पत्रकारका नाममा यसरी चोरी

काठमाडौं, माघ २४ । ‘चोरका हजार दाउ’ भन्ने उखानलाई ललितपुरका एक युवाले चरितार्थ गरेका छन् । पत्रकार सहभागी हुने विभिन्न कार्यक्रम पत्ता लगाएर पत्रकार परिचय पत्र देखाइ सहजै भित्र पस्ने र चोरी धन्दा गर्ने अशोक केसी भनिने हरिशरण केसीलाई प्रहरीले पक्राउ गरेको छ ।
माघ २० गते कान्तिपथमा रहेको यल्लो प्यागोडा होटलमा एक कार्यक्रममा पत्रकारको कार्डसहित प्रवेश गरि चोरीमा संलग्न भएको भन्दै प्रहरीले केसीलाई पक्राउ गरेको हो ।

बैंकरहरुको तालिम संचालन भइरहेको बेलामा खाजा खाने समय पारेर केसीले फायर साइड डेलीको प्रेस पास देखाइ प्रशिक्षार्थि सम्झना ढकाल समेत ३ जनाको लेडिज ब्याग तथा उक्त ब्याग भित्र रहेको नगद तथा मोवाईल समेतका धनमाल चोरी गरेका थिए ।
उनलाई चोरी गरेको धनमाल मध्ये मोवाईल तथा चोरी गर्दा प्रयोग भएको ब्याग तथा बिभिन्न कागत पत्र सहित माघ २३ गते ललितपुर लगनखेल बाट पक्राउ गरि आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको छ ।
अनुसन्धानको क्रममा प्रारम्भिक सोधपुछ गर्दा निज असोक भन्ने हरिशरण के।सी। ले बिभिन्न संचार माध्यम एफ एम समेत बाट सम्बन्धित कार्यक्रमको बारेमा जानकारी लिने तथा जानकारी पश्चात कार्यक्रम स्थलमा पुगी कार्यक्रममा उपश्थित मानिसहरुको ब्याग तथा ब्याग भित्र भएको ल्यापटप समेत चोरी गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।








