धरान–चतरा सडकमा ठेकेदारीको चरम–लापरवाही ।।
“
भरतराज शर्मा(गोपाल), सुनसरी । धरान–चतरा अन्तर्गत रेल्वे देखी सर्दु खोलासम्मको ठेक्का पाएको ठेकेदार कम्पनीले निर्धारित मितिमा सडक सम्पन्न नगर्दा रेल्वे बासीहरुले दैनिक ‘धुलो’ को सामना गरिरहनु परेको छ ।
धरान–चतरा सडक खण्ड अन्तर्गत रेल्वे क्षेत्र जहाँ दैनिक धुलोका कारण रेल्वे बासीहरु बिरामी समेत पर्न थालेका छन् । ठेक्का पाएको साह निर्माण सेवाले निर्माणमा चासो नदेखाउँदा धुलोको सामाना गरिहनु परेको स्थानीय बासी बताउँछन । जसबाट प्रत्यक्ष मारमा परेका रेल्वे बासीहरुले ‘विकल्प’ दिनु पर्ने माग गर्दै सवारी आवागमनमाथि प्रतिबन्ध लगाउने प्रयास समेत गरेका छन् ।
‘कतिदिन धुलो खाएर बस्ने ?’ रेल्वेका शिव राईले भने, ‘सडकमा ढुंगागिटी ल्याएर थुपारिदिएको छ । त्यसले थप समस्या ल्याएको छ ।’ सडक निर्माण नगरिदा ज्वरो, स्वासप्रश्वास, रुखाखोकी लगायतका समस्याबाट गुज्रिरहेका छन् । ‘धुलो उडेर बस्नै सकिँदैन ।’ स्थानीय ताराबहादुर परियार भने, ‘सासै लिन गाह्रो भयो ।’
डिभिजन सडक कार्यालय विराटनगरका डिभिजन इन्जिनियर दीपेन्द्र चौधरीले उक्त ठेक्का इनरुवाको सुनिल साह द्वारा सञ्चालित साह निर्माण सेवालाई दिएको बताए । तर, उनले लागत स्टिमेट र लम्बाई बारे बताएनन् । उनले निर्माण सम्पन्न नभएका कारण फोन गर्ने, चिठी लेख्ने र लिखित ताकेता गर्ने कामहरू भइरहेको बताए । ‘धेरै पटक लिखित ताकेता गरिसकेका छौँ । मान्छे सम्पर्कमा आउँदैन । अब यसलाई कालो सूचीमा राख्ने हाम्रो कुरा भएको छ ।’ उनले फोनमा भने ।
रेल्वे बासी दैनिक धुलोको सिकार बनेपछि बाध्य भएर गत सोमबार रेल्वेचोक भन्दा २ सय मिटर मुन्तिर बासको ढाँट लगाउँदै सवारी आवागमन ठप्प पारेका थिए ।
‘धुलोको कारणले गर्दा नै स्वतः स्फूर्त बन्द गरिएको हो ।’ धरान १७ रेल्बेका वडा अध्यक्ष सूर्यकुमार भट्टराई (मनोज)ले भने । धुलो आतङ्क विरुद्ध वडाबासीहरु अध्यक्ष भट्टराईको नेतृत्वमा डिभिजन सडक कार्यालय विराटनगर पुगेका थिए । तर, डिभिजन सडक इन्जिनियर कार्यालयमा नभेटिएपछि उनीहरूले फोनमार्फत् सम्पर्क गरेर तत्काल निर्माण गर्नको लागि दबाब सिर्जना गरेको अध्यक्ष भट्टराईले बताए ।
“