आफ्नो नगर आफैँ विकास गर्न मेरो उम्मेदवारी


स्थानीय तहको चुनावको दिन नजिकिँदै जाँदा चुनावी सरगर्मी पनि ह्वात्तै बढेर गएको छ । छोटो समयमा चुनावी प्रचार–प्रसार गर्नुपर्ने चटारोले धरान उपमहानगर पालिकाका उपमेयरमा मेहरमान ह्यूज (गिरी)ले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले समग्र धरानको विकास गर्न तथा विकासको दृष्टिकोणले पछि परेका समुदाय र क्षेत्रको विकासका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । धरान–१२ का स्थायी बासिन्दा मेहरमान यति बेला धरानका सबै क्षेत्रमा स्थानीय जनतासँग अन्र्तक्रिया गर्दै जनमत बटुल्न लागि परेका छन् । उनीसँग गरिएको निर्वाचनको तयारीका विषयमा छोटो कुराकानी ।
धरान उपमहानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिनुको कारण के हो ?
विगतमा हामीले धेरै दल र नेताहरूलाई विश्वास गरेर सहयोग गरे पनि उनीहरू जनताका समस्या र विकासका एजेण्डामा लागि परेनन् । २० वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनले देश विकासको मार्ग प्रशस्त गर्ने भएकोले हामी स्थानीयले पनि अघि बढ्नुपर्छ र आफ्नो नगर आफ्नो क्षेत्र आफैँ विकास गर्नुपर्छ भनेर मैले आम धरानबासीको चाहनालाई बुझेर उम्मेदवारी दिएको हुँ ।
दलगत उम्मेदवार हाबी भइरहँदा तपाईँ एउटा व्यक्ति मात्र उठेर जित्छु भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
राष्ट्रिय राजनीतिमा दलगत उम्मेद्वारको भूमिका महत्त्वपूर्ण भए पनि स्थानीय तहमा पार्टीभन्दा पनि व्यक्तिको भूमिका महत्त्वपूर्ण हुन्छ । दैनिक रूपमा जनताका समस्या समाधान गर्न सक्ने, स्थानीय मुद्दाहरुलाई सम्बोधन गर्न पनि स्थानीय जनताको सहभागिता हुनुपर्छ । स्वतन्त्र व्यक्ति नेतृत्वमा जाने हो भने, दलगत भागवण्डामा अल्झिनु पर्दैन । मेरो जितको कुरा गर्दा म ढुक्क छु ।
धरान उपमहानगरको विकासका लागि यहाँका एजेण्डा केके छन् ?
मैले धरानको विकासका लागि नगरी नहुने केही विषयहरू देखेको छु । हामी धरानलाई पर्यटकीय सहर, धार्मिक सहर, जनजातिको सहर, जातीय, धार्मिक विविधता भएको सहर भन्दछौं । तर, आगामी दिनका धरानको परिचय केले दिने भन्ने विषयमा कुनै उत्तर दिन सकिरहेका छैनौँ । भौगोलिक र वातावरणीय हिसाबले धरान आवासीय सहर भएको छ । कुनै पनि क्षेत्रको विकास गर्नका लागि त्यहाँको अर्थतन्त्र चलायमान हुनुपर्छ । हामी कहाँ धरानलाई चलायमान बनाउने कुनै अर्थतन्त्र र योजना छैन । त्यस कारण अबका दिनमा धरानलाई आर्थिक हिसाबले बलियो बनाउन एउटै उद्देश्य लिएर जानु पर्दछ । यस हिसाबले हेर्दा धरानलाई पर्यटकीय हब शिक्षा, स्वास्थ्यको केन्द्र बनाउन सकिन्छ । यसका लागि धरानमा नभई नहुने विकासका केही योजना चाहिन्छ । हामी कहाँ एयरपोर्टको आवश्यक्ता छ, सुविधा सम्पन्न बसपार्क, अत्याधुनिक डम्पिङ साइट जस्ता कुराको खाँचो छ । यो सँगै धरान उपमहानगरपालिकाका ग्रामीण क्षेत्रमा विकासका आधारभूत पूर्वाधार निर्माण गर्नु छ । र, मुख्य कुरा धरान उपमहानगरपालिकाको आम्दानीको दायरा कमजोर छ । एकीकृत सम्पत्तिकरमा मात्र केन्द्रित भएको आर्थिक संरचनालाई फराकिलो बनाउन आवश्यक देखेको छु । म यिनै विषयमा केन्द्रित रहेर काम गर्नेछु ।
चुनाव अघि सबैले विकासका राम्रा राम्रा भाषण गर्छन् । जितेर गएपछि भने केही गर्दैनन् भन्ने आरोप छ नि ?
हामीले बहुदलिय प्रजातन्त्र पछि देखि आएको र भोगी आएको दृष्टान्त पनि हो । अहिलेसम्म कुनै पनि दलले देश र जनताका लागि राजनीति गर्न सकेनन् । त्यसैले पनि अब हामीले पार्टीलाई हैन व्यक्तिलाई हेर्नुपर्छ । व्यक्ति नेतृत्वमा आएपछि उसले राजनीतिक दलको कुरा सुन्नु पर्दैन । स्वतन्त्रपूर्वक जनताका चाहना र इच्छा पूर्वक काम गर्न पाउँछ ।
केन्द्रीय राजनीतिमा पार्टी हाबी हुँदा स्थानीय स्तरमा एउटा व्यक्तिले कत्तिको काम गर्न सक्ला र ?
देश सङ्घीयतामा गइसकेपछि अब केन्द्र भन्दा स्थानीय तह बलियो हुन्छ । विगतमा केन्द्रीय शासन प्रणाली हुुँदा सबै अधिकार केन्द्रको हातमा हुन्थ्यो र, स्थानीय तहमा जो आएपनि त्यसले केही गर्न सक्ने अवस्था थिएन । अब सङ्घीयता कार्यान्वयन भएपछि स्थानीय सरकार बलियो हुन्छ । जसले स्थानीय स्तरका हरेक निर्णय गर्न सक्छ । स्थानीय तहका प्राकृतिक स्रोत साधन समेत प्रयोग गर्न सक्नेछ । त्यस कारण केन्द्रको राजनीति र स्थानीय नेतृत्व फरक हुँदा कुनै असर गर्दैन ।
| ‘ग्रासरुटबाटै विकास निर्माण गर्न र जनताका समस्या पहिल्याउनका लागि स्थानीय जनप्रतिनिधी र जनता बिचको अन्र्तसम्बन्ध सुमधुर हुन जरुरी छ’ |
स्थानीय सरकार र जनताविचको अन्र्तसम्बन्ध कसरी स्थापित हुनुपर्छ ?
जनतासँग प्रत्यक्ष जोडिने भनेको स्थानीय तह नै हो । टोल, वडा नगर क्षेत्रका जनप्रतिनिधी जो त्यहिँकै स्थानीय बासिन्दा हुन्छन् । उनीहरूले स्थानीय स्तरका विभिन्न समस्या केलाएर लैजान सक्छन् । यस हिसाबले हेर्दा स्थानीय सरकार र जनता बिचको अन्र्तसम्बन्ध नङ र मासु जत्तिकै हुन्छ । स्थानीय प्रतिनिधिले नै गाउँ, टोल र नगरका हरेक घरघरमा गएर त्यहाँका समस्याहरू सुन्न सक्ने हो । कुन ठाउँमा के कस्तो विकास चाहिन्छ, कहाँको सामाजिक धरातल कस्तो छ भन्ने कुरा केन्द्रमा शासन गर्नेलाई थाहा हुन्न । ग्रासरुटबाटै विकास निर्माण गर्न र जनताका समस्या पहिल्याउनका लागि स्थानीय जनप्रतिनिधी र जनता बिचको अन्र्तसम्बन्ध सुमधुर हुन जरुरी छ ।
अन्तमा, उपमेयरमा विजयी भएको अवस्थामा धरानको समग्र विकासमा यहाँको भूमिका कस्तो रहन्छ ?
धरानको समग्र विकासका लागि यहाँ केही दीर्घकालीन योजना आवश्यक छ । अहिलेसम्म धरान हाम्रै पसिना र मेहनतले बनेको हो । सडक, बाटोघाटो, पुल, बत्ती, ढल जस्ता आधारभूत विकासका कुरा हामी आफैँ अग्रसर भएर विकास गरिएको धरानको इतिहास नै छ । अब हामीलाई विमानस्थल, रिङरोड, व्यवस्थित बसपार्क, अब्यवस्थित सुकुम्बासी क्षेत्रको समुचित व्यवस्थापनको आवश्यक छ । भने, उपमहानगरपालिकाको निश्चित आयस्रोत खोज्नुपर्ने छ । र, यसका लागि अल्पकालिन, दीर्घकालीन योजना बनाउन मेरो सकारात्मक भूमिका रहन्छ । म उपमेयरमा निर्वाचित भएको अवस्थामा स्थानीय बुद्धिजीवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि र केद्रिय शासन व्यवस्थासँग सहकार्य हातेमालो गर्दै अगाडी बढ्ने योजना छ ।








