मन्त्री शर्मामाथि बम प्रहार, विप्लव समुहले हानेको आशंका

“कात्तिक २५, काठमाडौं । पश्चिम रुकुममा चुनावी प्रचारमा रहेका प्रतिनिधिसभा उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मामाथि बम प्रहार भएको छ । शर्मालाई लक्षित गरी दुईवटा बम प्रहार गरिएको हो ।
चौरजहारी नगरपालिका–८, को गोइरीमा गाडीमा यात्रा गरिरहँदा बम प्रहार भएको प्रचार टोलीका एक सदस्यले जानकारी दिए । चौरजहारी उपत्यकाको चुनावी सभा, घेरदैलो र भेटघाट सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गर्दा सडकमाथिबाट बम प्रहार भएको हो । अगाडि रहेको एउटा गाडीलाई छोडेर उम्मेदवार शर्मा चढेको गाडीलाई नै लक्षित गरी बम प्रहार भएको थियो । शर्मा चढेको गाडीको अघिल्तिर परेको एउटा बम नपड्किएको र अर्को पड्किए पनि धुले सडकमा परेका कारण असर नगरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख डिएसपी राजेन्द्रप्रसाद धमलाले संलग्नहरुको खोजी भइरहेको बताए । घटनामा नेत्रबिक्रम चन्द ‘विप्लव’को नेपाल कम्युनिष्ट पार्टीको संलग्न रहेको अनुमार गरिएको छ । नेकपाका कार्यकर्ताले केही दिनअघि शर्माकै घरमा कालो ब्यानर राखेका थिए ।
यसैबीच उम्मेदवार शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी भएको बम प्रहारको कार्यप्रति एमाले–माओवादी पार्टी एकता संयोजन समिति रुकुम (पश्चिम)ले विरोध गरेको छ । नेता राजकुमार शर्मा र शेरबहादुर केसीले सयुंक्त रुपमा विज्ञप्ती जारी गरी निर्वाचन विरोधी गतिविधि तथा उम्मेदवारलाई नै लक्षित गरी बम प्रहार गर्ने दोषी उपर कारबाहीको माग गरिएको छ ।”








