चितवनमा दुई धुर्वमा देखिएका देवी र बद्री प्रचण्डको अघिपछि
“
कार्तिक २१, भरतपुर । जुवा खेलको पासा उल्टो पल्टँदा कौरवहरुसँग हारेर पाण्डवहरु १२ वर्ष वनबास र एक वर्ष अज्ञातवास जानुपरेको थियो । यति बेला नेपाली राजनीतिको पनि पल्टेको छ, तर उल्टो सुल्टो चुनावपछि नै थाहा हुन्छ । हिजो विभिन्न दलगतरुपमा गालीगलौजमा उत्रेका दलहरू आज एउटै सभामा देखिँदा राजनीतिको पासा ठ्याक्कै पल्टेको भान भएको छ ।
चितवनमा पनि पासा कता पल्टेको हो, चुनावी सभाहरुमा रोमाञ्चकारी गतिविधिहरू देखिएका छन् । चितवनका राजनीतिका दुई हस्ती आज एउटै किल्लामा देखिएका छन् । हिजो स्थानीय तहको चुनावमा प्रतिस्पर्धी बनेका देवी ज्ञवाली र बद्री तिमिल्सेना आज एउटै मञ्चमा अँगोलो मार्दै प्रचण्ड जिताऊ अभियानमा हिँडेका छन् ।
भरतपुर महानगरपालिकाको चुनावमा एमालेबाट देवी र राप्रपाबाट बद्री तिमिल्सेना प्रतिस्पर्धी थिए । जतिबेला एकले अर्कालाई आरोपप्रत्यारोप गर्थे । दुवैले आफूले जिते भरतपुर महानगर कायापलट हुने बताउँथे । तर, आज एउटै मञ्चमा देखिएर चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिताउन मतदातासामु पुगेका छन् । प्रचण्डलाई भोट मागिरहेका छन् ।
एकातिरको ३९ वर्षको लामो राजनीतिलाई त्याग्दै अर्कोतर्फको राजनीतिको लौरो समातेका बद्री तिमिल्सना अहिले प्रचण्डलाई जिताउन उनकै अघिपछि दौडिरहेका छन् । कुनै समय कमल थापाको नजिकको मान्छे भनेर चिनिने बद्री तिमिल्सिना पछिल्लो समय राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेसँग नजिक थिए । तर, उनी अहिले प्रचण्ड जिताऊ अभियानमा सामेल भएर मतदातासँग हँसिया हथौडाको लागि भोट मागिरहेका छन् ।
उनी भन्छन्, ‘चितवनलाई प्रचण्डको खाँचो छ, यहाँको विकास प्रचण्डबाहेक कसैले गर्न सक्दैन । उहाँको पार्टीमा म कुनै बार्गेनिङ गरेर आएको होइन । चितवनको विकासको लागि प्रचण्ड चाहिने हुँदा उहाँलाई जिताउन उहाँको पार्टीमा प्रवेश गरेको हुँ ।’
क्षेत्र नम्बर ३ को साविक गीतानगर गाविसको देवनगरमा भएको चुनावीसभामा बद्री तिमिल्सेनाले चितवनको विकास र देशको नेतृत्व गर्ने क्षमता अध्यक्ष प्रचण्डको विकल्प नभएको बताए । उनले राष्ट्रनायक प्रचण्डलाई रोज्न आग्रह गर्दै प्रचण्ड जिताऊ अभियानमा लाग्न सबैलाई आग्रह गरेका थिए ।
केही दिनअघिसम्म राप्रपा प्रजातान्त्रिकका उम्मेदवारको मनोनयनमा आएका बद्री आज प्रचण्ड जिताऊ अभियानमा लाग्दा राजनीतिको पासा पल्टेको अनुभव भएको छ । पासा कता पल्टियोे त्यसको फैसला चुनावपछि आउने नतिजाले देखाउनेछ । तर, बद्री तिमिल्सेनाले यो राजनीति पासा प्रचण्डलाई जिताउनलाई पल्टेको र चितवनको विकास गर्न पल्टेको बताउँछन् ।
चितवनका अर्का एमालेका नेता देवी ज्ञवाली पनि यति बेला प्रचण्ड जिताऊ अभियानमा लागेका छन् । क्षेत्र नम्बर ३ को चुनावी सभामा जहाँ प्रचण्ड, यहाँ देवी भएका छन् । स्थानीय तहको चुनावमा प्रचण्डपुत्री रेणु दाहाल र देवी ज्ञवालीको कडा प्रतिस्पर्धा भएको थियो । ज्ञवालीले त्यति बेला आफूले शेरबहादुर देउवा र प्रचण्डसँग चुनाव लडेको बताएका थिए ।
त्यतिबेलाको तीतामीठा गालीगलौज आरोप–प्रत्यारोप यति बेला सबै भुल्न चाहन्छन् ज्ञवाली । उनी नेपालमा छरिएर रहेका कम्युनिस्ट पार्टीलाई एकताबद्ध गराउन र देशमा एउटा बलियो सरकार बनाउन प्रचण्ड जिताऊ अभियानमा लागेको बताउँछन् । उनी पनि ब्रद्री तिमिल्सेना जसरी प्रचण्डको अघिपछि दौडिरहेका छन् । दुई खेमामा रहेका चितवनका राजनीतिज्ञद्वय बद्री तिमिल्सेना र देवी ज्ञवाली आज प्रचण्ड जिताऊ अभियानमा हिँडिरहँदा राजनीतिमा पासा पल्टेकै हो, तर पासा कता पल्टँदैछ भन्ने चुनावको परिणामले दिनेछ । क्षेत्र नम्बर ३ का मतदाताले फैसला गर्नेछन् ।
“