार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यति बेला घरदैलो अभियानमा रहेका छन् । क्षेत्र नम्बर ३ को विभिन्न वडाहरुको घरदैलोमा पुग्दा लालपुर्जाविहीन जनताले उनीसँग हातमा लालपुर्जा थमाइदिन आग्रह गरेका थिए ।

भरतपुर महानगरपालिका वडा नम्बर १४ का लालपुर्जाविहीन नागरिकले पुस्तौदेखि बसोबास गर्दै आएको भूमि हालसम्म पनि आफ्नो हुन नसकेको गुनासो गरेका थिए । १४ नम्बर वडाका भीमसेन नगर, सुन्दरबस्ती, गौचरनलगायतका गाउँमा करिब ४०० घरपरिवार लालपुर्जाविहीन छन् । उनीहरूले पुस्तौदेखि भोगचलन गर्दै आएको जमिनको लालपुर्जा पाएका छैनन् । घरदैलोमा पुगेका प्रचण्डसँग उनीहरूले हातैमा लाजपुर्जा थमाइदिन आग्रह गरेका थिए ।

उनीहरूको जवाफमा पूर्वप्रधानमन्त्री दाहालले बाम गठबन्धनको बलियो सरकारले नै सुकुमबासीहरुलाई लालपुर्जा दिलाउन सक्ने बताए । उनले तपाईँहरूको समस्या समाधान गर्न बलियो सरकार बन्नुपर्ने बताए ।

सुकम्बासी बस्ती पारिलोटाहारका धनबहादुर गुरुङले प्रचण्डसामु भूमिहीन, लालपूर्जाविहीन नागरिकहरूको समस्या समाधान हुन नसकेकोमा चिन्ता प्रकट गरे । उनले सकुमबासीहरुले हालसम्म लालपुर्जा नपाएको गुनासो गरेका थिए ।

पार्वतीपुर गौचरनकी कुमारी गुरुङले विगतमा पनि उम्मेदवारहरुले लालपुर्जा दिन्छु भनेर आश्वासन दिएर भोट हालेको बताउँदै अब पनि त्यस्तै आश्वासनमात्र पाइने हो कि भनेर आशंका गरेकी थिइन् । भरतपुर–१४ कै राम रिजालले भूमिहीन नागरिकहरूलाई राज्य र समाजले विभेद गरेको गुनासो गर्दै अध्यक्ष प्रचन्डसमक्ष सबैखाले विभेदको अन्त्य हुने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।

२०४१ सालदेखि भरतपुर महानगरपालिका वडा नं. १४ सुन्दरबस्तीमा बस्दै आएका किरण पौडेलले सुकुम्बासी, भूमिहीन किसानहरूको माग हालसम्म पूरा नभएको गुनासो गरेका थिए । भीमसेननगरका लालपूर्जाबिहीन भीमलाल विकले जग्गा धनी पुर्जासहित गास, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गर्न माग गरेका थिए ।

उनीहरूको जवाफमा प्रचण्डले भने, ‘मै हो, तपाईँहरूलाई २०३६ सालमा जग्गा वितरण गर्ने कार्यक्रममा अगुवाइ गर्ने नेता । तपाईँहरूलाई याद छ कि छैन ? मलाई थाहा छ, तपाईँहरूलाई जग्गा उपलब्ध गराएको मैले नै हो । यो पनि थाहा छ, तपाईँहरूले धनी पुर्जा पाउनुभएको छैन । अब ढुक्क हुनूस् तपाईँहरूले पुर्जा पाउनुहुन्छ ।’ हिजोका दिनमा कसकसले आश्वासनमात्र दिए, त्यो आफूलाई थाहा नभएको बताउँदै प्रचण्डले भने, ‘अब आश्वासनमात्र होइन, पक्का पाउनुहुन्छ । त्यसको लागि मलाई क्षेत्र नम्बर ३ ले देशकै नेतृत्व गर्न सक्ने ठाउँमा पु¥याउनुपर्छ ।’

पूर्वप्रधानमन्त्री दाहालले सुकुमबासीहरूलाई जग्गा, शिक्षा, स्वास्थ्य र रोजगारीको उचित व्यवस्थाका लागि यस पटक वामपन्थीहरूको बहुमतको सरकार आवश्यक पर्ने भन्दै त्यसको लागि सम्पूर्ण बाम गठबन्धनका उम्मेदवारलाई मतदान गरी विजयी गराउन आग्रह गरेका थिए ।

‘म जित्नमात्र आएको होइन’
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जित्नलाई मात्र चितवन नआएको बताएका छन् । उनले चितवनको समग्र विकासको लागि आफ्नो उम्मेदवारी रहेको बताए । ‘चितवनलाई तीव्र विकासको आवश्यकता छ, विकास र सम्वृद्धिमार्फत चितवनलाई देशकै नमुना जिल्ला बनाउन छ, त्यसको लागि म चितवन आएको हो’ प्रचण्डले भने । बाम गठबन्धन क्षेत्र नं. ३ चितवनद्वारा आइतबार मंगलपुरमा आयोजित सभामा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले भने, ‘वामपन्थीहरूको स्थिर सरकारले मात्र देशको मुहार कायापलट गर्छ । ५ वर्षमा चितवनको मुहार अवश्य फेरिन्छ ।’

वामपन्थीहरूको एकता राष्ट्रको एकता भएको बताउँदै अध्यक्ष प्रचन्डले नेपाली काँग्रेसलाई प्रजातान्त्रिक एकता कायम गरी आगाडि बढ्नसमेत सुझाए । दाहालले चितवन निर्वाचन क्षेत्र नं. ३ मा आफ्नो कुनै प्रतिस्प्रर्धी नभएको दाबी गरेका थिए । अध्यक्ष प्रचन्डले विस्तृत शान्ति सम्झौता गर्दा शान्तिमार्फत सम्वृद्ध नेपाल निर्माण गर्ने सपना स्व. गिरिजाप्रसाद कोइरालाले देख्नुभएको प्रसङ्ग स्मरण गर्दै सम्झौताको हस्ताक्षरकर्ता आफू जीवित हुनाका नाताले उहाँको सपना पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए । उनले नेपाली काँग्रेसका नेता कार्यकर्ता हरूलाई गिरिजा बाबुलाई संझिएर आफूलाई मतदान गर्नसमेत आग्रह गरेका थिए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 11 =