अन्तर्राष्ट्रिय अपांग दिवस एवं उधौलीका अवसरमा राष्ट्रपतिको शुभकामना

काठमाडौं, मंसिर १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले २६ औँ अन्तर्राष्ट्रिय अपांग दिवस एवं उधौलीका अवसरमा आज बेग्लाबेग्लै शुभकामना सन्देश दिनु भएको छ । अपाङ्गता भएका व्यक्तिलाई दया र मायाको दृष्टिले भन्दा पनि अधिकारमुखी दृष्टिकोणबाट हेर्न राष्ट्रपतिले अपिल गर्नु भएको छ ।

“संयुक्त राष्ट्रसंघीय अपाङ्गतासम्बन्धी महासन्धिमा उल्लेखित अधिकार कार्यान्वयनका लागि नीति तथा कानून निर्माण गरी अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी र पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विशेष पहल हुन जरुरी रहेको उहाँको भनाई छ । राष्ट्रपतिले शिक्षा, स्वास्थ्य तथा रोजगारीमा समान पहुँच, अपाङ्गमैत्री संरचना, अपाङ्गमैत्री कानून, विशेष सामाजिक सुरक्षा, पुनःस्थापना, सामाजिक भेदभावबाट मुक्ति, निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको सहभागिताका विषयलाई आत्मसात् गरी स्रोत, साधनलगायत आवश्यक प्रबन्ध गर्दै क्रमशः कार्यान्वयनमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

त्यसैगरी, नेपालका किरात जातिको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किरात समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, सुख शान्ति, समृद्धि, आपसी सद्भाव, एकता, भाइचारा एवं उत्तरोत्तर प्रगतिका लागि राष्ट्रपति भण्डारीले शुभकामना व्यक्त गर्नुभएको छ । नेपालका विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वले नेपाललाई साझा फूलबारीका रुपमा शृङ्गार्दै आएको राष्ट्रपतिको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *